• १४ वैशाख २०८१, शुक्रबार

आठ जनालाई नइ पुरस्कार

blog

काठमाडौं, वैशाख २९ गते । नइ प्रकाशनले नेपालमा स्तरीय शिक्षा प्रणालीका लागि गुरुत्तर भूमिका निर्वाह गरी अहोरात्र शिक्षासेवामा समर्पित शिक्षाविद् डा.सुरेशराज शर्मालाई २०७८ सालको ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
त्यसैगरी सनातन हिन्दूधर्म, संस्कृतिको संबर्द्धन, संरक्षण तथा जागरणका लागि मन, वचन र कर्मबाट क्रियाशील प्रा.डा.माधव भट्टराईलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिने भएको छ ।

साथै नेपालको स्वाभिमान, राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तन र प्रचारमा सदैव समर्पित भई मातृभूमिप्रति गरेको विशिष्ट योगदानका निम्ति भैरव रिसाललार्ई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गरिने भएको छ ।

सामाजिक जागरण र जनचेतनाका लागि हास्य र व्यङ्यमार्फत देशदेशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन उद्यत जनमनका प्रिय कलाकार सन्तोष पन्तलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिने भएको छ ।

नेपाली समालोचनाको परम्परालाई गतिशील, समृद्ध र उन्नत तुल्याउने ऐतिहासिक योगदान गरेबापत प्रा.डा.दयाराम श्रेष्ठलाई ‘नइ ईश्वर बराल पुरस्कार’ समर्पण गरिने भएको छ ।

स्वास्थ्य विज्ञानमा मन, वचन र कर्मले समर्पित रहँदै नेपालमा टेष्टट्युव चिकित्साको गुरुतर भूमिका, सफल प्रयोग र अनुकरणीय योगदानका लागि डा.भोला रिजाललाई ‘नइ भावि पुरस्कार’ समर्पण गरिने भएको छ ।

गीतिकविता लेखनका माध्यमबाट नेपाली भाषालाई जनप्रिय बनाई जनमन छुन सफल प्रेमविनोद नन्दनलाई ‘नइ कोइलीदेवी पुरस्कार’ समर्पण गरिने भएको छ ।

साथै मैथिली तथा नेपाली भाषासाहित्यको श्रीवृद्धिमा योगदान पु-याई नेपाली राष्ट्रिय एकताको सुदृढीकरणका निम्ति उल्लेखनीय भूमिका खेलेवापत डा.रामदयाल राकेशलाई ‘नइ भाजप पुरस्कार’ समर्पण गरिने भएको छ ।

ताम्रपत्रसहित यी आठै वटा पुरस्कार जनही एक लाख रूपियाँ राशिका रहेका छन् ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निणर्य गरेको हो ।