ऋग्वेदमा आर्य शब्दको प्रयोग ३५ पटक भएको छ । जसमध्ये नौ ठाउँमा आर्यबिच मतभेद रहेको भनिएको छ । आर्यको आपसी सङ्घर्षमा दास स्वभावतः आर्यका मित्र र सहयोगी थिए । यस कारण आर्य समाजको जनजातीय आधार विस्तारै क्षीण हुन थाल्यो र आर्य तथा दास विलयनको क्रियाले मान्यता पायो ।
शूद्र आर्य समाजभन्दा बाहिरको थियो होला भनी इस्वी संवत् १८४७ मा रौथले सङ्केत गरेका थिए । त्यस समयदेखि सामान्यतया यस्तो विचारधारा चल्दै आएको छ, ब्राह्मणकालीन समाजको चौथो वर्ण मुख्यतया आर्येतर मानिसको थियो, आर्य विजेताहरूले तिनलाई शूद्र बनाएका थिए ।
अथर्ववेदमा पनि आर्यका देवता इन्द्रलाई दासको विजेताका रूपमा चित्रित गरिएको छ । वेदमा इन्द्रले दास वर्णलाई गुफामा बस्न बाध्य पारे भनी भनिएको छ । वेदमा दासको अपेक्षा दस्युको विनाश र तिनीहरूलाई पराधीन बनाउने चर्चा धेरै छ । दस्युहरूलाई मारेर इन्द्रले आर्य वर्णको रक्षा गरेको भनिएको छ । स्तुतिहरूमा इन्द्रले आर्यको शक्ति बढाउन दस्युसँग युद्ध गरेको उल्लेख छ ।
घुमक्कड आर्यहरूको नजर शत्रुका बस्तीमा सञ्चित सम्पत्तिमा लोभिन्थ्यो र त्यो लुट्नका लागि दुवैमा निरन्तर सङ्घर्ष हुने गरेको थाहा हुन्छ । दस्युहरूलाई सम्पत्तिशाली हुँदा पनि यज्ञ नगर्ने भनिएको छ । दुइटा यस्ता दास मालिकको उल्लेख गरिएको छ जसलाई धनलोलुप मानिएको छ ।
दस्युहरूको रहनसहनको तरिकाबाट पनि आर्य उनीहरूको बैरी बने । पशुपालनमा आधारित जनजाति र अस्थायी जीवनक्रम देशीय संस्कृतिको स्थायी एवं शहरी जीवनबाट आर्य टाढा थिए । अथर्ववेदमा इन्द्रका बारेमा भनिएको छ, उनी दास र आर्यलाई विभेद गर्दै यज्ञ स्थलमा आउँथे । ऋग्वेदको सातौँ मण्डलको एउटा सम्पूर्ण सूक्त अक्रतुन, अश्रद्धान, अयज्ञान र अयज्वानः विशेषणको शृङ्खला छ । दस्युहरूलाई यज्ञ मन पर्दैन यो सिद्ध गर्नका लागि यसको प्रयोग गरिएको पाइएको छ ।
यज्ञपरायण आर्य र यज्ञविमुख दस्युहरूका बीचको अन्तर ‘अनिन्द्र’ (इन्द्रलाई नमान्ने) अर्थमा लिइएको छ । अनुमानतः यसबाट दस्यु, दास र सम्भवतः केही फरक मतावलम्बी आर्यको बोध हुन्छ । ‘अङ्गिरस’ मुनिसँग एउटा परम शक्तिशाली रक्षाकवच (जन्तर) थियो जसबाट उनले दस्युहरूको किल्ला ध्वस्त पार्न सक्दथे भन्ने गरिन्छ ।
ऋग्वैदिक युगमा आर्यहरूले जुन लडाइँ लडेका थिए सोही कारण अथर्ववेदमा दस्युहरूलाई दुष्टात्माका रूपमा चित्रित गरिएको छ । अथर्ववेदमा ईश्वरका निन्दक दस्युहरूलाई बलिवेदीमा चढाउनु पर्छ भनिएको छ ।
आर्य र दस्युको रहनसहनमा जुन फरक छ त्यसबाट दस्युको आर्यप्रति र आर्यको दस्युप्रति कस्तो दृष्टि थियो भन्ने थाहा हुन्छ । व्रत र व्रात जसको अर्थ जनजातीय दल या समूह हुन्छ । व्रत शब्दको अर्थ जनजातीय कानुनको प्रथा पनि हो भने दासका लागि यस किसिमको विशेषण प्रयोग भएको छैन । यसबाट थाहा हुन्छ दास दस्युहरूको अपेक्षा आर्यले रीतिथिति धेरै मन पराउँदथे ।
