• ३ माघ २०८१, बिहिबार

दशैंका लागि जनकपुरधामको राजदेवी मन्दिर सिङ्गारिँदै

blog

जनकपुरधाममा अवस्थ्ति राजदेवी मन्दिरलाई दशैंका लागि सिंगारिँदै । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, असोज १६ गते । हिन्दुहरूको महान पर्व दशैंको आगमनसँगै जनकपुरधाममा अवस्थित प्रसिद्ध राजदेवी मन्दिरलाई विशेष रूपमा सिँगार्न थालिएको छ । हरेक वर्ष दशैंको समयमा देवी दुर्गाको विशेष पूजा र आराधना गरिने यस मन्दिरमा यस पटक पनि भव्य तयारीका साथ सिँगार्न थालिएको हो । 

मन्दिर व्यवस्थापन समितिले विगतका वर्षभन्दा उत्तम तयारी गरेर पर्यटकहरुको आर्षणको केन्द्र बनाउनमा जोड दिँदै मन्दिरलाई झकिझकाउ पार्न विशेष साजसज्जाको व्यवस्था गरेको छ, जसमा विद्युत् बत्तीहरू, फूलमालाले मन्दिरलाई सजाउने काम भइरहेको छ ।

विगतका वर्षभन्दा यस वर्ष मन्दिर व्यवस्थापन समितिले मन्दिरलाई आकर्षक रूपमा सिंगार्न विशेष योजना बनाएको छ । मन्दिरको मुख्य प्रवेशद्वारदेखि गर्भगृहसम्मका क्षेत्रहरूमा विशेष सजावटको काम भइरहेको छ । रङ्गीन बत्तीहरू, विद्युत बल्ब, झिलिमिली प्रकाशहरू र फूलमालाहरूले मन्दिरको शोभा बढाउने खालका सजाउवट हुँदैछ भने मन्दिरभित्र फूलमालाका विशेष तोरणहरू बनाइएका छन् । स्थानीय फूलका साथै विभिन्न स्थानबाट ल्याइएका आकर्षक प्लाष्टिकका फूलहरूले मन्दिरको सोभा बढाउने छ । मूल मूर्तिलाई विशेष रूपमा सजाइनेछ, जसले देवीको सौन्दर्य र श्रद्धालुहरूको भक्ति झल्काउँछ ।

राजदेवी मन्दिर जनकपुरधामको एक प्रमुख धार्मिकस्थल हो, जसले यस क्षेत्रमा मात्र नभई देशभरका श्रद्धालुहरूलाई आकर्षित गर्छ । दशैंको समयमा विशेष गरी महाअष्टमी र महानवमीका दिन यहाँ ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति रहने गर्दछ । 

मन्दिर मिथिला क्षेत्रमा उच्च धार्मिक महत्व राख्ने स्थलको रूपमा परिचित छ । विशेष गरी दशैंमा यहाँ देवी दुर्गाको शक्ति र साहसको प्रतीकका रूपमा विशेष पूजा अर्चना हुन्छ । मन्दिरमा आउने भक्तजनले देवीको पूजा गर्दै आफ्नो मनोकामना पूरा हुने विश्वास राख्छन् । दशैंको समयमा यहाँ आउने हजारौँ श्रद्धालुले आफ्नो परिवार र समाजको कल्याणको कामना गर्दै विशेष पूजा गर्छन् ।

यस्तै दशैंको बेला श्रद्धालुहरूको भीड नियन्त्रण गर्न र सुरक्षा व्यवस्थालाई मजबुत बनाउन पनि विशेष तयारी गरिएको छ । स्थानीय प्रशासन र मन्दिर व्यवस्थापन समितिबीच भएको सहमति अनुसार, मन्दिर क्षेत्रमा प्रहरीको विशेष टोली परिचालन हुनेछ । सीसीटीभी क्यामेरा जडान गरेर सुरक्षा निगरानीलाई अझ सुदृढ बनाउने तयारी भइरहेको राजदेवी मन्दिर व्यवस्थापन समति तथा महावीर युवा कमिटीका अध्यक्ष अजयकुमार गुप्ताले बताउनुभयो। 

उहाँले भक्तजनहरूको सुविधाका लागि मुलपूजा, कालरात्री पूजा, सुरक्षा, महाप्रसाद, खोइँच भराईसिंगार, लाइन व्यवस्थापन, रावण दहन, खाना, विजय जुलुस, रमाइलो मेला, मन्दिर परिसरमा स्वच्छता र सरसफाइ गरी १३ संयोजक समतिको व्यवस्था तथा ५० जना स्वयंसेवक परिचालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विगतका वर्षभन्दा भव्य र सभ्य बनाउने तयारी जुटेका छौं, यसको लागि बुधबार (भोलि) पूजा समितिको बैठक पनि बस्ने छ र त्यसै बैठकबाट बोका बलिको रसिद रकम बढाउने वा यथावत् राख्ने निर्णय गरिनेछ ।”

दशैंको समयमा जनकपुरधामका स्थानीय बासिन्दा मात्र नभई विभिन्न स्थानबाट आएका तीर्थयात्रीहरूले पनि राजदेवी मन्दिरमा विशेष पूजा आराधना गर्ने गरेका छन् भने दशैंमा यहाँ बली प्रदान गर्ने परम्पराले धार्मिक महत्व बोकेको छ । 

दशैंको अवसरमा राजदेवी मन्दिरको साजसज्जा र भक्तजनको भिडले जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक केन्द्रको रूपमा पुनःस्थापित गर्नेछ । यस पटकको विशेष तयारीले मन्दिरको सौन्दर्यमा थप निखार ल्याउने अपेक्षा गरिएको छ, जसले भक्तजनको मनमा थप श्रद्धा र आस्था जागृत गर्नेछ।