• १८ असोज २०८१, शुक्रबार

मेची राजमार्गको फिदिम इलाम खण्डको वैकल्पिक बाटो खुल्यो

blog

फिदिम २ को रमितेमा गएको पहिराले बाटो अवरुद्ध भएपछि विकल्पमा रमितेडाँडादेखि मजिटे हुँदै भण्डारी गोलाई जोड्ने बाटो सफा गर्दै स्काभेटर ।

राधा लुइँटेल

फिदिम, असोज, १८ गते । असोज १२ गतेदेखि अवरुद्ध भएको मेची राजमार्गको फिदिम–इलाम खण्ड शुक्रबारबाट खुलाइएको छ । फिदिम नगरपालिकाले रमिते गोलाईदेखि मजिटे हुँदै भण्डारी गोलाई सम्मको पुरानो बाटोको स्तरउन्नती र सरसफाई गर्न ६ दिन लागेको छ । 

फिदिम २ रमिते भ्यू टावर माथिदेखि खसेको पहिरोका कारण मेची राजमार्ग असोज १२ देखि अवरुद्व थियो । अवरोध पन्छाउन सडक डिभिजन इलामले निरन्तर प्रयास गरिरहेपनि छिनछिनमै पहिरो लड्दा बाटो खुल्न सकेको छैन । यसैबिच फिदिम नगरपालिकाले निरन्तर १८ घण्टा स्काभेटर लगाएर वैकल्पिक सडक तयार गरेको हो ।

करिब साढे दुई किलोमिटर सडकको स्तरवृद्धि गर्दै बाटो खुलाइएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले बताउनुभयो । वैकल्पिक मार्ग खोलिएसँगै ६ दिनदेखि फिदिम २को सामदिन, रमिते र भण्डारी गोलाइ क्षेत्रमा रोकिएका सवारी गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।