आर्य, जसलाई मानव (मानुषी प्रजा) भनिन्थ्यो र अग्नि वैश्वानरको पूजा गर्दथे । कहिलेकाहीँ यिनले कालो रङ भएका मानिस (असिक्नीविशः) का बस्तीमा आगो लगाइदिन्थे र ती मानिस सङ्घर्ष नगरेर आफ्नो सर्वस्व छाडेर भाग्दथे । इन्द्रको एउटा वीरतापूर्ण कार्य जसको केही ऐतिहासिक आधार हुन सक्छ, कृष्ण नामक योद्धासँग उनको युद्ध भएछ । यसो भनिएको छ, जब कृष्णले आफ्ना दस हजार सैनिकका साथ अंशुमती या यमुनामा शिविर राखे तब इन्द्रले मरुत (आर्यविश) लाई सङ्गठित गरे र पुरोहित देव बृहस्पतिको सहायताले अदेवीः विशः का साथ युद्ध गरे । अदेवीः विशः को अर्थ सायणले कालो रङको असुर भनेको छ (कृष्णरूपाः असुरसेनाः) । यसै गरी इन्द्रद्वारा कृष्णयोनीः दासीः को विनाशको पनि उल्लेख छ । सायणको उर्वर कल्पनाले उनलाई निकृष्ट जातिको आसुरी सेना (निकृष्ट जातिः...आसुरीसेनाः) मानेको छ तर विल्सन कृष्णलाई श्याम वर्णको द्योतक मान्दछन् ।
यदि विल्सनको अर्थ सत्य मान्ने हो भने त दास कालो रङका हुन्थे स्पष्ट हुन्छ । अग्नि र सोमका उपासक आर्यले भारतका काला मानिससँग युद्ध गर्नु परेको प्रस्ट हुन्छ । ऋग्देवमा एउटा प्रसङ्ग छ जसमा ‘पुरुकुत्स’ को छोरा ‘त्रसदस्यु’ नामक वैदिक योद्धा कालो रङका मानिसको नेताका रूपमा वर्णित छन् ।
आफ्नो विस्तारको आरम्भिक अवस्थामा आर्यलाई जीविकोपार्जनका लागि पशुधनको आकाङ्क्षा रहन्थ्यो । यस कारण स्वभावतः उनीहरूले नगर जीवन र सङ्गठित कृषिको महत्त्व बुझे । आर्य आउनुभन्दा पहिलेका नगर बस्ती पूर्णतः ध्वस्त भएको थाहा हुन्छ । युद्धमा शत्रुहरूबाट अपहरित वस्तु खासगरी पाल्तु जनावरका कारण सरदार र पुरोहितको शक्ति बढ्यो होला र ती ‘विश’ बाट माथि उठे होलान् । ऋग्वेदको एक ठाउँमा इन्द्र र वरुणले सुदासका विरोधी दास र आर्यको संहार गरेर उनको रक्षा गरे भनिएको छ । सज्जन र धर्मपरायण मानिसका तर्फबाट दुइटा मुख्य ऋग्वैदिक देवता अग्नि र इन्द्रसँग प्रार्थना गरिएको छ । तिनीहरूले आर्य र दासका दुष्टतापूर्ण कार्य र अत्याचारको शमन गरे । आर्य स्वयम् मानव जातिका मुख्य शत्रु थिए अतः आश्चर्य मान्नु पर्दैन इन्द्रले दासका साथसाथै आर्यको पनि विनाश गरेका होलान् ।
विल्सनले ऋग्वेदको एउटा परिच्छेदको गरेको अनुवादलाई स्वीकार गर्ने हो भने त त्यसमा इन्द्रको धेरै प्रशंसा गरिएको छ । किनभने उनले सप्तसिन्धुको किनारमा राक्षस र आर्यबाट मानिसको रक्षा गरेका थिए ।
ऋग्वेदमा आर्य शब्दको प्रयोग ३५ पटक भएको छ । जसमध्ये नौ ठाउँमा आर्यबिच मतभेद रहेको भनिएको छ । आर्यको आपसी सङ्घर्षमा दास स्वभावतः आर्यका मित्र र सहयोगी थिए । यस कारण आर्य समाजको जनजातीय आधार विस्तारै क्षीण हुन थाल्यो र आर्य तथा दास विलयनको क्रियाले मान्यता पायो । गेल्डनरका अनुसार ऋग्वेद, मन्डल ७ को ३३ सौँ सूक्त जसमा दासराज्ञ युद्धको चर्चा गरिएको छ, प्रारभिक युगसँग सम्बन्धित थियो ।
युद्ध मुख्यतः ऋग्वेदकालीन आर्यको दुई मुख्य शाखा ‘पुरु’ र ‘भरत’ बिचमा भयो । जसमा आर्येत्तर मानिस पनि सहायकका रूपमा सहभागी भए होलान् । ऋग्वेदका सुविख्यात नायक सुदास भरतका नेता थिए र पुरोहित वसिष्ठ उनका सहायक थिए । यस युद्धमा आर्यका ससाना जनजातिले आफ्नो अलग अस्तित्व बनाइराख्न स्मरणीय र अतुलनीय प्रयास गरेको प्रतीत हुन्छ तर सुदासको नेतृत्वमा भरतले परुष्वि (रावी) को किनारमा उनीहरूलाई पूर्ण रूपले हराए । पराजित आर्यहरूलाई कस्तो व्यवहार गरियो यसको कुनै सङ्केत पाइँदैन तर उनीहरूलाई पनि त्यस्तै व्यवहार गरियो होला जस्तो आर्येत्तर मानिसलाई गरिएको थियो, अनुमान त्यस्तै छ ।
