• १२ असोज २०८१, शनिबार

राप्तीनदीको पानी बढ्दै जाँदा तटीय क्षेत्रमा हाई अलर्ट जारी

blog

राप्ती नदीमा पानीको सतह सतर्कताको विन्दु नजिक पुगेको छ । तस्बिर : सिराज खान

सिराज खान
नेपालगञ्ज, असोज १२ गते ।
बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह सतर्कताको विन्दु नजिक पुगेपछि बाँकेको तटिय क्षेत्रका गाउँ बस्तीमा हाई अलर्ट जारी गरिएको छ । 

जिल्ला आपातकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह खतराको विन्दु ६ मिटर कायम गरिएकोमा पानी सो नजिक पुगिसकेकाले हाई अलर्ट जारी गरिएको जानकारी दिनुभयो । उहाँले शनिबार बिहान ११ः३० बजे राप्ती नदीमा पानीको सतह ५ मिटर ९१ सेन्टिमिटर पुगेको बताउनुभयो ।

सूचना व्यवस्थापन अधिकृत ज्ञवालीका अनुसार, दाङ, रोल्पा, प्यूठानमा लगातार पानी परेकाले नदीको सतह बढेको हो । शनिबार बिहानैबाट नदी क्रमिक रुपले बढ्दै गएको छ । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो ।

सूचना अधिकृत ज्ञवालीले पानीको सतह बढेपछि नदीको वरिपरिका सबै गाउँ बस्तीमा सतर्क रहने सूचना पठाइएको बताउनुभयो ।

जिल्ला आपातकालीन कार्य सञ्चालन केन्द्रका अनुसार कुसुममा पानीको सतह ७.८ मिटर पुग्ने वित्तिकै खतरा स्वरुप नदी छेउछाउमा साइरन बजाइन्छ । नदीको सतह ७ मिटर ८० सेन्टिमिटर पुग्ने वित्तिकै राप्ती नदी आसपासका दर्जनौं गाउँ डुब्ने गरेका छन् ।

भारतले अन्तर्राष्ट्रिय नियम विपरित लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा विगत धेरै वर्षदेखि बर्सेनी डुबानमा पर्दै आएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नदीको सतह बढेर ५.९१ मिटर पुगेपछि राप्तीपारीको उच्च जोखिममा रहेका क्षेत्रहरुमा अलर्ट जारी गरिएको बताउनुभयो ।

उहाँले जोखिमका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क र सजग रहन आग्रह गरिएको र ती सबै ठाउँमा सुरक्षा निकायका तीनवटै निकायलाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।

राप्ती नदी वरिपरिको क्षेत्रका विपद व्यवस्थापन समितिहरु पनि तयारी अवस्थामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।