• २ असोज २०८१, बुधबार

‘मुख्यमन्त्रीज्यू दसैँ खर्च चाहियो’

blog

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेट गर्दै राउटे दिलबहादुर शाही । तस्बिर : दिवाकर पोख्रेल

दिवाकर पोख्रेल

देउखुरी, असोज २ गते । शिरमा ढाकाटोपी, खुट्टामा प्लास्टिकको चप्पल । पिठ्यूँमा भारी, उमेरले ६० वर्ष पुग्नुभएका राउटे दिलबहादुर शाही लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी पुगेर दसैँ खर्च माग गर्नुभयो । 

दसैँ खर्च माग्न आउनुभएका शाहीले मुख्यमन्त्रीलाई हातले बनाएको काठको कोसेली उपहार दिनुभयो । सुर्खेतमा बस्दै आउनुभएका शाही मुख्यमन्त्रीलाई भेट्न बुधबार यहाँ आइपुग्नु भएको हो ।

शाहीले भन्नुभयो, ‘यो काठको कोसेली हो । हातैले बनाइएको छ । यस्तो कोसेली बनाउन थालेको धेरै भइसक्यो । मुख्यमन्त्रीज्यू दसैँ त आउन लाग्यो । खर्च चाहियो ।’ दसैँ खर्च माग्न यसपालि शाही एक्लै लुम्बिनी प्रदेश कार्यालयसम्म आइपुग्नु भएको छ । गाडी चढ्न डराएर साथीहरू आउन नसकेको उहाँले प्रष्ट पार्नुभयो ।’  

राउटे समुदायका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिँदैआएको छ । मासिक चार हजार रुपियाँ भत्ता बुझ्दै आएका छन् । राउटे समुदाय हरेक वर्ष दसैँ खर्चका लागि प्रदेश सरकारमा धाउँदै आएका छन् । मुख्यमन्त्री आचार्यले राम्रोसँग दसैँ खर्च मनाउन दिलबहादुरमार्फत सन्देश पठाउनुभएको छ । मुख्यमन्त्री आचार्यले आपसमा मिलेर बस्न आग्रह गर्दै नगद १० हजार दिएर पठाउनुभयो ।