• १४ असोज २०८१, सोमबार

ढोरपाटनका नगर प्रमुखलाई सहकारीको दुई अर्ब ठगीमा अनुसन्धान सुरु

blog

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार साँझ देवकुमार नेपाली(सेतो ह्याटमा)लाई बाहिर ल्याइँदै । तस्बिर: फडिन्द्र अधिकारी

लेखनाथ, असोज १४ गते । सहकारीको दुई अर्ब ठगी अभियोगमा पक्राउ पर्नुभएका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई आइतबार राति बागलुङ लगिएको छ । शुक्रवार भारतको नयाँ दिल्लीमा पक्राउ पर्नुभएका उहाँलाई शनिवार काठमाडौँ ल्याइएकोमा आइतबार साँझ पोखरासम्म विमानमा ल्याइएको थियो । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बागलुङ प्रहरीको टोलीले नेपालीलाई बागलुङ गाडीमा लगेको हो । सोही अभियोगमा देवकुमारसँगै पक्राउ पर्नुभएका ओमप्रसाद दर्जीलाई पनि बागलुङ नै लगिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले पहिला मुद्दा बागलुङमा दर्ता भएकाले बागलुङ लगिएको बताउनुभयो । 

“उहाँविरुद्ध पहिला यहाँ मुद्दा चलेकाले अनुसन्धानका लागि ल्याएका छौँ । आवश्यक परे कास्की प्रहरीले पनि उहाँलाई लगेर अनुसन्धान गर्ला ।” सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले गरेको अध्ययन अनुसार इमेज बचत तथा ऋण सहकारी बागलुङको एक अर्ब ९० करोडको हिसाब मिलान देखिएको छैन ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले नेपाल ल्याएपछि बागलुङ र कास्कीमा मुद्दा विचाराधीन रहेकाले अनुसन्धानका लागि बागलुङ पठाइएको गोरखापत्रलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडक अवरुद्ध छ, विमानबाट पोखरा पठाएका छौँ । अब त्यहाँबाट बागलुङ लगिन्छ । उहाँमाथि अनुसन्धान सुरु हुन्छ ।”

इमेज बचत तथा ऋण सहकारी कास्कीमा ६४ करोड ८८ लाख ६० हजार चार सय ७९ रुपैयाँ अनियमितता भएको छ । १५ जना प्रतिवादी बनाई कास्की प्रहरीले मुद्दा दायर गरेकोमा यसअघि छ जना पक्राउ परिसकेका छन् । तीमध्ये चार जना धरौटीमा रिहा हुँदा दुई जना पुर्पक्षका लागि थुनामा छन् । 

सहकारी ठगीसम्बन्धी अध्ययन गर्न बनेको संसदीय छानबिन समितिको प्रतिवेदनले देवकुमार पोखराको सूर्यदर्शन सहकारीको पूर्व उपाध्यक्ष रहेको खुलासा गरेको छ । जिबी राईसहितको योजनामा खुलेको यो सहकारीको नेतृत्व गर्न नपाएपछि देवकुमारले आफ्नो टिमसहित बाहिरिएर पोखरा र बागलुङमा एउटै नाममा दुई सहकारी स्थापना गर्नुभएको थियो । 

पोखरामा इमेज बचत तथा सहकारी २०६८ मा स्थापना भएको थियो भने बागलुङमा त्यही नाममा २०५९ मा अर्को सहकारी खुलेको थियो । पोखराको इमेजको पुँजी ६५ करोड देखिएकोमा १५ करोड मात्र लगानी गरेको र ५० करोडभन्दा बढी रकम सिस्टममै नदेखाई चलाउने गरेको महानगरको सहकारी महाशाखाको छानबिन प्रतिवेदनले औँल्याएको छ । दुवैतिर आफैँ अध्यक्ष भएर काम गर्दा सञ्चालक समितिमा डमी पात्र राखेर काम गरेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । बागलुङ बजारमा केन्द्रीय कार्यालय रहेको इमेज सहकारी बागलुङले गलकोट र बुर्तिवाङमा सेवा केन्द्र चलाएको थियो । 

अठार ठाउँमा घर, ४५ कित्ता जग्गा

गाउँमा आठ तले होटेल, होटेलको छतमै हेलिप्याड । दरबार जस्तो होटेल दरबारका मालिक देवकुमारका बागलुङ, पोखरा र काठमाडौँका ठाउँ ठाउँमा घर र जग्गा छन् । सहकारी ठगी अभियोगमा मुद्दा चलेपछि उहाँ आफैँले आफ्नो घर, जग्गाको विवरणसमेत सार्वजनिक गर्नुभएको छ । 

