• २७ असोज २०८१, आइतबार

भाग्य निर्माण गर्दै मध्यपहाडी लोकमार्ग

blog

मध्यपहाडी लोकमार्ग अन्तर्गत दैलेख–मन्घर सडकखण्डको बेस्तडा क्षेत्र ।

कमल शर्मा

दैलेख, असोज १५ गते । दैलेखको भगवतीमाई गाउँपालिका–४ का नवीन बिसीले पाँच वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । त्यसअघि आफ्नो भान्साका लागि मात्र तरकारी खेती गर्ने उहाँ घरनजिकै मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएपछि व्यावसायिक कृषिमा लाग्नुभएको हो । लोकमार्ग सञ्चालनमा आएपछि उहाँले उत्पादन गरेको आलु, गोलभेँडा, काउली, बन्दा, सिमीलगायत तरकारीले सहजै बजार पाएको छ । 

बजार खोज्न अन्यत्रै जान नपर्ने भएपछि दुई रोपनीबाट सुरु गरेको तरकारी खेती अहिले ३० रोपनीमा विस्तार भएको छ । मूल्य कम पाए पनि घरमा तरकारी सडेको छैन । लोकमार्ग निर्माण भएसँगै जाजरकोट जिल्लाका सुयाडा, दसेरा, थलह बजार र दैलेखको बेस्तडा बजारदेखि दैलेख बजारसम्म उहाँले उत्पादन गरेको तरकारी पुग्छ । घरआँगनमै तरकारी सङ्कलनका लागि शीतभण्डार बनेका कारण पनि सहज भएको छ । 

नारायण नगरपालिका–२ का सर्वराज भण्डारी लामो समय सरकारी सेवा गरी १० वर्षदेखि निरन्तर तरकारी खेती गर्नुभएको छ । उहाँलाई विगत चार वर्षदेखि डोकोमा तरकारी बोक्नु परेको छैन । घरआँगनबाट पक्की सडक (मध्यपहाडी लोकमार्ग) सञ्चालनमा आएपछि अहिले घरबाटै विभिन्न स्थानसम्म सहजै पुग्छ । मध्यपहाडी लोकमार्गको बाटो भएर दैलेख बजार आउनेजानेले नै अर्गानिक तरकारी भन्दै लिन थालेपछि उहाँलाई तरकारी बिक्रीको चिन्ता छैन । 

उहाँ मात्र होइन, दैलेख जिल्लाको पूर्वको जगन्नाथदेखि पश्चिमको राकमकर्णालीसम्म जोड्ने मध्यपहाडी लोकमार्गमा गाडी गुड्न थालेपछि भण्डारीको मात्र होइन, अन्य गाउँलेको स्थानीय उत्पादनले सजिलै बजार पाएको छ । जगन्नाथ र मेहेलतोली मात्र नभएर मध्यपहाडी लोकमार्गमा गाडी चल्न थालेपछि लोकमार्गले जोडेका विभिन्न बस्तीका स्थानीयको उत्पादन बजारसम्म गएको छ । त्यसका साथै बजारबाट ल्याउनुपर्ने दैनिक उपभोग्य वस्तुदेखि अन्य सरसमान सहजै केही घण्टामै किनेर घरमा पुग्छ । मध्यपहाडी लोकमार्ग दैलेखको पूर्वमा जगन्नाथदेखि पश्चिममा राकमकर्णालीसम्म पहुँच पुगेपछि सर्वसाधारणको दैनिकीमा व्यापक परिवर्तन आएको छ । किसानको भनाइमा लोकमार्ग भाग्य निर्माण गर्न महत्वपूर्ण भएको छ । 

जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख राजु भुजेलले पुष्पलाल मध्यपहाडी राजमार्ग जोडिएका पालिकामा कृषिसम्बन्धी धेरै कार्यक्रम सञ्चालन भएको जानकारी दिनुभयो । उहाँले कृषक नै उत्साही भएर कृषि कर्म गरिरहेको भन्दै उत्पादन भएका वस्तुको बजारीकरण सजिलै भएका कारण त्यसमा कार्यालयले उनीहरूको आवश्यकता पहिचान गरी विभिन्न सहयोग गरेको बताउनुभयो । राष्ट्रिय गौरवको आयोजनाको मध्यपहाडी राजमार्गले दैलेख जिल्लाका ११ स्थानीय तहमध्ये सात स्थानीय तहलाई जोडेको छ भने यसको लम्बाइ १२५ किलोमिटर छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग सडक आयोजना कार्यालय दैलेखका आयोजना प्रमुख इन्जिनियर अञ्जु परियारले दैलेख जिल्लाभित्र पर्ने १२५ किलोमिटरमध्ये डेढ किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी रहेको जानकारी दिनुभयो । उहाँले डेढ किलोमिटर सडकमा विवाद देखिएपछि उक्त निर्माण कार्य रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “दैलेख जिल्लाको नारायण नगरपालिका–२, जाहरकोट खण्ड र नारायण नगरपालिका–६ को सनक मोड निर्माण गर्न बाँकी रहेको छ ।” १२५ किलोमिटर सडक निर्माण सम्पन्न हुने चरणमा रहेको र एक वर्षभित्र निर्माण सम्पन्न गरी सडक डिभिजन सुर्खेतलाई उक्त सडक हस्तान्तरण गरिने आयोजनाका प्रमुख परियारको भनाइ छ । 

जिल्लाको भौतिक विकासमा कोसेढुङ्गा भएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गले यहाँका बासिन्दाको जीवनशैली परिवर्तनमा महत्वपूर्ण टेवा पु¥याएको नागरिक समाजका अगुवा वीरबहादुर भण्डारीले बताउनुभयो । उहाँले जिल्लामा यति ठुलो आयोजना भित्रिएर निर्माण हुँदै गर्दा दैलखको पूर्वमा जगन्नाथदेखि राकमकर्णालीसम्मका विभिन्न स्थानमा बजार विस्तारसँगै किसानले उत्पादन गरेको तरकारी सहजै बिक्री हुने गरेको जनाउनुभयो । दैलेखका भगवतीमाई गाउँपालिका, नारायण नगरपालिका, दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, ठाँठीकाँध गाउँपालिका र आठबिस नगरपालिकाका भूभाग समेट्दै मध्यपहाडी लोकमार्ग सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला प्रवेश गरेको छ ।