• १३ असोज २०८१, आइतबार

नासाको साधारण सभाद्वारा चार प्रतिवेदन पारित

blog

नासाको साधारणसभामा सहभागीहरु ।

काठमाडौँ, असोज १३ गते । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) को १०औँ वार्षिक साधारण सभा ललितपुरमा सम्पन्न भएको छ । साधारण सभामा केन्द्र, प्रदेश, कामिसन तथा क्लब गरी ४४ प्रतिनिधिको उपस्थिति रहेको थियो । 

शनिबार राति  सम्पन्न साधारण सभाले गत वर्षको प्रगति प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, अगामी कार्ययोजना तथा समसामयिक प्रस्ताव गरी चार वटा प्रतिवेदन प्रस्तुतसहित पारित गरेको छ । 

यसैगरी आगामी वर्षको लागी अडिटर नियुक्ति, कार्यसमिति तथा कमिसनमा केही जिम्मेवारी हेरफेर, विशेष कार्यक्रमको घोषणा लगायतको कार्यसमेत साधारण सभाले गरेको छ । 

अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न साधारण सभामा कार्यकारी निर्देशक गोविन्द भट्टराई, उपाध्यक्ष अनिलकुमार बराल, सचिव महेश अधिकारी, कोषाध्यक्ष धान्यमणि नेपाल, इन्जिनियर गणशेखर श्रेष्ठले विभिन्न प्रस्ताव तथा प्रस्तुति गर्नुभएको थियो । 

साधारण सभामा सङ्घमा आबद्ध प्रदेश सङ्घ, क्लब तथा एसोसिएट मध्येबाट गत आर्थिक वर्षमा सर्वाधिक सक्रिय बागमती अटोमोबाइल एसोसिएसन (प्रदेश सङ्घ बागमती)लाई एक्टिभ अवार्ड प्रदान गरियो । साधारण सभाले १८ जनालाई विशिष्ट योगदान दिएबापत प्रशंसापत्र प्रदान गर्ने निर्णय पनि गरेको छ । 

साथै हिमालयन मोटरल्याण्डको स्थानान्तरण, गोरिटारको प्रस्तावित रेसिङ्ग सर्किट र ई–स्पोर्ट्स तथा पावरवोटिङमा जोड दिने जस्ता निर्णय गरेको छ । यस्तै १८ बुँदे क्यालेन्डर, १० बुँदे सार्वजनिक प्रतिबद्धता जारी गरी सकिएको साधारण सभाले सङ्घको विभिन्न गतिविधिको लागि प्रदेश, क्लब र कमिसनलाई सम्पूर्ण जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।