• २० असोज २०८१, आइतबार

पाँच दिनमा ८९ हजारले लिए हवाई सेवा

blog

काठमाडौँ, असोज २० गते ।  बाढीपहिरोका कारण सडकमार्ग असहज भएपछि हवाई सेवाको प्रयोग गर्ने यात्रुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । दसैँको मुखैअगाडि आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि हवाई सेवाको प्रयोग गर्ने यात्रुको चाप ह्वात्तै बढेको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सडक अवरुद्ध भएपछि पछिल्लो पाँच दिनमा आन्तरिकतर्फ १८ सय ९५ उडानअवतरण भएका छन् । उक्त उडानमार्फत ८९ हजार ६२ जनाले दोहोरो हवाई सेवा लिएका छन् ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले भन्नुभयो, “दसैँको यात्रा सुरु हुनुअघि नै गत हप्ताको बाढी पहिरोले सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रुको सङ्ख्या अधिक रूपमा बढेको छ । अहिले काठमाडौँबाट जहाजहरू भरिभराउ भएर बाहिरिरहेका छन् । हवाईमार्गबाट यात्रा गर्ने यात्रुको विमानस्थलमा चाप बढेपछि रात्रिकालीन उडान हुने विमानस्थलको सञ्चालन समय बढाएर सेवा दिइरहेका छौँ ।” अहिले काठमाडौँ भित्रिनेभन्दा दसैँ मान्न गाउँ फर्किने यात्रुको काठमाडौँ विमानस्थलको आन्तरिक टर्मिनलमा थेगिनसक्नुको भिड हुने गरेको उहाँले बताउनुभयो । प्रवक्ता शेर्पाका अनुसार आन्तरिकतर्फको उडान चाप बढेसँगै गत सोमबार ४५०, मङ्गलबार ४३४, बुधबार ३७५, बिहीबार ३२७ र शुक्रबार ३०९ उडानअवतरण भएका छन् ।

उक्त उडानबाट सोमबार १९ हजार १५९, मङ्गलबार १८ हजार १३७, बुधबार १७ हजार चार, बिहीबार १६ हजार ७५३ र शुक्रबार १८ हजार तीन जनाले हवाई सेवा लिएका छन् । उक्त सङ्ख्यामध्ये अधिकांश यात्रु राजधानीबाट बाहिरिने रहेका छन् । अहिले उपत्यका बाहिरबाट फर्किने जहाज प्रायः रित्तै छन् ।

आन्तरिकतर्फको उडान चाप बढेपछि त्यसको असरले अन्तर्राष्ट्रिय उडानतर्फका विमान पनि लामो समयसम्म ‘होल्ड’ मा बस्नुपर्ने बाध्यता रहेको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रुको सङ्ख्या थेग्नै नसक्ने गरी बढेपछि रात्रिकालीन उडान हुँदै आएका देशभरका नौ वटा विमानस्थलमा दसैँको पूर्णिमासम्म उडान सञ्चालन समय बढाइएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै सञ्चालनमा रहेका आठ वटा विमानस्थल अहिले बिहान ४:३० देखि राति १२ बजेसम्म खुला रहेका छन् । चाडपर्वको अवसरमा देश विदेशबाट फर्किने हवाई यात्रुको चापलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डेढ घण्टा मात्रै बन्द हुँदै आएको छ ।”    

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।