• २० असोज २०८१, आइतबार

चहलपहल छैन बसपार्कमा

blog

फाइल तस्बिर ।

काठमाडौँ, असोज २० गते । दसैँको टीकाको दिन आउन एक हप्ता बाँकी हुँदा पनि काठमाडौँबाट गृह जिल्ला फर्किने यात्रुको चहलपहल सार्वजनिक सवारीमा बढेको छैन । अग्रिम टिकट बुकिङमा विगतको तुलनामा ६० प्रतिशतले कम भएको छ ।

तीन दिनदेखि मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेश जाने बसका अग्रिम टिकट काट्न एक जना यात्रु पनि गएका छैनन् । नयाँबसपार्क प्रहरी बिटका अनुसार शनिबार जम्मा एक हजार चार सय वटा अग्रिम टिकट काटिएको छ । जसमा कोशी प्रदेशमा चार सय, लुम्बिनीमा सात सय र गण्डकी प्रदेशमा ३५० टिकट बिक्री गरिएको छ । मधेश, कर्णाली र सुदूरपश्चिम जानका लागि अग्रिम टिकट बिक्री गरिएको छैन । त्यस्तै शुक्रबार पनि मधेश, सुदूरपश्चिम र कर्णालीका लागि अग्रिम टिकट बिक्री गरिएको छैन । कोशी प्रदेशका लागि तीन सय र लुम्बिनीका लागि ४५० टिकट बिक्री गरिएको थियो । बिटका वरिष्ठ प्रहरी हवल्दार लक्ष्मण विकले शुक्रबार गोंगबु नयाँबसपार्कबाट ४७६ वटा दिवा तथा रात्रि बसहरू बाहिरिएको जानकारी दिनुभयो । नयाँबसपार्कबाट हालसम्म जम्मा ४६ हजार १८० वटा अग्रिम टिकट काटिएको छ । 

लामो रुटमा अग्रिम टिकट काट्न सडक र मौसमका कारणले यात्रु नआएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष विजय स्वाँरले भन्नुभयो, “कुनै पनि गन्तव्यमा तोकिएको समयमा पुग्ने अवस्था छैन । छ घण्टा लाग्ने दुरीमा १५÷१६ घण्टा लागिरहेको छ । बाटो सारै खराब छ । दसैँ भए पनि अहिले यात्रुमा उत्साह छैन ।” सार्वजनिक सवारीसाधन पनि कम चलेका छन् । सामान्य दिनको तुलनामा भन्दा करिब ६० प्रतिशत मात्रै सवारी सञ्चालन भएका छन् । सडक भत्किएकाले जोखिमपूर्ण यात्रा, घण्टौँको जाम र थप वर्षा हुन सक्ने सम्भावना भएकाले पनि सवारी सञ्चालन कम भएको हो । 

प्रहरी प्रभाग नागढुङ्गाका अनुसार गत २४ घण्टामा २८ हजार ४६२ यात्रु बाहिरिएका छन् । दुई हजार ७९९ सवारी बाहिरिएका छन् । ६३५ वटा बस, ५१४ वटा ट्रक, ८६३ वटा साना सवारी र ७७३ वटा मोटरसाइकल बाहिरिएको प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी हवल्दार कृष्ण भुसालले जानकारी दिनुभयो । एक हजार ५९५ सवारीमा १६ हजार ४३९ यात्रु नागढुङ्गाबाट उपत्यका भित्रिएका छन् । 

यातायात व्यवस्था विभाग र महासङ्घले अग्रिम टिकट काटिसकेकालाई प्राथमिकता दिने र बाँकी टिकटका लागि परिस्थिति अनुसार अगाडि बढ्ने निर्णय गरेको थियो ।