• ११ असोज २०८१, शुक्रबार

काठमाडौँमा कोशीका कलाकृति

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ७ गते । कोशी प्रदेशमा असार १७ देखि १९ गतेसम्म भएको कला कार्यशालामा तयार पारिएका चित्रकलाको प्रदर्शनी राजधानीमा आइतबारदेखि सुरु भएको छ ।

प्रदर्शनीमा कोशी प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा जनजीवन झल्कने र समसामयिक ३० थान चित्र राखिएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा आयोजित ‘समसामयिक चित्रकला राष्ट्रिय सम्मेलनको कार्यशाला तथा गोष्ठी २०८१’ मा सो चित्रकला प्रदर्शनी गरिएको हो । 

प्रदर्शनीमा नारदमणि हार्तम्छाली, सञ्जय बान्तवा, सरोजा खड्गी, सुदर्शनविक्रम राणा, अनुराधा थापा, यसोदाकुमारी सिंह (लम्साल), डिल्लीकृष्ण आले, गणेश लामा, एचबी रम्तेल, खेमबहादुर घिमिरे, किरणकुमार सिगू, कृष्ण लामा, लेखबहादुर थापामगर, महेन्द्र राई, मनुकुमार चौधरी, मुकेश श्रेष्ठ, मुकुन्द प्रयास, नगेन सिंह, पाल्झाङ लामा, प्रनोद दत्त, राकेशचन्द्र श्रेष्ठ, सविन उपाध्याय, सञ्जय सयल, श्यामसुन्दर यादव, सुदिन श्रेष्ठ, सुरेश प्रतीक, तिलक राई, छितेन शेर्पा, उद्धवराज रिमाल, युवराज रिजाललगायतका कलाकृति राखिएका छन् । प्रदर्शनी असोज ११ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री हेमराज राईले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो । ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कोशी प्रदेशमा पहिलो चरणमा कला कार्यशाला गरिएको र अन्य प्रदेशमा गर्दै जाने लक्ष्य रहेको जानकारी दिनुभयो । सदस्यसचिव देवेन्द्र थुम्केलीले लुम्बिनीमा पनि कार्यशाला तथा गोष्ठी आयोजना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।