काठमाडौँ, चैत २० गते । नेपालमा मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने गरी वायुप्रदूषण बढ्दा जनजीवन प्रभावित बन्न थालेको छ । सुक्खा र कडा गर्मीसँगै बढेको डढेलो र आगलागीले मानव स्वास्थ्य प्रतिकूल हुने गरी वायुप्रदूषण बढाएको हो ।
काठमाडौँ थानकोटकी गोमा तामाङ भन्नुहुन्छ, “नाक, आँखा दुइटै पिरो हुने हावा छ, सास फेर्न पनि गाह्रो हुन थालेको छ, सडकतिर नहिँड्दा पनि घाँटीबाट कालो खकार आउँछ अचेल ।”
कामका लागि एक ठाउँबाट अर्को ठाउँमा जानेलाई आँखा रातो हुने, नाक–घाँटी पोल्ने, ओठ सुक्ने अनि सास फेर्न गाह्रो हुने समस्या देखिन थालेको गुनासो बढेको छ । सार्वजनिक बसमा यात्रा गरिरहनुभएकी सीता राईले थप्नुभयो, “जति पानी खाँदा पनि घाँटीको पिरो जाँदैन, खोकी लाग्न थालेको छ, आँखा उस्तै पोलिरहेको छ ।” उहाँहरूलाई जस्तै कडा वायुप्रदूषणका कारण बाहिर निस्कन नसकिने गरी जनजीवनमा असर पर्न थालेपछि आमनागरिकमा चिन्ता थपिएको छ । काठमाडौँ उपत्यका खाल्डोसहित देशका अधिकांश भूभागमा धुलो र धुवाँसहितको तुवाँलोले वातावरण प्रदूषित बनेको छ ।
गत दुई/तीन दिनयता वायु गुणस्तर अनुगमन प्रणालीले काठमाडौँका विभिन्न स्थानमा अति हानिकारक वायुको गुणस्तर सूचक (एक्युआई) दुई सयभन्दा माथि देखाइरहेको छ । एक्युआई ०–५० राम्रो, ५१–१०० मध्यम १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ र १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ माथि खतरनाक तह पुगेको सङ्केत मानिन्छ ।
नेपालको वायुमा कार्बनमोनोअक्साइड, ओजोन, नाइट्रोजन, सल्फरडायोअक्साइड जस्ता अस्वस्थकर ग्यास तथा धुलोका ठुलासाना कणको मात्रा उच्च रहेको विश्वव्यापी वायुप्रदूषण सूचकले औँल्याइरहेको छ । जसले दक्षिण एसिया र विश्व परिदृश्यमै नेपालको वायुप्रदूषण कडा बनेको देखाएको छ ।
सावधानी अपनाउन अपिल
वातावरण विभागले वायुप्रदूषणको असर कडा हुँदै गएकाले सावधानी अपनाउन आमनागरिक र सरोकारवाला निकायलाई अपिल गरेको छ । विभागका उपमहानिर्देशक सैलेशकुमार झाले तातो सुक्खा मौसममा डढेलो उच्च हुँदा मानव स्वास्थ्य प्रतिकूल वायुप्रदूषण सिर्जना भएको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “क्रस बोर्डर धुलो धुवाँको प्रदूषणका रूपमा भारतबाट डढेलोको धुवाँ धुलो नेपाल आइरहेको छ, यहाँका वन क्षेत्रमा पनि गत सातादेखि डढेलो उच्च बन्दै छ, जसले वायु बिगारेको छ ।”
तापक्रम उच्च हुँदा भारतको प्रदूषण माथिल्लो वायुमण्डलबाट नेपाल भित्रिरहेको उहाँले जानकारी दिनुभयो । झाले भन्नुभयो, “हामीले स्थानीय रूपमा दिने सचेतना, अनुगमन, मापनमार्फत असर कम गर्ने प्रयत्न गरिरहेका छौँ, अन्य सरोकारवाला निकायले पनि सावधानीका उपाय समयमै अपनाउन जरुरी छ ।”
वायुप्रदूषणका कारण छालामा एलर्जी हुने, दम र श्वासप्रश्वासका समस्या आउने र पुराना बिरामीलाई झन् समस्या पर्ने, विद्यालयमा पढ्न गएका बालबालिकाको स्वास्थ्यमा समस्या बढ्ने लक्षण उच्च वायुप्रदूषणले निम्त्याउने भएकाले सजग रहन उहाँले अनुरोध गर्नुभयो । वायुप्रदूषणका सहायक मानिने उद्योगी तथा सवारीसाधन उपभोगकर्ताले आफ्नो उद्योग र सवारीको धुवाँ प्रदूषणको परीक्षण अनिवार्य गराउन विभागले सुझाएको छ । साथै स्वास्थ्य मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, विपत् प्राधिकरणलगायतका निकायले आफ्ना एड्भाइजरी जारी गरेर स्वास्थ्य सचेतना र सतर्कता अपनाउँदै नागरिकलाई सहजीकरण गर्नुपर्नेमा विभागले जोड दिएको छ ।
बिहान बेलुका बाहिर ननिस्कौँ
