दिपायल, वैशाख ३० गते । डोटीमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जिल्लाको शिखर नगरपालिका ४ गरुडीमा ना १ ज ३१५२ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्लाको लुवाखडीबाट तिजाली तर्फ जाँदै गरेको उक्त जीप बिहीबार राती शिखर नगरपालिका वडा नम्बर ४ गरूडीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते जीप चालक शिखर नगरपालिका ४ का धनबहादुर साउद र सोही नगरपालिका ५ का भीम विकलाई जिल्लामा उपचार हुन नसकेपछि कैलाली पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो । अन्य घाइतेहरुको डोटी स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।
बिहीबार बिहान जिल्लाको पूर्वीचौकी गाउँपालिकामा मतदाता बोकेको जीप दुर्घटना हुँदा ३० जना घाइते भएका थिए ।