• ६ पुस २०८१, शनिबार

पौडी खेल्ने क्रममा डुबेर युवकको ज्यान गयो

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज ५ गते । ताप्लेजुङमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जमेको पानीको दहमा पौडी खेल्ने क्रममा जिल्लाको मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रा मैखुका २१ वर्षीय लाक्पा शेर्पाको मृत्यु भएको हो । 

मेवाखोलामा निर्माणाधीन युनाइटेड मेवा हाइड्रोपावरमा कार्यरत मजदुर रहेका शेर्पाको दहमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । 

प्रहरी निरीक्षक बस्नेतका अनुसार हाइड्रोपावरको निर्माणस्थल सोही गाउँपालिका वडा ३ खाम्लुङको माटेमा पौडी खेल्दा डुबेर शेर्पाको मृत्यु भएको छ । सान्थाक्रास्थित अस्थायी प्रहरी चौकीको प्रहरी टोली र स्थानीयले दहबाट शेर्पाको शव निकालेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बस्नेतले बताउनुभयो ।