• १६ भदौ २०८१, आइतबार

स्थानीय तह निर्वाचन तयारी पूरा : निर्वाचन क्षेत्रतर्फ फर्किंदै मतदाता

blog

मतदान केन्द्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन सामग्री प्रदान गरिँदै । तस्बिर:अमरराज नहर्की

गण्डकी प्रदेश ब्युरो

कास्की, वैशाख २९ गते । गण्डकी प्रदेशका सबै जिल्लामा स्थानीय तह निर्वाचनको तयारी लगभग पूरा भएको छ । निर्वाचन केन्द्रमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मी आ–आफ्नो केन्द्रमा पुगिसकेका छन् । विभिन्न कामले पोखरालगायतका सहर–बजारमा आएर बसोबास गरेका जिल्लाका मतदाता आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मतदान गर्नका लागि गाउँ जाने क्रम बढेको छ । 

कास्की समाचारदाता सन्तोष सुवेदीका अनुसार, स्थानीय तह निर्वाचनका लागि आफ्नो गाउँँ फर्कनेका कारण यातायात भरिभराउ छन् । बस व्यवसायीका अनुसार चुनावमा गृहजिल्ला जाने यात्रुले गर्दा नियमितभन्दा बढी बस थप्नुपरेको बताएका छन् ।  पृथ्वी राजमार्ग बस व्यवसायी समितिका अध्यक्ष योगेन्द्र केसीले विगत चार/पाँच दिनदेखि यात्रुको सङ्ख्या बढेको बताउनुभयो । उहाँले पोखरा आउनेभन्दा पनि बाहिरिनेको सङ्ख्या बढेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाडी नपुग्ने अवस्था देखिएको छ । गाडी पाइएन भनेर फोन आएको आएै छ । गाडी थप्नुपर्ने अवस्था आएको छ ।

” उहाँका अनुसार रात्रिकालीन ५० वटा बस दैनिक पोखराबाहिर जाने गरेका छन् । महेन्द्रनगर, विराटनगर तथा काँकडभिट्टा जानेले रात्रिकालीन बस प्रयोग गरेर जाने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दिनमा दैनिक दुई सय बस पोखराबाहिरका नजिकका जिल्ला, पर्वत, बागलुङ, स्याङ्जा, गोरखालगायतका जिल्लामा जाने गरेका छन् ।”

कतिपय नागरिक निजी गाडीबाट जिल्लाबाहिर गए पनि सार्वजनिक सवारीसाधनमा जानेको सङ्ख्या उत्तिकै रहेको उहाँले सुनाउनुभयो । “विभिन्न पदमा उठेका उम्मेदवारले गाडी रिजर्भ गरेर मतदाता लैजाने गरेको पनि पाइएको छ,” उहाँले भन्नुभयो । 

पोखरामा रहेर आफ्नै व्यवसाय गर्नुभएकी सुनिता नेपालीले गाडीको चापले गर्दा हैरानीमा परेको बताउनुभयो । बुधबार टिकट काट्न काउन्टर पुग्नुभएकी नेपालीले छिट्टै घर जान खोजे पनि टिकट नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “चुनावमा घर जाउँ भनेको टिकट पाउनै धौ–धौ भयो । बल्ल–बल्ल तीन दिनपछि पाइयो । अब गाउँ गएर राम्रो मान्छेलाई भोट दिएर जिताउने हो ।” 

यस पटक सबै स्थानीय तहमा एकैचोटि निर्वाचन हुने भएकाले पनि घर फर्कने बढेका छन् । निर्वाचनको समयमा कुनै पनि आपराधिक गिरोहको सक्रियता नहोस् भन्दै कास्की जिल्लामा रहेका निर्वाचन क्षेत्रमा प्रहरी खटिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले अहिलेसम्म कुनै पनि निर्वाचनविरोधी क्रियाकलाप नभएको जानकारी दिनुभयो ।

उहाँले सुरक्षा योजनाअनुसार नै काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि राजनीतिक दल, कार्यकर्तामा थ्रेट, झगडा भएको पाइएको छैन । निर्वाचन आयोगको अपेक्षाअनुसार नै काम भइरहेको छ ।” सुरक्षाका लागि मतदान स्थलमा खटिने कर्मचारी पुगिसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कास्कीमा ९४४ जना प्रहरी, १४ सय २९ जना म्यादी प्रहरी, सशस्त्र प्रहरी परिचालित भइसकेका छन् । 

