• १५ असोज २०८१, मङ्गलबार

जनताका पीडालाई राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान

blog

प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, असोज १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो र डुबानका कारण जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैमा आह्वान गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यो बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आह्वान गर्नुभएको हो ।

“यो सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौँ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “कतिपय संरचनागत त्रुटिका कारण पनि क्षतिहरू भएका छन् । आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरुपमा सबल संरचना बनाइनेछ ।”

प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारी भन्दा ठुलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमीकमजोरी भएको हुनसक्ने तर आगामी दिनमा त्यस्ता कुराहरूलाई सच्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्ने बताउनुभयो ।

धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिका सम्बन्धमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले अघिल्लो सरकारका पालामा नियुक्तिको प्रक्रिया सुरु भएको र त्यसमा उठेको अनियमितताका सवाल रोक्न आफूले आग्रह गरेको र आफूलाई कुनै पनि नियुक्तिवापत् कुनै लाभ लिनु आवश्यक नभएको स्पष्ट गर्नुभयो ।

 प्रभावितलाई राहत वितरण सुरु 

राससका अनुसार, प्रधानमन्त्री ओलीले अविरल वर्षापछि गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई राहत वितरण गर्ने कार्य प्रारम्भ भइसकेको स्पष्ट पार्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलमा उहाँले विपद्मा परेका नागरिकको खोज एवं उद्धार  कार्य दुई दिनभित्र गरिसकिने बताउनुभयो ।

घाइतेहरूको निःशुल्क उपचार र विपद्पछि आउन सक्ने जनस्वास्थ्यका समस्या रोगथाम र नियन्त्रणका  लागि आवश्यक प्रबन्ध गरिएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । उहाँले क्षतिग्रस्त खानेपानी, सडक, टेलिफोन, विद्युत्लगायत आधारभूत सेवा सञ्चालनका लागि सरकार सक्रिय रहेको बताउनुभयो ।

सो अवसरमा विपद्का कारण २२४ को मृत्यु भएको, २४ बेपत्ता रहेको र १५८ घाइते रहेको तथा उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको जानकारी दिइयो ।

यो पनि पढ्नुहोस

प्रधानमन्त्री केपी ओलीको सम्बोधन

बाढीपहिरो र डुबानले २१ जिल्ला प्रभावित : २२४ जनाको मृत्यु

सरकारले गर्‍यो चार हजार ३३१ जनाको उद्धार : २४ बेपत्ता

विपाद्बाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन् ।