• ११ असोज २०८१, शुक्रबार

रेलघाटा कम गर्न वासिङ्ग सेन्टर निमार्ण गरिन्छ : मन्त्री दाहाल

blog

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहितकाे टाेली जनकपुरधामदेखि भारतको जयनगरसम्म रेल यात्रा गर्नुहुँदै । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा
जनकपुरधाम, असोज १० गते । 
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल रेल्वेको घाटा कम गर्न सरकारले रेल्वेको आफ्नै वासिङ्ग सेन्टर निमार्ण गर्न लागेको बताउनुभएको छ । नेपाल रेल्वेको अवस्था बुझ्नका लागि जनकपुरधामस्थित कार्यालयमा बिहीबार पुग्नु भएका मन्त्री दाहालले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताउनुभएको हो ।

उहाँले आफ्नो प्राविधिक र वासिङ्ग सेन्टर नभएका कारण भारतसँगै सेवा लिनु परिरहेको र यसले आम्दानीभन्दा खर्च बढी हुने गरेको जानकारी दिनुभयो । रेल्वेको विकासका लागि सरकारले व्यवस्थित ढङ्गबाट अघि बढेको र रेल्वे सञ्जाललाई विकास गर्ने सन्दर्भमा आफ्नै वासिङ्ग सेन्टर निमार्ण गर्ने पक्षमा पुगेको उहाँको भनाइ छ ।

मन्त्री दाहालले भन्नुभयो, ‘‘वासिङ्ग सेन्टर निमार्ण गर्ने पक्षमा हामी छौँ । बिस्तारै बिस्तारै प्राविधिक पनि आफ्नो हुन्छ र मालवाहक ट्रेन पनि हामी सञ्चालन गर्ने पक्षमा छौँ । यसले बिस्तारै नेपाल रेल्वेको व्यापार घाटा पनि कम हुन्छ । उहाँले मालवाहक ट्रेन सञ्चालनको सन्दर्भमा भारतसँग केही सम्झौता गर्नुपर्ने भन्दै ती सम्झौताहरू भएपश्चात् छिट्टै मालवाहक रेल पनि सञ्चालन हुने बताउनुभयो ।

उहाँले नेपाल रेल्वेको कुर्था र विजलपुरास्थित रेल्वे स्टेसनको आफूले निरीक्षण समेत गरेको र विजलपुराबाट बर्दिबाससम्मको १८ किलोमिटरको खण्डमा भारतीय निमार्ण कम्पनीले काम गरिरहेकोमा केही समस्याका कारण बिचमा काम रोकिएको भन्ने कुरा जानकारीमा आएकोमा तत्काल समस्या समाधान गरी आजबाट कामकाज अगाडि बढ्ने बताउनुभयो ।

उहाँले रेल्वेको विकासका लागि सरकारले व्यवस्थित ढङ्गबाट अघि बढ्दै गरेको र बर्दिबासदेखि निजगढसम्म रेल सेवाको विस्तार गर्ने र फास्ट ट्रयाकलाई काठमाडौँसम्म जोड्ने गरी कामकाज भइरहेको बताउनुभयो । पत्रकारहरूको जिज्ञासामा मन्त्री दाहालले जनकपुरधामदेखि अयोध्यासम्म रेल सञ्चालनको योजना भारतको रहेको र उक्त योजनाको विषयमा नेपाल समक्ष प्रस्ताव राख्दा हामी सकारात्मक रहेको बताउनुभयो ।

उहाँले जनकपुरधामदेखि अयोध्यासम्म रेल सञ्चालनको विषयमा न्युवोर्कमा नेपाल भारतका प्रधानमन्त्रीबिच भएको भेटघाटको क्रममा यो कुरा उठेको हुनुपर्ने जानकारी दिनुभयो ।

मन्त्री दाहालले धनुषाको खजुरीमा रेल संग्रालय बनाउने विषयमा सरकार सकारात्मक रहेको भन्दै त्यसका लागि प्रक्रिया अगाडि बढी सकेको बताउनुभयो ।

मन्त्री दाहाल नेतृत्वको टोलीमा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादव, पूर्वमन्त्री लिलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, रेलविभागका डिजी अजयकुमार मूल, नेपाल रेल्वेका प्रबन्धक निर्देशक निरञ्जन झासहितकाको सहभागिता रहेको थियो । मन्त्री दाहालसहितको टोलीले नेपाल रेल्वेको टिकट लिएर आजै जनकपुरधामदेखि जयनगरसम्म रेलमै यात्रा गरेर रेलको अवस्थाबारेमा जानकारी लिनुभएको थियो ।