राजु लामिछाने
रुकुमपश्चिम, असोज १६ गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिकामा रहेका ९० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मङ्गलबार नगरस्तरीय ज्येष्ठ नागरिक मञ्च मुसीकोटले यहाँका १३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
राष्ट्रिय सभाका सदस्य कृष्णबहादुर रोकाय, मुसीकोट नगरपालिका प्रमुख महेन्द्र केसीलगायतले ज्येष्ठ नागरिकहरुलाई खादा, अबिर र नगद रकमसहित सम्मान गर्नुका साथै थर्मस उपहार प्रदान गर्नुभएको हो । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुहुुँदै राष्ट्रिय सभाका सदस्य कृष्णबहादुर रोकायले ज्येष्ठ नागरिकहरु अनुभवका खानी र परिवर्तनका हिस्सेदार भएको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको विगतको योगदानको स्मरण गर्दै सदा सम्मान गर्नुपर्ने बताउनुभयो । ज्येष्ठ नागरिकको अधिकारलाई सबैले साझा मुद्दा बनाइनुपर्ने उल्लेख गर्नुहुँदै रोकायले आवश्यक कानुन निर्माणका लागि पहल गर्न प्रतिबद्ध भएको जनाउनुभयो ।
कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले ज्येष्ठ नागरिकको सामाजिक योगदान अतुलनिय रहेको बताउनुभयो । उहाँले अनुभवले खारिएका ज्येष्ठ नागरिकको सम्मान गर्दै उहाँहरुको अनुभवबाट आगामी योजना बगाउन सक्नुपर्ने जनाउनुभयो । ज्येष्ठ नागरिककै मार्गदर्शन र योगदानले विभिन्न खालका परिवर्तन भएको सधैँ स्मरण गर्न आवश्यक रहेको उहाँको भनाइ रहेको छ ।
सम्मान कार्यक्रममा मुसीकोट नगरपालिका ७ की ९० वर्षीया बासमती पुनले आफूलाई खुशी लागेको बताउनुभयो । सबै बुढापाखाहरुलाई घरदेखि समाजमा हेला नगर्न, ज्येष्ठ नागरिकको अवस्था बुझिदिन, सहयोग र सम्मान गर्न उहाँले अनुरोध गर्नुभयो ।
कार्यक्रममा ज्येष्ठ नागरिक मञ्च मुसीकोटका अध्यक्ष लक्ष्मण शर्माले रगत र पसिना बगाएर समाजको लागि महत्त्वपूर्ण योगदान दिएका जेष्ठ नागरिक कहीँ कतै अपमानित हुुनुपरेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकहरुले आफ्नो सम्मान र अभिभावकिय भूमिकाको अपेक्षा गरिराखेको उल्लेख गर्नुभयो । शर्माले विगतका अनुभव र सिकाइ वर्तमानमा साटासाट गरेर थप सामाजिक योगदान दिने वातावरण निर्माण हुनुपर्ने माग राख्नुभयो ।