• १४ वैशाख २०८१, शुक्रबार

वीर अस्पताललाई उपकरण हस्तान्तरण

blog

वीर अस्पताललाई उपकरण हस्तान्तरण गरिँदै । तस्बिर : गोरखापत्र

काठमाडौँ, वैशाख २८ गते । ईश्वर मन्दिरले वीर अस्पताललाई चिकित्साजन्य उपकरण हस्तान्तरण गरेको छ । संस्थाले दुई थान ईलेक्ट्रोलाइट एनालाइजर उपकरण उपलब्ध गराएको हो ।उपकरण हस्तान्तरण समारोहमा संस्थाका संरक्षक तथा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले विरामीको ठूलो चाप धान्दै आएको मुलुकको ऐतिहासिक अस्पताललाई उपचार सेवामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

कोइरालाले शिक्षा क्षेत्रमा क्रियाशील संस्था स्वास्थ्य सेवामा पनि जोडिन पाउँदा खुसी लागेको बताउनुभयो । अस्पतालका कार्यकारी निर्देशक डा. भूपेन्द्र बस्नेतले वीर अस्पतालमा उपचार गर्न आउने अधिकांश विपन्न वर्गका जनता हुने भएकाले यस्ता उपकरणको सहयोगले उपचार सेवा थप प्रभावकारी हुने बताउनुभयो । उपकरणको अभावमा धेरै रोगीको ज्यान जाने गरेको दृष्टान्त दिँदै निर्देशक बस्नेतले उपकरण उपलब्ध गराउने दाताप्रति आभार प्रकट गर्नुभयो । 

संस्थाका अध्यक्ष प्रमेश केसीले देशकै प्रतिष्ठा बोकेको पुरानो अस्पताललाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उपकरण अस्ट्रेलिया रहेका नेपालीहरुको साझा संस्था अम्याजिङ प्यारेन्टसले उपलब्ध गराएको हो । सो संस्था बालबालिका बहुआयामिक विकासका क्षेत्रमा कार्यरत छ ।