पणिहरूमा विख्यात मानिसप्रति सामान्यः शत्रुतापूर्ण भाव वेदमा प्रशस्त देख्न पाइन्छ । म्युरले उनीहरूलाई कन्जुस भनेका छन् । वैदिक इन्डेक्सका प्रणेताहरूका अनुसार ऋग्वेदमा ‘पणि’ शब्द त्यस व्यक्तिको द्योतक हो जो सम्पत्तिशाली छ तर न त ईश्वरलाई हव्य अर्पित गर्दछ, न पुरोहितलाई नै दक्षिणा दिन्छ । फलस्वरूप संहिताका रचयिताको घृणापात्र बन्न पुग्छ । एउटा अनुच्छेदमा उनीहरूलाई ‘बेकनाट’ या सूददोर भनिएको छ । जसलाई इन्द्रले पराजित गरेका थिए ।
जुन परिच्छेदमा पणिलाई कन्जुस भनिएको छ र साधारणतः अनुदार व्यक्तिको निन्दा गरिएको छ, त्यसमध्ये केही लोभी पुरोहितहरूको इशारामा लेखिएको जस्तो लाग्छ तर यसबाट सामान्यतया थाहा हुन्छ आफ्ना बान्धवलाई मारेर पनि सम्पत्ति जम्मा गर्ने प्रवृत्ति केही आर्यमा पाइन्थ्यो । यस्ता मानिससँग कस्तो अपेक्षा गरिन्थ्यो भने तिनीहरूले सङ्ग्रह गरेको सम्पत्तिबाट इन्द्र तथा अन्य देवताको यज्ञमा धनराशि अर्पित गरिनु पर्छ । जसबाट यस धनमा पुनः अरूको पनि केही भाग लाग्न सकोस् र जनसमुदायले बारम्बार सहभोजको अवसर पाऊन् तर लुटको धनको धेरैजसो अंश जब तिनीहरू आफूसँग राख्न थाले तब आर्थिक र सामाजिक विषमताको जन्म भयो । आर्यको अन्य जनजातिसँग अन्तरजनजातीय सङ्घर्षका कारण समाज विशृङ्खल हुँदै गयो र जसै जसै पशुपालनको अपेक्षा कृषि फस्टाउँदै गयो सामाजिक वर्गको स्थापना भयो ।
हडप्पा समुदायको सहरी आवादीमा जुन आर्थिक विषमता थियो त्यो लगभग वर्गभेद जस्तो थियो, यसमा शङ्का छैन । हडप्पाको सहरी आवादीको विकास नजिकको गाउँका किसानका अतिरिक्त कृषि उत्पादनको आपूर्तिबिना हुन सक्दैनथ्यो, यो मान्नु युक्तिसङ्गत हुने छ । सिन्धुघाटीको राजनीतिक स्वरूप सुमेरको राजनीतिक स्वरूप जस्तो मानिएको छ । जहाँ पुरोहित राजा आज्ञाशील प्रजामा सुगठित कर्मचारीका माध्यमले शासन चलाउँथे । गङ्गाघाटीमा आर्य जसै जसै पूर्वतर्फ बढ्दै गए सम्भवतः लामा हतियार राख्ने मानिससँग उनीहरूले मुकाबिला गर्नुपर्यो । जो त्यस क्षेत्रका प्राचीन निवासी थिए ।
ऋग्वेदमा रथमा जाँदै गरेको एउटा यजमानलाई ‘धनवान्, दाता र सभाहरूमा संस्तुत’ का रूपमा चित्रित गरिएको छ । आर्यले पहिले बस्ती र दस्यु जस्ता मानिसको विनाश निकै धेरै गरेका कारण नयाँ समाजमा आर्यमा विलयन हेतु एकदम थोरै मानिस बचेका थिए होला । बाँचेका मानिसले दासता स्वीकार गर्नु पर्यो होला । त्यस्तै आर्य पुरोहित र योद्धाहरूको प्रवृत्ति प्राचीन समाजको उच्च वर्गसँग मिल्ने थियो होला । यसबाट यस्तो अनुमान अवश्य लगाउन सकिन्छ केही दस्युलाई आर्यको हैसियत दिइयो । शत्रुको बचेका पुरोहित र प्रमुखलाई आर्यको नयाँ समाजमा उपयुक्त स्थान (सम्भवतः निम्नतर कोटिको) दिइयो होला । किनभने ब्राह्मणवादलाई आर्य आर्यावर्त आउनुभन्दा पहिलेको संस्था भनिएको छ ।
–युवामञ्च