इमेजका बचतकर्ताहरू सहकारीको पैसा देवकुमारले आफ्नो निजी व्यवसाय र घरजग्गामा लगानी गरेको बताउँछन् । संसदीय छानबिन समितिको प्रतिवेदन, प्रहरी प्रतिवेदन र सहकारी रजिस्ट्रार कार्यालयले गरेको अध्ययनमा पनि त्यही देखिएको छ । 

बुर्तिबाङ बजारनजिकै २०३२ सालमा जन्मिनुभएका देवकुमारको परिवार विपन्न थियो । उहाँका बुवा लालबहादुर बुर्तिबाङ बजारमा कपडा सिलाउनुहुन्थ्यो । सानैबाट चलाख स्वभावका देवकुमारले १४ वर्षको उमेरमै बुर्तिवाङमा किराना पसल खोलेको उहाँका गाउँलेहरू बताउँछन् । अघिल्लो वर्ष मङ्सिरमा उहाँले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै सबैको पैसा फिर्ता गर्न चाहेको र आफूसँग तीन अर्बको सम्पत्ति रहेको दाबी गर्नुभएको थियो । 

कहिले प्रेस विज्ञप्ति त कहिले फेसबुक लाइभमार्फत उहाँले आफ्नो निजी सम्पत्ति बेचेरै भए पनि बचतकर्ताको रकम फिर्ता गर्न चाहेको र त्यसका लागि वातावरण बनाउन आग्रह गर्दै आउनुभएको छ । बागलुङका स्थानीयलाई पर्दा आर्थिक सहयोगदेखि हेलिकोप्टरबाट समेत उद्धार गर्न पनि उहाँ पछि पर्नुहुन्नथ्यो । 

देवकुमारको त्यही स्वभावले इमेज सहकारी बागलुङमा धेरै बागलुङे सदस्य बने भने धेरैले रकम बचत पनि गरे । पोखरामा खुलेको इमेजमा पनि बागलुङबाट पोखरामा आएर बसोबास गर्नेहरूले सेयर हाले र बचतसमेत जम्मा गरे । दुवैतिरका सहकारीमा तिब्बती शरणार्थीहरूले समेत रकम जम्मा गर्ने गरेका थिए ।

तिब्बती शरणार्थी छेलो नेपालीसँग विवाह गर्नुभएका देवकुमारलाई उनीहरूले सजिलै विश्वास गरेको देखिन्छ । किराना पसल सुरु गर्नुभएका देवकुमार २०४६ सालतिर नेकपा (मसाल) का गतिविधिमा संलग्न हुनुभएको थियो । पछि नेकपा (माओवादी)मा आबद्ध उहाँले राजनीतिक आबद्धताको पनि निकै लाभ लिनुभएको देखिन्छ । 

पहिलो स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिका प्रमुखका प्रमुख दाबेदार उहाँलाई पार्टीले अन्तिममा टिकट दिएन । माओवादीबाट मनोनयन दर्ता गर्नु जानुभएका उहाँलाई नेकपा (एमाले)ले टिकट दिएर प्रमुखको उम्मेदवार बनाएको थियो । २०७४ मा एमालेबाट प्रमुख निर्वाचित उहाँले फेरि २०७९ को चुनाव पनि जित्नुभएको थियो ।

बुर्तीबाङकै मगर युवतीसँग विवाह गर्नुभएका उहाँले पनि पारपाचुके गरी तिब्बती शरणार्थी छेलोसँग दोस्रो बिहे गर्नुभएको थियो । दोस्रो बिहेपछि पोखरा झर्नुभएका उहाँहरूले सिर्जना चोकमा साइकल पसल खोल्नुभएको थियो । त्यही बेला सूर्यदर्शनमा जोडिएपछि देवकुमारको सहकारी यात्रा सुरु भएको हो। 

२०८० वैशाखदेखि सम्पर्कविहीन उहाँले विभिन्न बैङ्कलाई समेत ३५ करोड ऋण तिर्न बाँकी छ । बागलुङमा नेपालीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते मुद्दा दर्ता भएको थियो । प्रहरी अनुसन्धान सुरु भएपछि उहाँ सम्पर्कविहीन बन्नुभयो । त्यसपछि उहाँ विरुद्ध गत माघ दोस्रो साता रेड कर्नर नोटिससमेत जारी भएको थियो । 

Author

फडिन्द्र अधिकारी