• २ असोज २०८१, बुधबार

सशस्त्र प्रहरी बल ४२ रिजर्भ गणलाई एम्बुलेन्स

blog

सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष तप्त पौडेल लगायत । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज २ गते । जिल्लाको राप्तीसोनारी गाउँपालिकाले सो गाउँपालिकाको शमशेरगन्जमा रहेको सशस्त्र प्रहरी बलको रिजर्भ गणलाई बिशेषगरी राजमार्गमा हुने दुर्घटनामा परेकाको उद्धार गरेर अस्पताल पुगाउने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरेको हो । 

राजमार्गमा दुर्घटना बढ्दै गएको र कोहलपुर तथा नेपालगन्जबाट घटनास्थलमा एम्बुलेन्स पुग्न समय लाग्नेगरेकाले अबदेखि राजमार्गको शमशेरगन्जमा रहेको सशस्त्र प्रहरीको रिजर्भ गणमा सधैँ उपलब्ध हुनेगरी एम्बुलेन्स हस्तान्तरण गरिएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताउनुभयो । 

उहाँले एक कार्यक्रमबिच सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्रीलाई भे १ झ ३४१ नम्बरको एम्बुलेन्स हस्तान्तरण गरिएको बताउनुभयो । 

राप्तीसोनारी गाउँपालिका बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रसँग र राजमार्गसँग जोडिएको हुँदा यहाँ धेरै सडक दुर्घटना र सर्पदंशका घटना हुने गरेकाले घाइते र बिरामीलाई समयमै अस्पताल पुगाउन नसक्दा धेरैको ज्यान जाने गरेकाले सो रोक्न एम्बुलेन्स प्रदान गरिएको पालिकाले जनाएको छ । 

कोहलपुरदेखि कुसुमसम्मको राजमार्गमा गत केही समय यता दुर्घटना निकै बढेको र ती दुर्घटनामा परेर घाइते हुनेहरूको उद्धारमा ढिलाइ हुने गरेकाले समस्या पर्ने गरेको थियो । यसैगरी सो क्षेत्रका वरिपरिका गाउँबस्तीमा सर्पदंशका घट्ना पनि धेरै हुन थालेकाले त्यहाँबाट बिरामीलाई नेपालगन्ज पुगाउन ढिलाइ हुनेगर्दा उपचारमा समस्या हुँदैआएको छ । 

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सीमा सुरक्षा र विपद्का घट्नामा उल्लेख्य भूमिका निर्वाह गर्दैआएको सशस्त्र प्रहरीलाई थप काम गर्न सहजताका लागि एम्बुलेन्स सहयोगी बन्ने बताउनुभयो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्रीले राप्तीसोनारी गाउँपालिकाले एम्बुलेन्स प्रदान गरेर निकै सराहनीय काम गरेको जनाउँदै यसको बढीभन्दा बढी सदुपयोगमा जोड दिनुभयो । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि तथा सो क्षेत्रका सर्वसाधारणको पनि सहभागिता रहेको थियो ।