• १४ असोज २०८१, सोमबार

बाढीपहिरोको प्रभाव

महँगो मूल्य तिरे पनि पाइँदैन तरकारी

blog

काठमाडौँ, असोज १४ गते ।  केही दिनदेखि उपभोक्ताले महँगो मूल्य तिरेर पनि ताजा तरकारी खान पाएका छैनन् । देशभर लगातार परेको पानीका कारण आएको बाढीले सडकलाई क्षति पुर्‍याएको छ । त्यसले गर्दा उपत्यकामा तरकारी नभित्रिँदा उपत्यकावासीले महँगो मूल्य तिरेर पनि तरकारी उपभोग गर्न पाएका छैनन् । 

वर्षाले गर्दा उपत्यका र आसपासका जिल्लामा उत्पादन भएका तरकारीसमेत बजारसम्म ल्याउन सकेको छैन । आइतबार दिउँसो तरकारी किन्न कालीमाटी बजारमा आइपुग्नु भएकी तीनथानाकी प्रतिभा सुवेदी बजारमा महँगो तिरेर पनि तरकारी नपाएपछि निराश भएर घर फर्किनुभयो । सोमबारका घरको स्रोहश्राद्ध तिथिमा चाहिने हरिया तरकारी किन्न छोरासहित कालीमाटी तरकारी बजारमा आउनुभएको उहाँले भन्नुभयो, “आलुसहित अन्य हरियो तरकारी लैजाने भनेर बजार आयौँ, बजारमा तरकारी नै छैन, महँगो आलु लिएर हिँड्यौँ ।” उहाँ जस्तै सानेपाबाट तरकारी किन्न आउनुभएका अमित शाह पनि कालीमाटी बजारभरि तरकारी नदेखेर रित्तै फर्किनुभयो । पाँच दशकदेखि उपत्यकामा बसोबास गर्दै आउनुभएका शाहको अनुभवमा अहिले उपत्यकामा तरकारी नै पाइँदैन, उपत्यकाका बजारमा अहिले जस्तो कहिल्यै थिएन । 

उपभोक्ता मात्रै होइन, व्यवसायी पनि त्यत्तिकै चिन्तित छन् । कालीमाटी तरकारी बजारका थोक व्यवापारीको संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले गएको तीन दिनदेखि बजारमा तरकारी भित्रिन छाडेको बताउनुभयो । कालीमाटीमा चितवन, मकवानपुर, दोलखा, धादिङ, काभ्रे, नुवाकोट, तराईका बारा, पर्सा, सल्र्लाही, सप्तरी, महोत्तरीसम्मको तरकारी आउने गरेको छ तर तीन दिनदेखि ती ठाउँबाट तरकारी आइपुगेको छैन । त्यसैले उपत्यकामा तरकारी अभाव भएको हो । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार उपत्यकामा आउने तरकारी ९५ प्रतिशत घटेको छ । समितिका सूचना अधिकारी विनय श्रेष्ठले सामान्य अवस्था हुँदा बजारमा दैनिक औसतमा एक हजार मेट्रिक टन तरकारी भित्रिने गरेकोमा आइतबार साढे पाँच बजेसम्म ४५ मेट्रिक टन तरकारी मात्रै आएको छ ।

वर्षाका कारण मकवानपुर भीमफेदी गाउँपालिकाका किसानबाट तरकारी बिक्रीको प्रबन्ध गर्ने विकास बुढाथोकीले आफूले उत्पादन गरेको तरकारी सडकमै कुहिएको बताउनुभयो । 

तरकारी किनेर उपत्यकाको बजार पठाउने काम गर्दै आउनुभएका उहाँले यस पटक पहिरोले सडक अवरुद्ध हुँदा ठुलो क्षति बेहोर्नु परेको आशय प्रकट गर्नुभएको छ । उहाँ त एउटा प्रतिनिधि पात्र मात्रै हो । 

वर्षाले सडक अवरुद्ध हुँदा व्यवसायीले मात्रै होइन उत्पादक किसानको तरकारी पनि बारीमै कुहिएर फाल्नु परेको छ । राष्ट्रिय कृषक महासङ्घका अनुसार उपत्यका र तराई क्षेत्र डुबान र पहाडी क्षेत्रमा पहिरोका कारण तरकारी सङ्कलन र ढुवानीमा समस्या भइरहेको छ । 

महँगियो तरकारी

चार दिनपहिले प्रतिकेजी ५७ रुपियाँ रहेको रायो साग आइतबार बिहान तीन सय रुपियाँ पुगेको छ । मुला प्रतिकेजी १० बाट ८० रुपियाँ, काउली स्थानीय ७० रुपियाँबाट १८० रुपियाँले बिक्रीवितरण भइरहेको छ । यही अनुपातमा सबै तरकारीको मूल्य वृद्धि भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । उपत्यकावासीको मागमध्ये लगभग ८० प्रतिशत कालीमाटी बजारले धान्ने गरेको छ । साना बजार बल्खु तरकारी बजार, बालाजु, बानेश्वर, जडीबुटीलगायतका तरकारी बजारलगायत स्थानमा पनि सोही अनुपातमा आपूर्ति घटेको छ । बल्खुस्थित तरकारी बजारमा पूरै डुबानका कारण धेरै क्षति भएको छ ।