• १९ असोज २०८१, शनिबार

मसलादार ‘बेहुली फ्रम मेघौली’

blog

काठमाडौँ, असोज १८ गते । अहिले सामाजिक कथामा चलचित्र बन्नु कुनै नौलो कुरा होइन । चलचित्र सानोसंसार, खुस्मा र आँखाले सामाजिक कथा पकडेको थियो । त्यही लयलाई समातेको छ कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनीत चलचित्र ‘बेहुली फ्रम मेघौली’ ले । चलचित्रको कथा साधारण छ । दर्शक कलाकार निश्चल र स्वस्तिमाबाट जति आशा गरेर चलचित्र हेर्न हलमा जान्छन्, उनीहरूले आशा गरे जस्तो पाउने छैनन ।

मीना न्यौपाने (स्वस्तिमा खड्का) उमेर ३० लाई परिवार र समाजले विवाहका लागि चर्को दबाब दिइरहेको हुन्छ । मीना दबाब सहेरै भए पनि विगत सात वर्षदेखि आफ्नो प्रेमिका नीरज (निश्चल बस्नेत) लाई माइतीमा कुरेर बसिरहेकी हुन्छिन् तर जब प्रेमी नीरज नेपाल फर्किन्छन् उनी सिधै मीनाको घर पुग्छन् । उनलाई देख्नेबित्तिकै मीना र उनको परिवारमा यति खुसी छाउँछ कि त्यो जति व्याख्या गरे पनि कम हुन्छ । यो खुसी उनीहरूबिच धेरै समय टिक्न सक्दैन । त्यो खुसी तब बिग्रन्छ जब नीरजले मीना र उनका परिवारलाई विवाह गर्न नसक्ने कुरा सुनाउँछन् ।     

यसपछि सुरु हुन्छ मीनाको कथा । मीनाले आफ्नो प्रेमी फकाउन अनेकन जुक्ति अपनाउँछिन् । मन विक्षिप्त भएकी मीनाको परिवार भने जसरी भए पनि छोरीको विवाह अन्तै गरिदिने होडबाजीमा हुन्छ । चलचित्रको कथा मीनाको वरपर नै घुमेको छ । के नीरजलाई मीनाले फकाएर विवाह गर्न राजी गर्छिन् । नीरजले किन मीनालाई सात वर्षपछि फर्केर विवाह नगर्ने कुरा किन भने त ? यिनै कुराले चलचित्रको कथामा अनेकन ट्विस्ट ल्याउने काम गर्छ । नीरजले इसिता (रक्षा थापा) सँग किन विवाह गर्न खोज्छन् । कथाको मुख्य कुरा यसभित्र पनि लुकेको छ भने मीनाले गजेन्द्र (आमिर गौतम) र सिदार्थ (शिशिर शिवाकोटी) सँग किन विवाह गर्न मान्दिनन् भन्ने कुरामा पनि चलचित्र रुमलिएको छ । 

चलचित्र कथामा खासै नयाँ कुरा छैन । उही पुरानै ढर्रामा चलचित्र बगेको छ । निश्चल बस्नेत र स्वस्तिमा खड्काबाट दर्शकले ठुलै आशा राख्ने गरेका छन् तर यस पटक दुवैले दर्शकलाई हलबाट निराश बनाएर फर्काउँदैनन् भन्न सकिँदैन । साजन काफ्ले र आकाश बरालको निर्देशन तथा लेखन खासै तारिफयोग्य छैन । दुवैले सामाजिक र पारिवारिक विषयको कथा राम्रो उठाउन खोजेका हुन् तर चलचित्रमा कथा कम मसला धेरै भरिएको छ । चलचित्रले उठाउन खोजेको विषय राम्रो हो तर प्रस्तुति धेरै कमजोर छ । 

पूरा चलचित्रभित्र नायिका स्वस्तिमा खड्का मात्र जमेकी छिन् । उनलाई मीनाको भूमिका जमेको छ । उनको अभिनयले अवश्य नै दर्शकलाई हलसम्म तान्न मद्दत पु¥याउँछ । निश्चल बस्नेतको अभिनयमा कुनै नयाँ कुरा छैन । उनी पुरानो ढर्राको अभिनयबाट अझ पनि बाहिर आउन सकेका छैनन् । स्वस्तिमाको बहिनीको भूमिकामा देखिएकी सिमरन खड्काको अभिनय राम्रो छ । रक्षा थापाको भूमिकाले नै चलचित्रमा अनेकन कुरा खुलाउँछ त्यसैले पनि चलचित्रमा उनलाई पनि प्रमुख पात्रकै भूमिकामा देखाएको भए अझ राम्रो हुन्थ्यो कि । लोकेन्द्र लेखक, विजय बराल, आमिर गौतम, शिशिर शिवाकोटी, सरोज अर्याल, वसुन्धरा भुसाल, टीका पहारी, लुनिभा तुलाधर, सिरु विष्टको अभिनय स्वाभाविक भए पनि दर्शकले सधैँ सम्झिरहने खालको छ ।