• ११ असोज २०८१, शुक्रबार

मधेश देशको लाइफ लाइन : मन्त्री दाहाल

blog

जनकपुरधाम विमानस्थलमा मधेश प्रदेशका मन्त्रीहरूद्वारा मन्त्री दाहाललाई स्वागत गरिँदै । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा  

जनकपुरधाम, असोज १० गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मधेश देशको लाइफ लाइन रहेकाले वर्तमान सरकार देशको विकास र समृद्धिका लागि मधेशलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । 

धनुषा र सिरहालाई जोडने कमला पुल, हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्गका साथै मधेशका सडकको अवस्था बुझन जनकपुरधाम आउनु भएका मन्त्री दाहालले जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले जनसङ्ख्या र उत्पादनको दृष्टिकोणले अब्बल रहेको मधेशका लागि वर्तमान सरकारले विभिन्न खालका मधेश केन्द्रित कार्यक्रम ल्याउन लागेको बताउनुभयो । उहाँले त्यसका लागि स्थानीय जनप्रतिनिधिहरूसँग छलफल गर्ने र छलफलकै आधारमा सरकारले आफ्ना मधेश केन्द्रित कार्यक्रम तय गर्ने जानकारी गराउनुभयो ।

उहाँले मधेस सरकार पुरानै सरकारले ल्याएको बजेटलाई कार्यान्वयन गर्ने चरणमा रहेको भन्दै हुलाकी राजमार्गको साथै मधेशका उतर–दक्षिण जोडने बाटोलाई प्राथमिकतामा राखेको बताउनुभयो । 

जनकपुरधाम विमानस्थलमा मन्त्री दाहाललाई मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादव, गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, नेकपा (एमाले) का केन्द्रीय सदस्य सञ्जीव झासहितका नेता कार्यकर्ताले माला खादा लगाएर स्वागत गर्नुभएको थियो । 

मन्त्री दाहाल बिहीबार हुलाकी राजमार्गको साथै नेपाल रेल्वेको जनकपुर जयनगर विजल पुरा रेल सेवाको निरीक्षण गर्नुभयो । धनुषाको पूर्वी क्षेत्रमा पर्ने कमला पुलको समेत उहाँले निरीक्षण गर्नुभएको जनकपुरधामका प्रमुख कृष्णकुमार महतोले जानकारी दिनुभयो ।