• १४ असोज २०८१, सोमबार

रुसी फोटोग्राफरको पुस्तक सार्वजनिक

blog

 लेखनाथ समाचारदाता

लेखनाथ, असोज १४ गते । रुसी फोटोग्राफर एवं लेखक युरी रोडिचेभले २१ वर्षमा ३२ पटक नेपाल भ्रमणका क्रममा खिचेका हिमाल, हिमाली बस्ती, नेपालका ऐतिहासिक स्थलका तस्बिर सङ्गृहीत पुस्तक ‘दी हिमालयज’ पोखरामा शनिबार सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखराद्वारा आयोजित कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र फोटोग्राफर रोडिचेभले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभएको हो । ८४ वर्षीय रोडिचेभका ४२ फोटोको प्रदर्शनीसमेत शनिबारबाट पोखरामा सुरु भएको छ । 

मुख्यमन्त्री पाण्डेले नेपालीले निवृत्त र निष्क्रिय जीवन बिताउने उमेरमा विदेशीले गरेको कामबाट प्रेरणा लिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको पर्यटन प्रवर्धन गर्दा हिमाल छुटाउनै मिल्दैन । युरी जस्ता व्यक्तित्वको योगदानको एकातिर कदर गर्नु पर्छ भने अर्कातिर त्यसबाट प्रेरणा लिनु जरुरी छ ।”

फोटोग्राफर रुडिचेभले रुसका १६१ सहरमा १८१ पटक प्रदर्शन भइसकेका तस्बिर नेपालमा प्रदर्शन र पुस्तक दुवै रूपमा बाहिर ल्याएको जानकारी दिनुभयो । उहाँले हिमाल र नेपालीको सङ्गतले जीवनलाई हेर्ने दृष्टिकोण नै फराकिलो बनेको बताउनुभयो । 

फोटोग्राफर रुडिचेभले सन् २००३ मा ६३ वर्षको हुँदा सात हजार ४५ मिटर अग्लो लाक्पारी हिमालसमेत आरोहण गर्नुभएको थियो । दी हिमालयजको प्रकाशनका लागि नेपाल पर्वतारोहण सङ्घ, फ्रेन्ड्स एड्भेन्चर टिम, होली हिमालयज र नेपाल पर्यटन बोर्डले सहयोग गरेका छन् । १८४ पेजको पुस्तक मञ्जरी शाक्यले सम्पादन गर्नुभएको हो । म्याप हाउस काठमाडौँले प्रकाशन गरेको पुस्तकको मूल्य तीन हजार पाँच सय रुपियाँ रहेको छ । उहाँका तस्बिर, कला र प्रकृतिसम्बन्धी १४ पुस्तक प्रकाशित छन् ।