• १२ असोज २०८१, शनिबार

पहिरोमा परी दशको मृत्यु, तेह्र जना वेपत्ता, विपी राजमार्ग पूर्ण रुपमा बन्द

blog

फाइल तस्बिर ।

केदार तिमल्सिना 

बनेपा, असोज १२ गते । अविरल वर्षासँगै आएको पहिरोमा परी काभ्रेपलाञ्चोकमा दश जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले दुई दिनदेखि भएको वर्षाका कारण जिल्लामा चार बालबालिकासहित दश  जनाको  मृत्यु भएको जनाएको छ । 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले पहिरोका कारण जिल्लामा तीन जना बालक, एक बालिका, तीन जना पुरुष र तीन महिलाको मृत्यु भएको बताउनुभयो । उहाँले पहिरोका कारण बनेपा नगरपालिका–१० मा एक जना बालक, वडा नम्बर–१४ मा दुई जना, धुलिखेल नगरपालिकाको वडा नम्बर–१० र ११ मा एक/एक जना पुरुषको मृत्यु भएको बताउनुभयो ।

यस्तै जिल्लाको पनौती नगरपालिका– ४ मा एक जना बालक, वडा नम्बर– १२ मा एक महिला, नमोबुद्ध नगरपालिका–२ मा एक बालक र एक बालिका र जिल्लाको भुम्लु गाउँपालिका– ८ मा एक पुरुषको पहिरोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

पहिरोमा परी पाँच जना महिला, नौ जना पुरुष, एक जना बालक र एक जना बालिका गरी १६ जना घाईते भएका छन् । पहिरोमा परी सात जना महिला, तीन जना पुरुष र तीन जना बालिका बेपत्ता भएका छन् । अविरल वर्षासँग आएको बाढी र पहिरोमा फसेकामध्ये छ जना महिला, आठ जना पुरुष, एक बालक र  एक बालिकाको उद्धारा गरिएको प्रहरीले जनाएको छ । 

विपी राजमार्ग पूर्ण रुपमा क्षति 

शुक्रबार बिहानदेखि अविरल परेको वर्षाका कारण राजधानी काठमाडौँलाई पूर्वी तराईका जिल्लाहरुसँग जोड्ने छोटो दुरीको राजमार्गको रुपमा रहेको विपी राजमार्ग पूर्ण रुपमा क्षति भएको छ ।

वर्षाका कारण विपी राजमार्गको धुलिखेलदेखि विभिन्न  खण्डमा पहिरोले अवरुद्ध गरेसँगै रोसी खोलामा आएको बाढीका कारण विपी राजमार्गको कटुञ्जे नजिकैको करिब एक सय मिटर सडक पूर्ण रुपमा क्षति भई मानिसहरु समेत आवतजावत गर्न नसक्ने अवस्थामा पुगेको छ ।

यस्तै रोसीमा नै आएको खोलाकै बाढीका कारण रोसी गाउँपालिका–९ नार्के, बोक्सीकुना, डिप्सा, भ्याकुरे, नेपालथोक नजिक  सयौँ मिटर सडक  क्षति गरी यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । वर्षाका कारण सिन्धुपाल्चोक, दोलखा, रामेछापलाई जोड्ने अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरो जाादा उक्त सडक समेत अवरुद्ध बनेको छ । 

बाढीले वस्ती नै बगायो 

अविरल वर्षापछि रोसी खोलामा आएको बाढीका कारण जिल्लाको रोसी गाउँपालिका–१ फलामेसाँघु बजार नै बगाएको छ । रोसीमा आएको बाढीका कारण शनिवार बिहानदेखि फलामेसाँघुमा रहेका दर्जनौ घर तथा पसलहरु बगाएको स्थानीय स्वास्थ्यकर्मी गङ्गालाल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले बाढीले रोसी गाउँपालिकास्तरीय  निर्माणाधिन अस्पतालको भवनमा समेत क्षति पुगेको बताउनुभयो । यस्तै रोसी खोलामा आएको बाढीले जमिन कटान गर्दा रोसी गाउँपालिका–९ स्थित नार्के बजारमा रहेका  एक दर्जनभन्दा बढी घर बगाई बजार खोलामा परिणत भएको रोसी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताउनुभयो । 

पहिरोमा पुरिएर एकै परिवारका आठ बेपत्ता

काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका–२ ढडेनपाखामा अविरल वर्षासँगै आएको पहिरोबाट एकै परिवारका आठ सदस्य पुरिएका छन् । वर्षासँगै शनिवार दिउँसो घरमाथिबाट आएको पहिरोका कारण स्थानीय सानुमान तामाङको घर पुरिएको हो ।

स्थानीय सर्वोद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञान्जमान लामाले पहिरोले सानुमान तामाङ, उहाँका छोरा मानदिप तामाङ, सर्वोद्धार माविको कक्षा २ मा अध्ययनरत छात्रा प्रिया तामाङसहित उनका परिवारका आठै जना पुरिएर वेपत्ता भएको बताउनुभयो ।

उहाँले घरमाथिबाट ठुलो पहिरो आएको तथा घरसम्म पुग्न नसक्ने गरी बाटोभरी पहिरो आएका कारण घटनास्थलसम्म जान सक्ने अवस्था नरहेकोले उहाँहरुका अवस्थामा कुनै जानकारी प्राप्त गर्न नसकेको बताउनुभयो ।