• १० मंसिर २०८१, सोमबार

मुस्ताङी स्याउको माग उच्च

blog

म्याग्दी समाचारदाता

म्याग्दी, असोज १५ गते । स्याउको राजधानी मान्न थालिएको मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा उत्पादित स्याउ मिठो अनि स्वादिलो भनेर मुलुकभर प्रचलित छ । कुनै समय ‘क्या राम्रो स्याउ बारी मार्फा गाउँमा’ भन्ने गीतले पनि मुस्ताङको स्याउको बजारीकरणमा निकै टेवा पुगेको थियो । त्यही गीतमा भनिए जस्तै असोज लागेसँगै बजारमा पुग्न थालेको स्याउले चरितार्थ गरेको छ ।

असोज १ गतेबाट मुस्ताङको मार्फालगायत जिल्लाभित्रका पाँचवटै गाउँपालिकामा उत्पादित स्याउ टिप्ने र ग्रेडिङ गरेर बजार पठाउन सुरु भएको हो । जिल्लाको सर्वपक्षीय बैठकको निर्णयबमोजिम कृषकले स्याउ टिप्ने र बजार पठाउने काम गरेका थिए । अहिले मुस्ताङको माग बजारमा उच्च हुने गरेको बेनी नगरपालिका–८, न्युरोडका फलफूल व्यापारी विज्ञान शर्माको भनाइ छ । पसलमा जुम्ला तथा अन्य क्षेत्रको पनि स्याउ बिक्रीका लागि राखिने भए पनि मुस्ताङकै स्याउको माग गर्ने ग्राहक धेरै आउने उहाँको भनाइ छ ।

 स्याउ चाँडै टिपेर बजार पठाउँदा गुणस्तरमा कमी आएको भन्ने गुनासोले गर्दा जिल्ला समन्वय समितिको अगुवाइमा बैठक बसेर स्याउको जात अनुसार टिप्ने मिति तय भएको जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङले बताउनुभयो ।  

स्याउ खरिद गर्नका लागि मुस्ताङभन्दा बाहिरी जिल्लाका व्यापारी स्याउ बगैँचामा पुगेका छन् भने स्थानीय व्यापारी पनि निकै आउने गरेको घरपझोङ गाउँपालिका मार्फाका स्याउ कृषक दीपक लालचनको भनाइ छ । उहाँ भन्नुहुन्छ, “मुस्ताङका कृषकले उत्पादन गरेको स्याउ धादिङ, काठमाडौँ, पोखरा, चितवनलगायतका ठाउँबाट खरिद गर्न व्यापारी आइपुग्छन् ।” मुस्ताङको स्याउ टिपेर बेच्नेभन्दा पनि स्याउ दाना लाग्न थालेपछि नै बगैँचा नै व्यापारीले ठेक्कामा लिने भएकाले ठेक्का लिने नै स्याउको बगैँचा रुङ्न पुग्ने लालचनको भनाइ छ ।

बागवानी केन्द्र आफैँले बेच्ने

शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले यस वर्ष दुई पटकसम्म सूचना खुलाउँदा कसैले पनि टेन्डर नहालेपछि केन्द्रले आफैँ स्याउ बिक्री गर्ने भएको छ । प्रतिकेजी १२५ का दरले फार्मबाटै खरिद गर्नका लागि सूचना प्रकाशन गरेको भए पनि कसैले पनि स्याउ खरिदका लागि चासो नदेखाएपछि आफैँ व्यवस्थापन गरेर बिक्री गर्ने योजना बनाएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो । 

केन्द्रले सामान्यतया बागवानी फार्म मार्फामा बिक्रीका लागि १३ मेट्रिक टन स्याउ उत्पादन गर्ने र ब्रान्डी, सुकुटीलगायतका अन्य उत्पादनका लागि उत्पादित स्याउ भने यसमा गणना नगरिएको आत्रेयले बताउनुभयो । 

स्याउ खेतीमा आबद्ध कृषि फार्म, कृषक समूह र कृषि सहकारीसहित ८७ फार्म असोजदेखि मात्रै टिपेर बजार पठाउन सहमत भएको र त्यही अनुसार नै स्याउ बजार पठाउन थालिएको हो । मुस्ताङमा एक हजार दुई सय हेक्टरभन्दा बढीमा व्यावसायिक रूपमा भएको स्याउको खेतीबाट वार्षिक रूपमा करिब छ हजार मेट्रिक टन स्याउ उत्पादन हुने गरेको छ । मुस्ताङ जिल्लामा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउको उत्पादन हुँदै आएको छ । पछिल्लो समय इटालियन जातको स्याउसमेत लगाइएको छ ।

समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथिको उचाइसम्म स्याउ खेती हुने गरेको छ भने राम्रो व्यवस्थापन गर्न सकेमा एउटै बोटबाट मात्रै तीन सय केजीसम्म स्याउ उत्पादन गर्न सकिन्छ । कृषकले स्याउबाट जुस, ब्रान्डी, जाम, चिप्स, सुकुटी, क्यान्डी, स्लाइडर जस्ता परिकारहरू बनाएर बिक्री गर्ने गरेका छन् ।