• ११ असोज २०८१, शुक्रबार

खेवाङ गोल्डकप कात्तिक १० गतेबाट हुने

blog

खेवाङ गोल्डकप फुटबल प्रतियोगिताबारे जानकारी गराइँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज ११ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा खेवाङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । खेवाङ स्पोर्टिङ क्लबको आयोजनामा आगामी कात्तिक १० गतेदेखि १५ गतेसम्म प्रतियोगिताको सातौं संस्करण हुने भएको हो । 

आयोजक खेवाङ स्पोर्टिङ क्लबले शुक्रबार फुङ्लिङ सदरमुकाममा पत्रकार सम्मलेन गर्दै प्रतियोगिताबारे जानकारी गराएको छ । क्लबका अध्यक्ष विनम माबोका अनुसार प्रतियोगितामा आठ टोलीको सहभागिता रहने र सहभागी हुने टोलीको टुङ्गो पनि लागिसकेको छ ।

कोशी प्रदेशस्तरीय प्रतियोगितामा आयोजक खेवाङ स्पोर्टिङ क्लबसहित जिल्लाभित्रको स्थानीय टोलीमा तेल्लोक स्पोर्टिङ क्लब, नैना कम्पनी प्रालि खेवाङ सहभागी हुने क्लबका अध्यक्ष माबोले जानकारी दिनुभयो । यस्तै लालीगुराँस स्पोर्टिङ क्लब सुरुम्खिम र पेदाङ स्पोर्टिङ क्लब सहभागी हुनेछन् । त्यस्तै जिल्ला बाहिरबाट नेपाल पुलिस क्लब कोशी प्रदेश, रेड स्टर फुटबल क्लब झापा र पाँचथरको कुम्मायक गाउँपालिका टोलीको प्रतियोगितामा सहभागिता रहने छ । 

आयोजकका अनुसार प्रतियोगिताको विजेताले एकलाख ५१ हजार १११ रुपियाँ राशिको नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ । उपविजेताले एकलाख एक हजार १११ रुपियाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । 

यसैगरी प्रतियोगितामा खेलाडीका लागि विभिन्न विधागत पुरस्कारको व्यवस्था गरिएको पनि आयोजक क्लबका अध्यक्ष माबाेले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब १५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष माबोले बताउनुभयो । 

पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अधयक्ष नरेन्द्रकुमार लिम्बू (गणेश), पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे, लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङलगायतको उपस्थिति थियो ।