• २८ असोज २०८१, सोमबार

फोक्सोलाई कसरी स्वस्थ राख्ने ?

blog

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका श्वासप्रश्वास रोग विशेषज्ञ डा.रवी महत ।

डा. रबी महत, श्वासप्रश्वास रोग विशेषज्ञ, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी 

काठमाडौँ, असोज २७ गते । फोक्सोले अक्सिजन आपूर्ति कार्बन डाइअक्साइड हटाउने : फोक्सो शरीरमा अक्सिजन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्छ । सास फेर्दा वातावरणबाट अक्सिजन लिन्छ र शरीरमा उत्पन्न भएको कार्बन डाइअक्साइडलाई फोक्सो बाहिर फ्याँक्छ, जसले शरीरलाई स्वस्थ राख्छ र रक्तसञ्चारको शुद्धीकरण गर्छ । रोग प्रतिरोधात्मक क्षमता: फोक्सोमा साना रौँ जस्ता सिलिया हुन्छन्, जसले धूलो, कीटाणु र अन्य हानिकारक कणलाई बाहिर निकाल्न मद्दत गर्छ, जसले शरीरलाई रोगबाट जोगाउँछ।

ध्वनि उत्पादन: फोक्सोले नाक र मुखमार्फत सासको प्रवाहलाई व्यवस्थित गरेर स्वर यन्त्र (बिचथलह) मा ध्वनि उत्पादनमा सहयोग पुर्‍याउँछ ।अम्ल–क्षारको  सन्तुलन राख्छ । 

 फोक्सोले कसरी काम गर्छ 

हामीले प्रत्येक पटक श्वास लिँदा आधा लिटर जति हावा फोक्सो भित्र तानिरहेका हुन्छौँ एक मिनेटमा ७ देखि ८ लिटर र २४ घण्टामा ११००० लिटर जति हावा लिन्छौँ । प्रदूषित हावामा धुलोको कणहरू तथा हानिकारक ग्याँसहरू मिसिएको हुन्छ । हामीले श्वास लिँदाखेरि हावासँगै त्यसमा मिसिएका कणहरू तथा हानिकारक ग्यासहरू पनि फोक्सो भित्र प्रवेश गर्दछ जसले विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । धुलोका अत्यन्त साना कणहरू तथा हानिकारक ग्याँसहरू फोक्सोमा मात्र नभई फोक्सोको माध्यमबाट रक्त सञ्चार प्रणालीमा प्रवेश गरी शरीरका अन्य भागहरूमा समेत क्षति पुर्‍याउन सक्दछ । वायु प्रदूषण, जलवायु परिवर्तन र जीवनशैलीमा आएको परिवर्तनका कारण फोक्सोका बिरामी दिन प्रतिदिन बढ्दै गएका छन् । जसका कारण विशेष गरी दमको समस्या, फोक्सोको क्यान्सरको समस्या बढ्दो क्रममा रहेको छ । 

फोक्सोमा लाग्ने रोग र बच्ने उपाय ?

फोक्सोमा दम, फोक्सोको क्यान्सर ,निमोनिया ,क्षयरोग जस्तो रोगहरू लाग्ने गर्छन् । दम (सीओपीडी/आस्थामा): फोक्सोमा लाग्ने सबैभन्दा बढी स्वास्थ्य समस्या भनेको दम हो । दम एक दीर्घकालीन स्वास्थ्य समस्या हो। खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, सिटी बज्ने र छाती दुख्ने दम रोगका प्रमुख लक्षण हुन । 

फोक्सोको क्यान्सर: फोक्सोको क्यान्सर एक गम्भीर रोग हो जसमा फोक्सोमा असामान्य कोशिकाहरू अनियन्त्रित रूपमा बढ्छन्। धूम्रपान फोक्सोको क्यान्सरको प्रमुख कारण हो।

निमोनिया: निमोनिया फोक्सामा हुने सङ्क्रमण हो । यो विभिन्न कारणले हुन सक्छ, जस्तै ब्याक्टेरिया, भाइरस वा फङ्गस। निमोनियाका लक्षणहरूमा खोकी, ज्वरो, छाती दुखाइ र सास फेर्न गाह्रो हुने समावेश छ।

क्षयरोग(टिबी) : क्षयरोग एक सङ्क्रामक रोग हो, यो माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाको कारणले हुन्छ । क्षयरोगले मुख्यतया फोक्सो र शरीरका अन्य अङ्गहरूमा सङ्क्रमण गर्दछ। 

फोक्सोलाई स्वस्थ राख्ने उपाय 

प्रदूषणबाट फोक्सोलाई बचाउन धुलो, धुवाँ ढुसी आदि हटाउन घरमा नियमित रूपमा सफा गर्ने।घरमा पर्याप्त हावा प्रवाह सुनिश्चित गर्न नियमित रूपमा झ्याल र ढोका खोल्ने । धूम्रपान नगर्ने, र अरूलाई पनि  धूम्रपान नगर्न प्रेरित गर्ने ।, खाना पकाउन, कोठा तताउन कम प्रदूषण गर्ने इन्धन प्रयोग गर्ने।, वायु प्रदूषणको स्तर उच्च हुँदा बाहिर ननिस्कने प्रयास गर्ने।, प्रदूषित क्षेत्र मा जानु पर्दा एन–९५ मास्क लगाउने ।,प्रदूषणयुक्त क्षेत्रहरूबाट टाढा रहने । 

फोक्सोको स्वास्थ्यलाई कायम राख्न आहार र व्यायाम महत्त्वपूर्ण भूमिका खेल्छन्। स्वस्थ आहारमा हरियो सागपात, फलफूल समावेश गर्नुपर्छ। साथै, नियमित व्यायामले फोक्सोको कार्यक्षमता सुधार गर्छ । विशेषगरी, गहिरो सास फेर्ने अभ्यास, दौडने, पौडी खेल्ने, र योगजस्ता शारीरिक क्रियाकलापले फोक्सोको कार्यक्षमता बढाउँछ। 

फोक्सोको सङ्क्रमण बाट जोगाउन सङ्क्रमित व्यक्तिको वरपर नजाने, सामाजिक दूरी कायम राख्ने, हातधुने, माक्सको प्रयोग गर्ने, आफूलाई सङ्क्रमण भए सावधानी अपनाउने आदी गर्नुपर्दछ । प्रशस्त झोल कुरा पिउनुपनि स्वास्थ्यका लागि महत्त्वपूर्ण छ । पानीले फोक्सोको कार्यलाई सुधार गर्न मद्दत गर्दछ, पर्याप्त पानीले फोक्सोको कफलाई पातलो बनाउँछ, जसले श्वासप्रश्वासलाई सहज बनाउँछ। फोक्सोको स्वास्थ्यलाई जोगाउन खोप पनि महत्त्वपूर्ण हुन्छ । फ्लु र निमोनियाबाट बच्नका लागि खोपले केही हदसम्म फोक्सोलाई सङ्क्रमणबाट जोगाउँछ।

(डा.महत ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका श्वासप्रश्वास रोग विशेषज्ञ हुनुहुन्छ ।)