• १३ असोज २०८१, आइतबार

पुलिसलाई टेबलटेनिस लिग उपाधि

blog

उपाधिसहित पुलिस टोली ।

काठमाडौँ, असोज १३ गते । नेपाल पुलिस क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग–सिजन २ को उपाधि जितेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा पुलिसले र आयोजक स्ट्याग चयाम्पियन्स टेबलटेनिस एकेडेमीलाई समग्रमा ८–४ ले पराजित गर्दै उपाधि जितेको हो । 

समान दुई दुई पुरुष/महिला सिंगल्स र मिक्स डबल्स गरी पाँच स्पर्धा खेल्नु पर्नेमा पुलिसले चार स्पर्धामै जितका लागि आवश्यक आठ अङ्ग बटुल्न सफल भयो । पुलिस साबिक उपविजेता हो  । गत संस्करणमा स्ट्याग तेस्रो भएको थियो । डिफेन्डिङ च्याम्पियन एभीएम टेबलटेनिस क्लब यसपटक सहभागी भएन ।

पहिलो पुरुष सिंगल्समा स्ट्यागका हमर साङगाले पुलिसका वंश सिंघललाई ११–९, ५–११, ११–९ को सेटमा पराजित गर्दै टोलीलाई २–१ को अग्रता दिलाउनुभयो । महिला सिंगल्समा पुलिसकी लक्षिता नारङले स्ट्यागकी त्रिशा गोगोइलाई ११–६, ५–११, ११–६ ले हराउँदै खेललाई ३–३ को बराबरीमा अवस्थामा पुर्‍याउनुभयो । 

मिक्स डबल्समा पुलिसकी लक्षिता र संयोग कपालीको जोडीले स्ट्यागका त्रिशा र गनञ्जय दाहालको जोडीलाई १०–११, ११–९, ११–१ ले पाखा लगाएपछि खेल ५–५ को बराबरी अवस्थामा पुग्यो 

अर्को पुरुष सिंगल्समा पुलिसका संयोगको प्रदर्शन नै निर्णायक बन्यो । संयोगले स्ट्यागका गनञ्जयलाई ३–० को सोझो सेटमा हराउँदै जितका लागि आवश्यक ८ अङ्क बटुल्नुभयो ।

संयोजक ११–७, ११–४, ११–९ ले विजयी हुनुभयो । त्यसपछि पुलिसकी नविता श्रेष्ठ र स्ट्यागकी सुस्मिता खड्काबिच तय भएको महिला सिंगल्स खेलाउनु परेन । उपाधिसँगै पुलिसले दुई लाख तथा स्ट्यागले एक लाख रुपियाँ पुरस्कार पायो । 

नेपाल एपीएफ क्लब र नवप्रवेशी टोली यल टेबलटेनिस तेस्रो भयो । दुवैले समान ५०–५० हजार रुपियाँ पुरस्कार पाए । शीर्ष तीन स्थान हात पार्ने टोली मध्ये एपीएफमा मात्र विदेश खेलाडी थिएनन् । बाँकी तीन टोलीले समान दुई दुई विदेशी खेलाडी अनुबन्ध गरेका थिए ।