• १३ असोज २०८१, आइतबार

बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारियो

blog

दिवाकर पोख्रेल

देउखुरी, असाेज १३ गते । लुम्बिनी प्रदेशका बाढी र पहिरो प्रभावित एक सय ९ जनाभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पा जिल्लाका बाढी तथा पहिरो प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न तीन वटै सुरक्षा निकाय, रेडक्रस, स्वयंसेवक तथा आम सर्वसाधारण नागरिकहरूमा अपिल गर्नुभएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत समुदायका नागरिक बिचको सहकार्यले विपद् प्रतिकार्य योजना कार्यान्वयनमा सहजता आएको हो । प्रदेश सरकारको सहजीकरणमा सुरक्षा निकाय र स्थानीय सरकारले विपद्मा परेकाहरूलाई राहत, पुनर्स्थापनाको काम पनि अघि बढाएका छन् । 

बाढी, पहिरोबाट प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको र पुनर्स्थापनाको काम अघि बढेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थानीयहरूलाई सार्वजनिक भवन, छिमेकी तथा आफन्तको घरमा बसेका छन् ।

नवलपरासी बर्दघाट–२ बासखोलामा ९ जनाको घर बाढीका कारण डुबानमा परेर क्षति भएको छ । स्थानीय कोशबहादुर आले, हरिबहादुर राई, कादर दर्लामी, तोमन सिंह दर्लामी, तिलकुमारी बाह्रघरे, बमबहादुर बाह्रघरे, तिलकबहादुर रुचालको घर तथा गोठमा क्षति पुगेको छ । सुस्ता गाउँपालिका–५ बड्काटोलमा बाढी पसेको छ । 

नारायणी नदीको पानीको बहाव बढ्दा बाँध समेत फुटेर पानी बस्तीमा छिरेको थियो । स्थानीय प्रहरी र समुदायका नागरिकहरूलाई सार्वजनिक भवनमा सारिएको छ । पाल्पा रैनादेवी छहरा–१ का ज्ञानबहादुर कुमालका १२ जनाको परिवारलाई छिमेकीको घरमा सारिएको छ । बगनासकाली–६ निवासी देवनारायण बस्यालको घर पूर्णरुपमा बस्न नमिल्ने भएपछि दुई जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ । तानसेन–५ कैलाशनगर सुकुम्वासी टोलमा पहिरो झर्दा ९ वटा घर जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको छ । 

रम्भा–३ ज्ञानिसरा चिर्तौरको घर जोखिममा परेपछि ७ जना परिवारका सदस्यलाई छिमेकीको घरमा सारिएको, निस्दि–५ निवासी नरबहादुर खरुको घर जोखिममा परेपछि तीन जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको, रैनादेवि छहरा–१ मनिकला कुमाल, ओमप्रकाश कुमाल, रिता कुमाल, सीमा कुमाल, मालती नेपालीको घर जोखिममा परेपछि ११ जना सदस्यहरूलाई आफन्तको घरमा सारिएको छ । 

माथागढी–७ निवासी लोकमायाँ चुहानको घर जमिन भासिदा जोखिममा परेपछि ७ जना सदस्य पुरानो घरमा बसेको, सोही ठाउँ निवासी हिराबहादुर ढेंगाको घर पनि बस्न नमिल्ने भएपछि ४ जना सदस्य पुरानो गोठमा बसेको जनाइएको छ । रैनादेवी छहरा–१ निवासी कमला गरम्जाको घर पहिरोले पुरिएपछि तीन जना सदस्यलाई आफन्तको घरमा सारिएको छ । 

रीब्दीकोट–४ निवासी मीनप्रसादको घर अगाडी पहिरो खस्दा जोखिम बढेपछि चार जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको हो । पाल्पा तिनाउ–१ निवास निरज सास्कोटीको घर पहिरोले पुरिएपछि चार जनालाई सुरक्षित स्थानमा सारिएको छ । 

गुल्मी छत्रकोट–५ निवासी कृष्ण विकको घरमा क्षति पुगेपछि तीन जनालाई सुरक्षित स्थानमा सारिएको छ । रोल्पा त्रिवेणी–६ धरमखोला निवासी केशरबहादुर वलीको बाख्रा गोठ भत्किएको छ । यस्तै माडी गाउँपालिका–४ बुढागाउँ निवासी गनबहादुर घर्तीको कुखुरा फार्ममा क्षति पुगेको छ ।