• २० असोज २०८१, आइतबार

दसैँमा चलचित्र जुधाइँदै

blog

काठमाडौँ, असोज २० गते । चाडपर्वको मौका छोपेर आफ्नो चलचित्र चलाउन कसलाई रहर नहोला ?  त्यसमाथि दसैँतिहारको समय । निर्देशक/निर्माताबिच हरेक वर्ष आफ्नो चलचित्र चलाउने होडबाजी नै चल्छ । एक समय त्यस्तो थियो जुनबेला दसैँलक्षित गरेर नायिका रेखा थापा आफ्नो चलचित्र चलाउन तत्पर हुन्थिन् । चाडपर्वमा उनकै चलचित्र बढी चल्थे । २०७१ सालको दसैँमा  फूलपातीकै दिन रेखाले निर्माण गरेको चलचित्र ‘हिम्मतवाली’ प्रदर्शन भएको थियो । त्यसपछि उनका प्रायः चलचित्र दसैँमै प्रदर्शन हुन थाले । उनी मात्र होइन निर्माता छविराज ओझाले पनि दसैँलक्षित गरेरै चलचित्र प्रदर्शन गर्ने गर्थे । यसले हलमा उनीहरूको मात्र एकछत्र राज हुन्थ्यो । अन्य चलचित्रले दसैँमा प्रदर्शनका लागि हल नै पाउँदैन थिए । 

निर्माता छविराज ओझाका अनुसार दसैँ भनेको मेला जस्तै हो । अरू ठाउँमा मेला लाग्ने जस्तै यो पनि चलचित्रको मेला हो । यी चलचित्रहरू हर्षोल्लास मात्र प्रदर्शन भएका हुन् । सबै दर्शकले चलचित्र हेर्न पाऊन् भन्ने हिसाबमा नै आएको हो । अरू बेलाभन्दा दसैँमा दर्शक बढी चलचित्र हेर्छन् । दर्शकसँग टीकाको भोलिपल्टदेखि पैसा पनि बढी हुन्छ । 

उहाँले भन्नुभयो, “५२ हप्तामा ८० वटा चलचित्र कताबाट चलाउनु । चलचित्र त जुध्नै पर्छ । यसमा एकअर्कासँग भिड्नेभन्दा पनि आआफ्नो चलचित्रको कलेक्सन कसरी बढाउने भन्ने सोच्नु जरुरी छ ।” 

नेपालमा चलचित्र क्षेत्र सानो छ, त्यसमाथि हप्तामा एउटा चलचित्र चलाउन हम्मे हम्मे पर्ने चलचित्र नगरीमा एकभन्दा बढी चलचित्र प्रदर्शन भएपछि के हालत हुन्छ, त्यो हेर्न बाँकी छ । यस पटक पनि पुरानै क्रम दोहोरिएको छ । असोज २४ अर्थात् फूलपातीकै दिन पारेर एकैसाथ तीन वटा चलचित्र प्रदर्शनको तयारीमा छ । दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ५’, दीपक–दीपा क्याम्पबाट छुट्टिएका कलाकार जितु नेपाल अभिनीत चलचित्र ‘ज्वाइँसाहेब’ र नेपाली चलचित्रमा खासै नाम र दाम कमाउन नसकेर भोजपुरी चलचित्रमा आफ्नो साख जोगाउन सफल कलाकार विराज भट्टको ‘१२ गाउँ’ । 

कलाकार दीपकराज गिरी आफ्नो चलचित्रसँग अन्य दुई चलचित्र जुध्न आउँदा खासै सशङ्कित नभएको बताउनुहुन्छ । अरूभन्दा आफूहरू स्थिर भएर बस्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “भगवान्ले जे गर्छन् त्यो राम्रै गर्छन् । मलाई मेरो चलचित्रबाहेक अरू कसैको चलचित्रका बारेमा प्रतिक्रिया नै दिनु छैन ।”

उहाँले दर्शकलाई पैसा र समय छ भने टिकट काटेर तीन वटै चलचित्र हर्ने आग्रहसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “यो कुनै फुटबल खेल होइन एउटाले जित्ने अर्कोले हार्ने, त्यसैले अरू साथीलाई टिप्पणी गर्नुभन्दा उहाँहरूलाई शुभकामना भन्न चाहन्छु ।” 

कलाकार जितु नेपालको भनाइ भने केही भिन्न छ । उहाँ भन्नुहुन्छ, “चाडबाडमा दुई वटा चलचित्र त मज्जाले नै चल्छ, अर्को एउटा थपिएको मात्र हो ।” दीपकराज गिरीसँग चलचित्रलाई लिएर खासै मनमुटाव नभएको पनि उहाँले प्रस्ट पार्नुभयो । उहाँका अनुसार उहाँहरूसँग म छुट्टिएँ त्यसैले पनि यस्तो हल्ला चलाएको हुन सक्छ । म स्वतन्त्र रूपमा कलाकारिता गर्न पाइरहेको छु । दसैँमा चलचित्र हेर्ने माहोल बन्ने भएकाले यी सबै कुरा भएको उहाँको भनाइ छ ।