• ६ जेठ २०८१, आइतबार

‘खुसीसँगै जिम्मेवारी थपिएको छ’

blog

काठमाडौँ, वैशाख २९ गते । नेपाली चलचित्र क्षेत्रको एक सफल कलाकारका रूपमा चिनिनुहुन्छ, अभिनेत्री ऋचा शर्मा । सन् २००७ को मिस नेपाल सौन्दर्य प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल उहाँले ‘फस्ट लभ’ चलचित्रबाट यस क्षेत्रमा पाइला टेक्नुभएको हो । प्रायः चलचित्रमै व्यस्त देखिनुहुने अभिनेत्री शर्माको अहिले दैनिकी केही बदलिएको छ ।

उहाँ आमा बन्नुभएपछि चलचित्र क्षेत्रमा कम देखिन थाल्नुभएको छ । केही समयअघि मात्र छोरालाई जन्म दिनुभएका उहाँ अहिले मातृत्व सुखमा रमाइरहनुभएको छ ।  आमा बनेपछि जिन्दगीमा खुसीसँगै जिम्मेवारी पनि थपिएको उहाँ बताउनुहुन्छ । उहाँको छोरा भर्खर सात महिना हुनुभएको छ । आफ्नो सन्तानको हुर्काइलाई लिएर उहाँ निकै गम्भीर हुनुहुन्छ । बच्चाको पहिलो पाठशाला घर भएकाले उनलाई राम्रो संस्कार र अनुशासन सिकाउन आवश्यक पर्ने उहाँको भनाइ छ । यही समसामयिक विषयमा केन्द्रित भएर उहाँसँग गरिएको कुराकानी :  

० जीवन कसरी चल्दै छ ?

– रमाइलो छ । मातृत्वमा रमाउँदै छु । दैनिक नयाँ कुरा सिक्न र सिकाउन पाइएको छ । जति गाह्रो भइरहेको छ, त्यति नै रमाइलो हुँदो रहेछ । मेरो लागि मातृत्वको अनुभव नौलो हो । मेरा दिनहरू अहिले छोराको रेखदेखमै बितिरहेछ । 

० आमा बन्नु कत्तिको कठिन हुन्छ ?

– आमा बन्नु सबैलाई कठिन नै हुन्छ हैन 

र ? मलाई कठिन नै भएको छ तर यो कठिनाइभित्र धेरै माया र रमाइलो लुकेको छ, जुन म बयान नै गर्न सक्दिनँ । आमाको काम भनेको कहिल्यै पनि सकिँदैन र आनन्द पनि यसैमा प्राप्त हुन्छ । आफूलाई जति नै थकाइ र गाह्रो भए पनि आफ्नो बच्चाको मुहार हेरेपछि म सबै दुःख बिर्सन्छु । 

० तपाईंले राख्नुभएको शिशु स्याहारसम्बन्धी धेरै भिडियो दर्शकले मन पराइरहेका छन् नि ? 

– राम्रो प्रतिक्रिया आइरहेको छ । यो भिडियो मैले जानेर राखेको भन्दा पनि मेरो अनुभव र मैले बच्चालाई गर्ने हेरविचारले राखेकी हुँ । यसमा मेरी सासूआमाले धेरै मद्दत गर्नुभएको छ । कलाकारले आफ्नो बच्चालाई कसरी हुर्काउँछ भन्ने चासो भएका कारण पनि होला, दर्शकले मन पराइदिनुभएको छ । दर्शकले भिडियोबाट बालबालिका हुर्काउनुपर्ने कुरा सिक्नुभएको प्रतिक्रिया दिनुभएको छ ।

साथै मैले गरेको केही कमजोरी औँल्याइदिनुभएको छ । यसो गर्दा राम्रो हुन्छ र यो नगर्दा हुन्छ भन्ने  प्रतिक्रियाहरू मैले पाएकी छु । मैले गर्भावस्था, सन्तान सुखलगायतका विषयमा जानकारीमूलक भिडियो पोस्ट गरेकी छु । आफू गर्भवती हुँदादेखि अहिलेसम्म श्रीमान्सँगै सासू–ससुराको पूरापूर सहयोगले मातृत्व सुखको राम्ररी आनन्द लिन पाइरहेकी छु । 

० आफ्नो बच्चालाई हरेक कुरा सहजै उपलब्ध गराउनुहुन्छ ? 

– अहँ ! गराउँदिनँ ।  उसले हरेक कुरा सहजै पायो भने त्यसको महत्त्व बुझ्दैन । त्यसका लागि मेहनत गर्नुपर्छ, बल्ल त्यो कुरा पाइन्छ भन्ने भावना विकास गराउनुपर्छ । आफ्नो सन्तालाई दिने भनेकैै राम्रो संस्कार र गुणस्तरीय शिक्षा हो, अरू कुरा उमेरअनुसार सिक्दै जान्छन् । बच्चालाई मायाको नाममा हरेक कुरा ल्याइदिने, उसले माग गर्नेबित्तिकै सबै कुरा पूरा गरिदिने प्रचलन गलत हो । 

० छोरो कस्तो होस् भन्ने लाग्छ ? 

– सबै आमाको चाहना आफ्नो बच्चा असल र भलाद्मी होस् भन्ने नै हुन्छ ।  मेरो पनि त्यही चाहना छ । मेरो बच्चालाई असल संस्कार र गुणस्तरीय शिक्षा दिने हो । अनावश्यक कुरामा रोक्ने, फाल्तु कुराबाट टाढा राख्ने, पैसा र समयको महत्त्व बुझाउने, बचत गर्न सिकोस् भन्ने हो । 

० भर्खर मातृत्व सुख पाउनुभएका आमाहरूलाई केही सन्देश छ कि ? 

– आमा बन्नु भनेको जीवनको सबैभन्दा सुखद क्षण हो । यसलाई राम्ररी उपयोग गर्नुपर्छ । पालनपोषण, आफ्नो निद्रा, खानपानदेखि हरेक कुरामा परिवर्तन हुन्छ तर यसलाई एउटा सुखको चुनौती भनेर लिनुपर्छ । आफूले कसरी हुन्छ, मिलाउँदै लानुपर्छ । मानसिक तनाव हुने भएका कारण योगा, ध्यानले धेरै सहयोग दिन्छ । 

० चलचित्र क्षेत्रमा फर्कने अवस्था के छ ? 

– म चलचित्रमा फर्किसकेकी छु । मेरो ‘कौसिद’ प्रदर्शनको तयारीमा छ । सन् २०२३ सम्म म धेरै नै व्यस्त हुन्छु । मैले तीनवटा चलचित्र साइन गरेकी छु भने कमेडी च्याम्पियनमा निर्णायकमण्डलमा फेरि देखिनेछु ।