निर्वाचन कार्यालयका अनुसार कास्कीमा ३७० पदका लागि मतदान हुँदै छ । पोखरा महानगरभित्र ३३ वडा र कास्कीमा ७२ वडा छन् । कास्कीमा दुई हजार ६८५ कर्मचारी खटिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यालयले मतदान स्थलमा आवश्यक पर्ने ६४ प्रकारका सामग्रीसहित कास्कीका सबै मतदान केन्द्रमा कर्मचारी पठाइसकेको गण्डकी प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार कास्कीमा ३३६ मतदान केन्द्र र १५० मतदान स्थल रहेका छन् । 

जीवनज्योतिमा महिला कर्मचारी मात्रै

कावासोती समाचारदाता मीना कँडेलका अनुसार स्थानीय तह निर्वाचनमा नवलपुरको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । कावासोती नगरपालिका–३ स्थित जीवनज्योति माध्यमिक विद्यालय (ख)मा मतदान अधिकृतदेखि सहयोगीसम्मका महिलालाई खटाइएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्माले बताउनुभयो । उक्त मतदान केन्द्रमा खटाइएका पाँच जना महिला कर्मचारीमा एक जना घरेलु तथा साना उद्योग कार्यालयबाट र चार जना जिल्ला अदालत नवलपुरबाट हुनुहुन्छ । 

मतदान अधिकृत शान्ति गुरुङ, सहायक मतदान अधिकृत राधिका सापकोटा (घरेलु तथा साना उद्योग कार्यालय नवलपुर), सहायक कर्मचारी रचना ढुङ्गाना, सहायक कर्मचारी सुस्मिता पंगेनी र कार्यालय सहयोगी जीवकला केसी पराजुली गरेर पाँच जना सबै महिला कर्मचारी नै खटाइएको शर्माले जानकारी दिनुभयो । निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको उहाँको भनाइ छ । नवलपुरमा स्थानीय तह निर्वाचनका लागि ११३ मतदान केन्द्र तोकिएका छन् ।

सुरक्षा व्यवस्था मजबुत

लमजुङ समाचारदाता बेलिना थापाका अनुसार स्थानीय तह निर्वाचनका लागि तोकिएका मतदान स्थलमध्ये २२ वटा मतदान स्थल अति संवेदनशीलको सूचीमा रहेका छन् । १२३ मध्ये २२ वटा अति संवेदनशीलका रूपमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भौगोलिक विकटता, मतदान केन्द्रको सुरक्षा चुनौती र यातायातको सहज पहुँचका आधारमा मतदान स्थललाई अति संवेदनशील केन्द्रका रूपमा वर्गीकरण गरिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश शिवप्रसाद खनालले बताउनुभयो ।

उहाँका अनुसार यातायातको सुविधा नपुगेको, भौगोलिक विकटता रहेको ठाउँमा सुरक्षाको जोखिम हुन सक्ने भएकाले अति संवेदनशील केन्द्रका रूपमा मानिएको हो । यस्ता केन्द्रमा सामुदायिक सहकारी भवन ठूलीबारी, कालिका मावि पन्थीडाँडा, ज्ञानोदय मावि, सौभाग्यदय मावि, शिशु विद्याश्रम, शैलपुत्री मावि, सूर्योदय मावि जनमिलन भन्ज्याङ, पाचोक मावि, विन्दावासिनी आवासीय मावि, मनहरि प्रावि, जनकल्याण मावि तिलाहार, फलेनी मावि, गणेश आवासीय मावि, वीरेन्द्रशीला आवासीय मावि र अमरज्योति मावि सिम रहेको छ । 

अति संवेदनशील केन्द्रमा सुरक्षा व्यवस्थालाई बढी मजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताउनुभयो । सुरक्षामा चुनौती हुने भएकाले ती स्थानमा सुरक्षाकर्मी परिचालनमा ध्यान दिएको उहाँले बताउनभुयो । संवेदनशील स्थल ८० वटा छन् । १२३ मतदान स्थलमा १८२ वटा मतदान केन्द्र रहेको छ । जिल्ला सुरक्षा समितिले लमजुङमा मतदान केन्द्रको वर्गीकरण गरी संवेदनशीलको सूची तयार पारेको हो । २०७४ को स्थानीय तह निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । लमजुङमा मतदाताको सङ्ख्या एक लाख ३१ हजार ४९४ रहेको छ । 