नेपाल स्वास्थ्य अध्ययन परिषद्का प्रमुख अध्येता डा. मेघनाथ धिमालले वायुप्रदूषणले दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने भएकाले सतर्क रहनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेको कडा वायुप्रदूषण हो, त्यसैले सकेसम्म बिहान र बेलुका बाहिर हिँडडुल नगरेको राम्रो, दिउँसो अत्यावश्यक काममा हिँड्दा मास्क लगाएर हिँड्नु पर्छ ।”
वायुप्रदूषणले दीर्घ रोगहरू निम्त्याउने र पुराना रोगीलाई बढी घातक हुने धिमालले बताउनुभयो । उहाँका अनुसार वायुप्रदूषणले दम तथा श्वासप्रश्वासका तथा मुटुको रोगीलाई अझ क्षति गर्छ । साथै मानिसको बिर्सने क्षमता बढाउने रोग, मधुमेहसँगै नपुङ्सकता र बाँझोपना निम्त्याउने पछिल्लो कारक तत्वका रूपमा वायुप्रदूषण रहेको अन्तर्राष्ट्रिय अध्ययनले पुष्टि गरेको डा. धिमालले प्रस्ट्याउनुभयो ।
घरमै बस्नेले पनि झोल तथा पानी प्रशस्त पिउने र शीतलमा बस्न सुझाउनुभयो । अहिलेको समयमा विद्यालयमा अध्ययन अध्यापन जारी रहेकाले बाहिर खुला चउरमा खेलकुद नगराउन विद्यालयले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । मास्क लगाउन लगाउने र विद्यार्थीलाई भित्रै खेलिने खेलकुदहरूमा सरिक गराउनुपर्नेमा वातावरण विभाग र स्वास्थ्य अध्ययन परिषद्ले औँल्याएको छ ।
एक सातामा दुई सय बहत्तर स्थानमा डढेलो
राष्ट्रिय विपत् जोखिम न्यूनीकरणले नेपालको वायुप्रदूषण बढाउने उच्च कारकका रूपमा डढेलो रहेको औँल्याएको छ । प्राधिकरणका डढेलोविज्ञ सुदीप छत्कुलीका अनुसार विगत एक सातामा मात्र २७२ स्थानमा डढेलो लागेको जानकारी दिनुभयो । डढेलोमा परेर दुई जनाको मृत्यु हुनाका साथै २२ जना घाइते भए ।
भौतिक आगलागीबाट ३० वटा घर जलेका छन् । एक सातामा चार करोड ५० लाख रुपियाँ बराबरको क्षति भएको छ । विगत छ महिनामा आगलागी र वन डढेलोका दुई हजार ५०६ वटा घटना भएका छन् । जसमा ४९ जनाको मृत्यु हुनाको साथै ३३० जना घाइते भएका थिए । जसमा कुल ४१७ वटा भौतिक संरचना क्षतिग्रस्त बनेका छन् भने एक हजार ३७ वटा पशुचौपाया मरेका थिए । जसले ९७ करोड ४० लाख बराबरको आर्थिक क्षति भएका छत्कुलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेको मौसम नै डढेलो र आगलागीको उच्च घटना हुने याम हो, वैशाखको पहिलो साता झन् उच्च हुने देखिन्छ ।”
प्राधिकरणले सचेतनायुक्त सूचनामार्फत डढेलो र आगलागी निभाउन सहजीकरण गरिरहेको छ । स्थानीय आफैँले पनि पत्कर सोहोर्दै वन क्षेत्र खाली गर्ने र डढेलो लाग्न नदिन पहल गर्न÷गराउन उहाँले जोड दिनुभयो । उहाँका अनुसार अन्यत्रको डढेलो र आगलागीको बढी असर कचौरा जस्तो काठमाडौँ उपत्यकामा पर्ने भएकाले यहाँ वायुप्रदूषण उच्च भएको हो । भौतिक आगलागीतर्फ कोशी, मधेश र काठमाडौँमा बढी देखिएको छ भने डढेलो लुम्बिनी, कर्णाली, बागमती प्रदेशका वन क्षेत्रमा बढी देखिएको प्राधिकरणले जनाएको छ ।
डढेलोको जोखिम उच्च
मौसमविद् हरिप्रसाद दाहाल पानी पर्ने सुरसार नभएकाले सुक्खा खडेरीसँगै डढेलोको चाप बढ्ने सम्भावना रहेको बताउनुहुन्छ । दाहालले भन्नुभयो, “तापक्रम थप बढिरहेको छ, तराई भेगमा यही साता ४० डिग्रीमाथि तापक्रम पुग्ने देखिन्छ, त्यसैले सावधानी जरुरी छ ।”
धुवाँधुलोसहितको प्रदूषण नहट्नुमा वर्षा नहुनु र हावा राम्ररी नचल्नु रहेको उहाँले प्रस्ट्याउनुभयो । यसले वायुमण्डलमा तातो आद्र्रता (ह्युमिडिटी) बढेको छ । जस कारण पारदर्शिता घटबढ हुँदा आन्तरिक र बाह्य हवाई उडानसमेत प्रभावित बन्न पुगेको छ । सोमबार कम वायु पारदर्शिताका कारण आन्तरिक उडान केही रोकिए । विदेशी उडान अन्यत्र ‘डाइभर्ट’ गरिए र आकाशमै पनि धेरै विमान ‘होल्ड’ भएका थिए । मङ्गलबार दिउँसो सुधारिएको पारदर्शिता साँझपख फेरि घट्दा उडान प्रभावित हुने जोखिम बढेको थियो ।