• १४ असोज २०८१, सोमबार

अकल्पनीय विपत्

blog

यस वर्षको मनसुनी वर्षाको प्रारम्भमै बाढी, पहिरो, चट्याङलगायतका विपत्मा परेर जनधनको ठुलो क्षति भएका घटना सार्वजनिक भएका थिए । अघिल्ला वर्षभन्दा बढी वर्षा हुने पूर्वानुमान मौसमविद्हरूले पहिले नै गरेकाले जनधनको क्षतिको मात्रा बढ्ने त्रास कायमै थियो । एकाएक आइपर्ने प्राकृतिक विपत्तिलाई टारौँ भनेर टार्न सकिँदैन तर बेलैमा सावधानी अपनाउँदा क्षति न्यूनीकरण गर्न भने अवश्य सकिन्छ । सरकारले देशव्यापी रूपमा हुने मनसुनी दुष्प्रभावको क्षति रोकथाम तथा न्यूनीकरण गर्न प्रतिकार्यमा जुट्न गृह मन्त्रालयमार्फत ‘पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१’ तयार पारेर विपत्मा परेकाको उद्धार तथा राहत वितरण कार्य गर्न संयन्त्र परिचालन गर्दै आएको थियो । असोज मध्यसम्म मनसुनी प्रभाव रहने भएकाले सतर्कता अपनाउँदै आए पनि एकाएक सुरु भएको वर्षा तीन दिन नथामिँदा मुलुकभर तहसनहसपूर्ण स्थिति देखा पर्‍यो । 

यस पटकको मनसुन अवधिमा मुलुकभरमा चार लाख १२ हजार घरपरिवारका १८ लाख मानिस प्रभावित हुने पूर्वानुमान नै गरिएको थियो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१’ ले जोखिमलक्षित घरपरिवारलाई आवश्यक पर्ने उद्धार तथा राहत व्यवस्थापन कार्यमा सतर्कता अपनाउने गरी तयारी गरेकाले विपत्मा परेकाको तत्काल उद्धार सम्भव भयो । मनसुनजन्य विपत्मा परेकाको उद्धार, पुनस्र्थापना तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी ठुलो सङ्ख्यामा सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गरिँदै गरियो । काठमाडौँ, सुर्खेत, इटहरी, भरतपुर र पोखरामा नेपाली सेनाको कमान्डमा हेलिकोप्टर तयारी अवस्थामा राखिएकाले कतिपय स्थानबाट विपत्मा परेकालाई तत्काल उद्धार गर्न सम्भव भयो । मौसम प्रतिकूल हुँदा हेलिकोप्टरको उडान सम्भव नभएर विपत्मा परेका केहीलाई तत्काल उद्धार गर्न नसकेकोप्रति दुःख व्यक्त गरिएको छ । विगतमा जस्तो विपत् आइपरेपछि मात्र चासो देखाउने तर बेलैमा सचेतना, सावधानी तथा सुरक्षाका उपाय अवलम्बन नगरिने प्रवृत्तिको अन्त्य गरिएको सरकारले उल्लेख गर्दागर्दै पनि एकसाथ मुलुकभर भएको वर्षाका कारण जनधनको क्षति अकल्पनीय हुन पुगेको छ ।

बिहीबार रातिदेखि मुलुकभर प्रारम्भ भएको मुसलधारे वर्षाले काठमाडौँ उपत्यकासहित मुलुकभरको जनजीवन एकसाथ अस्तव्यस्त हुँदा उद्धार कार्यमा समेत कठिनाइ भयो । पछिल्लो २४ घण्टामा बाढीपहिरो र डुबानमा परेर काठमाडौँ उपत्यकामा मात्रै ३७ जनाको मृत्यु हुनुका साथै त्यत्तिकै सङ्ख्यामा मानिस हराइरहेका छन् । सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञान विभागले अभिलेख गर्‍यो । २४ घण्टामा ३२३ मिलिमिटर वर्षा भयो । बाढीपहिरोको विपत्मा परेर उपत्यकापछि काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, पाँचथर, सिन्धुपाल्चोक, दोलखा, धनकुटा र सोलुखुम्बुमा जनधनको ठुलो क्षति भएको देखिएको छ । राजमार्गमा गुडिरहेका यातायातका साधन पहिरोमा पुरिएर, बाढीमा बगेर, राति सुतिरहेको अवस्थामा घरमा बाढी पसेर तथा पहिरोमा घर नै पुरिएर भएको दुःखद निधनप्रति राष्ट्रप्रमुख एवं सरकारप्रमुखले दुःख व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा शनिबार मन्त्री तथा सुरक्षा अङ्गका प्रमुखसहितको आपत्कालीन समन्वयात्मक बैठक  बस्यो । बैठकले बाढीपहिरोको नोक्सानीको मूल्याङ्कन गरेर मृतकका परिवारलाई कानुन अनुसार दिनुपर्ने क्षतिपूर्तिको प्रबन्ध गर्ने, पीडितलाई अविलम्ब राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने कार्यमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएको छ । सरकारले बाढीपहिरोमा परेर घाइते भएकाहरूको उपचार निःशुल्क गर्ने निर्णयसमेत गरेको छ । अवरुद्ध सडक, विद्युत्, टेलिफोन, खानेपानीलगायतका अत्यावश्यक सेवा तत्काल सञ्चालन गर्न निर्देशन जारी गरिएको छ । विपत्मा रहेकालाई प्रधानमन्त्री कार्यालयको हटलाइन, सुरक्षा निकाय र गृह मन्त्रालयको हटलाइनमा सम्पर्क गरेर राहत तथा उद्धारका लागि अनुरोध गर्न पनि आग्रह गरिएको छ । 

गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपतजन्य घटनाबाट जोखिममा परेकाहरूको उद्धार र राहतमा सरकार गम्भीर रहेको बताउनुभएको छ । देशभर जनधनको क्षति भएको, सडक, पुलपुलेसाहरू बगेका कारण नागरिकको जनजीवन अस्तव्यस्त भएकाले सहज बनाउने काम भइरहेको भन्दै उहाँले सबै नागरिकलाई सतर्कता अपनाएर विपतबाट बच्न आग्रहसमेत गर्नुभएको छ । यसै गरी कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा उपस्थित सबै दलका नेता तथा प्रतिनिधिले विपत्को यस घडीमा राहत तथा उद्धारमा जुट्न दलका नेता तथा कार्यकर्तामा आह्वान गरेका छन् । विपत्को समयमा एकजुट भएर सामना गर्नुपर्ने जिम्मेवारीबोध आमनागरिक तहमा पनि हुन आवश्यक छ ।