तनहुँमा सम्पूर्ण तयारी पूरा 

तनहुँ समाचारदाता अमरराज नहर्कीले दिनुभएको जानकारी अनुसार तनहुँ जिल्ला निर्वाचन कार्यालयले सबै तयारी पूरा गरेको छ । मतदान केन्द्रका लागि खटिएका कर्मचारीले निर्वाचन सामग्री बुझेर सुरक्षाकर्मीसहित कार्यस्थलमा पुगिसकेको र स्वयंसेवकको नियुक्त भई तयारी पूरा भएको कार्यालयले जनाएको छ ।

निर्वाचन सम्पन्न गर्न खटिएका मतदान अधिकृतसहितको टोली मतदान केन्द्रमा पुगेका हुन् । १० वटा पालिकाका २९७ मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी, सुरक्षाकर्मी खटाइएको छ । मतदान अधिकृतले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयबाट निर्वाचनका लागि आवश्यक ६१ प्रकारका सामग्री पनि बुझेर मतदान स्थलमा पुगेर तयारी पूरा गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तनहुँमा चार नगरपालिका, छ गाउँपालिकाका ८५ वटा वडाका ४४५ पदमा विभिन्न राजनीतिक दल, स्वतन्त्र गरी एक हजार ६३७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । 

जिल्लामा एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला गरी दुई लाख ४४ हजार ३४० जना मतदाता रहेको ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार तनहुँमा गत स्थानीय तह निर्वाचनमा भन्दा यस पटक ४९ हजार ८६९ मतदाता थपिएका छन् । मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी र अन्य गरी दुई हजार ३७६ जनशक्ति परिचालन गरिएको छ भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै कर्मचारीलाई नियुक्तिपत्र वितरण गरिसकेको छ । केन्द्रमा पुगेका कर्मचारीले सम्बन्धित ठाउँका राजनीतिक दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माणलगायतका कार्य गरिरहेका छन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृतले तीन जना स्थानीय स्वयंसेवक भर्ना गरिसकेका छन् । 

मतदान स्थलमा पुगे कर्मचारी

म्याग्दी समाचारदाता अमृतप्रसाद पौडेलका अनुसार स्थानीय तह निर्वाचनमा हिमालपारिको जिल्ला मुस्ताङको मतदान केन्द्रमा खटिने कर्मचारी मतदान स्थलसम्म पुग्न थालेका छन् । २६ गते टाढाका मतदान केन्द्र र २७ गते नजिकका केन्द्र गरी दुई दिनमा नियुक्तिपत्र बुझेर आ–आफ्नो मतदान केन्द्रतर्फ लागेका कर्मचारीले तोकिएको स्थान पुगेको जानकारी आउन थालेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ति बुझेपछि कर्मचारी मतदान स्थलतर्फ लागेका हुन् । मुस्ताङका ३८ स्थानमा ३८ मतदान केन्द्र तोकिएको छ । प्रत्येक केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीसहितको सुरक्षाकर्मीको टोली मतदान स्थलतर्फ लागेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका सूचना अधिकारी समीर थापाले बताउनुभयो ।

त्यसैगरी मुस्ताङमा २७ गतेदेखि साँझ परेपछि हिँडडुल गर्न तथा मदिरा सेवन, बिक्रीवितरण र ओसारपसारलाई कडाइका साथ निषेध गरिएको प्रजिअ शर्माले बताउनुभयो । पाँचवटा स्थानीय तहका २५ वडा रहेको मुस्ताङ जिल्लामा भौगोलिक विकटता एवं सुरक्षा संवेदनशीलताको दृष्टिबाट २३ मतदान केन्द्र सामान्य र १५ मतदान केन्द्र संवेदनशीलको दर्जामा वर्गीकरण गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले बताउनुभयो । निर्वाचनका लागि मुस्ताङ जिल्लामा नेपाल प्रहरीका २२४ जना, म्यादी प्रहरी २५५ जना, सशस्त्र प्रहरी बलका १८९ र नेपाली सेना २७० जना खट्ने जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।