• १२ असोज २०८१, शनिबार

सप्तरीमा हजार बढी घर डुवानमा, नालामा डुवेर बालकको मृत्यु

blog

सप्तकोशी नदी ब्यारेजको पुलबाट सवारी आवागमन ठप्प गरी सुरक्षाकर्मीले पहरा दिँदै । तस्बिर : गोरखापत्र

ललिता साह

वोदेवर्साइन (सप्तरी), असोज १२ गते । तीन दिनदेखि परेको अविरल वर्षाले सप्तरीको हजार घर डुवानमा परेका छन् । घर छेउको नालामा पानीको बहाव देखेर माछा मार्न गएका एक आठ वर्षीय वालकको डुबेर ज्यान गएको छ ।

नालामा डुबेर मृत्यु हुनेमा राजविराज वडा नं ८ का ८ वर्षीय बालक प्रिन्स शाह रहेको सप्तरी प्रहरीले जनाएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ७ चारवटा वडा पूर्ण रुपमा डुबान भएपछि त्यहाँका पाँच सय घर परिवार विस्थापित भएको गाउँपालिका अध्यक्ष अरुण मण्डलले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाको महोदेवा गाउँपालिकाको वडा नम्बर ४ महदेवाको मुसहर बस्ती, बलियाको मुस्लिम बस्तीको डेढ सय घर डुबानमा परेको स्थानीय नेता सनत मण्डलले जानकारी दिनुभयो । डुबानले घरबार छोडेर सार्वजनिक विद्यालयमा शरण लिएका पीडित तजमुलमिया भन्नुहुन्छ, ‘‘हाम्रो घरबार बस्ती डुबिसक्यो तर स्थानीय सरकारले हाम्रो दुःख सोधेको छैन, बेखबर छ ।’’

यस्तै रूपनी गाउँपालिकाको वडा नम्बर १ को सय घर सप्तकोशी नगरपालिकामा त्रियुगा नदीको बहाव बढेर डुबानमा परेको छ । सुकुम्बासी बस्तीका दुई सय बढी घर डुबानमा परेको र डुवानबाट विस्थापित परिवारलाई नगरपालिकाले खानेकुराको व्यवस्थापनमा जुटेको सप्तकोशी नगरपालिकाका नगरप्रमुख कृष्ण ढकालले बताउनुभयो ।

सप्तरी र सिरहाको  सिमानामा रहेको बलान नदीले बलानबिहुल गाउँपालिकाको नदी तटीय मानवीय बस्तीहरु कटान गर्न थालिएको गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले जानकारी दिनुभयो ।

सप्तरीको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीले वाढी र डुबानबाट सर्तकता अपनाउन सबै नागरिकलाई आग्रह गर्नुभएको छ । ‘‘पानी निरन्तर परेको छ । बस्तीबस्तीमा बाढी र डुबानको त्रास छ। यद्यपि यो विपदमा सप्तरी प्रशासन तयारी अवस्थामा रहेको छ ।

१८ वटा स्थानीय तहसँग हामी निरन्तर सम्पर्कमा छौँ। कोशी नदीमा प्रतिसेकेन्ड ५ लाख बढी क्युसेक पानीको बाहव बढेपछि जोखिमबारे भारतीय पक्षले आपत्कालीन अवस्थामा कोशी प्रदेशको मुख्यमन्त्री समेतको उपस्थितिमा सुनसरी जिल्ल प्रशासन, सप्तरी र भारतीय पक्षबीच शनिबार दिउँसो भएको छलफल पश्चात कोशी ब्यारेजको पुलमा सबै प्रकारको सवारी साधन २४ घण्टाको लागि दुईतर्फी रुपमै आवतजावत बन्द गरिएको छ,’’ प्रमुख जिल्ला अधिकारी मगरातीले भन्नुभयो । 

लगातार बर्षाका कारण देशको पहाडी भु–भागमा अझै भीषण वर्षा र बाढी आउने क्रम रहेकोले सप्तकोशीको पानीको बहाव पाँच लाख  ४१ हजार एक सय ६५ क्युसेक (शनिबार वेलुकी ४ बजेसम्म) प्रतिसेकेण्ड रहेको र भारतीय प्राविधिक पक्षले यो बहाव सात लाख क्युसेक नाघ्न सक्ने आँकलन गरिएको छ ।