• ४ मंसिर २०८१, मङ्गलबार

कटकुवाको दही चिउरा बटुवालाई मिठो परिकार

blog

कटकुवामा खिर बनाउँदै देवकोटा दम्पती ।

ललित बसेल

सुर्खेत, असोज ६ गते । सुर्खेत–दैलेख सडकखण्डको छेडानजिक पर्ने कटकुवा दही चिउरा र खिरका लागि प्रख्यात छ । सोही ठाउँमा ५७ वर्षीय लीला देवकोटाले झन्डै २० वर्षदेखि कटकुवाबाट हिँड्ने यात्रु तथा बटुवालाई खिर र दही चिउरा खुवाउँदै आउनुभएको छ । सदरमुकाम वीरेन्द्रनगरदेखि करिब सात किमी उत्तरमा वीरेन्द्रनगर नगरपालिका–८ मा पर्ने कटकुवामा खिर र दही चिउरा नखाने कमै होलान् । 

गाडीमा जाने हुन् या पैदल हिँड्ने सो ठाउँमा बसेर खिर र दही चिउरा खाएर थकान मेट्ने गर्छन् । २०६१ सालदेखि सडक किनारको जङ्गलमा सानो झुपडीमा बसेर देवकोटा दम्पतीले खिर र दही चिउरा बिक्री गर्दै आउनुभएको छ । आन्तरिक पर्यटकीय स्थान भएकाले पनि कटकुवाको खिर र दही चिउरा प्रख्यात छ । देवकोटाले यहाँको खिर र दही चिउरा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मुख्यमन्त्री यामलाल कँडेलसहित प्रदेश राजधानीका उच्च सरकारी तथा गैरसरकारी संस्थाका ठुला पदाधिकारीहरूले खाएको बताउनुभयो । 

कटकुवामा बिक्री गरिने खिर र दही चिउरा सबै स्थानीय उत्पादन हुन् । नजिकै रहेको वीरेन्द्रनगर–१४, गढी पशुपालनको पकेट क्षेत्र हो । खिरका लागि ल्याइने दुध, चामल, दही आफ्नो घर गढीबाटै ल्याएको देवकोटाले बताउनुभयो । २० वर्षदेखि यही झुपडीबाटै दही चिउरा र खिरबाहेक अरू नबेचेको उहाँको दाबी छ । हिउँद मौसममा दुध, चिया र खिर अत्यधिक खपत हुन्छ । खिर र दही चिउरा बेचेर कमाएको पैसाले सात सन्तानको पढाइ खर्च धानिएको उहाँले बताउनुभयो । गढीमा दुई वटा घर र वीरेन्द्रनगरमा घडेरी खरिद गरेको जानकारी उहाँले दिनुभयो । 

दही चिउरा र खिरबाट दैनिक कमाइ राम्रै हुने गरेको छ । दैनिक २० देखि २५ लिटर दुध खपत हुन्छ । खिर र दही चिउरा बेचेर पहिले दैनिक १८ हजार रुपियाँसम्म कमाइ हुने गरेको बताउँदै अहिले भने घटेर नौ/दस हजारमा झरेको उहाँको भनाइ छ । दही चिउरा र खिर बेचेर आफूहरूलाई छुट्टै प्रकारको आनन्द मिलेको लीलाले बताउनुभयो । 

लीलालाई पति हेमप्रसाद देवकोटाले पनि भरपुर साथ दिनुभएको छ । कटकुवाको दही चिउरा र खिर भन्नासाथ सबैले एक पटक खानु पर्छ भन्ने भावनाको विकास भएको र आन्तरिक पर्यटनको पनि विकास भएकोमा खुसी लागेको उहाँले बताउनुभयो । ५७ वर्षीय हेमप्रसादले सडक किनारमा बसेर दही चिउरा र खिरबाट सबै खर्च कटाएर मासिक ४० देखि ५० हजार रुपियाँ आम्दानी गर्न सफल भएको जानकारी दिनुभयो । २०६१ सालअगाडि होटेल सञ्चालन गर्दा तत्कालीन द्वन्द्वका कारण भागेर सदरमुकाम वीरेन्द्रनगर गएको, पछि आफ्नै घरमा सानोतिनो केही गर्नु पर्छ भनेर यही सडक किनारमै झुत्रो त्रिपाल हालेर दही चिउरा र खिर बेच्न सुरु गरेको स्मरण उहाँले गर्नुभयो । 

दही चिउरा र खिर खान भारतबाट पनि पर्यटकहरू आउने गरेको भन्दै उहाँले कटकुवामा सार्वजनिक बिदाको दिन निकै भिडभाड हुने गरेकोे बताउनुभयो । दही चिउरा र खिरमा कुनै मिसावट नहुने गरेको ग्राहकहरू पनि बताउँछन् । नेपालगन्जका व्यवसायी दीपक खड्काले कटकुवाको दही चिउरा र खिर निकै चर्चित भएको बताउनुभयो । उहाँले वीरेन्द्रनगरबाट कटकुवामा आउनासाथ खिर र दही चिउरा नखाई मनले नमान्ने पनि बताउनुभयो ।