• १ असोज २०८१, मङ्गलबार

संविधानले स्थानीय तहलाई सरकारको अधिकार दिएको छ : भीमप्रसाद ढुंगाना

blog

नेपाल नगरपालिका संघका अध्यक्ष एवम् धादिङको निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुङ्गाना ।

काठमाडौं, असोज १ गते।  नेपाल नगरपालिका संघका अध्यक्ष एवम् धादिङको निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुङ्गानाले नेपालको संविधानले स्थानीय तहलाई सरकारको अधिकार दिएको बताउनुभएको छ।  संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा गोरखपत्र अनलाइनको ‘संविधान बहस’मा कुराकानी गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।  उहाँले भन्नुभयो, ‘संघीयतामा तीन तह भएका मुलुक दुई दर्जन बढी छन्।  तर यसरी संविधानमै अधिकार सरकारको रुपमा दिएको भनेको नेपालमा हो।  हामीले यसलाई स्वीकार गर्नुपर्छ।  स्थानीय तहका लागि संविधान राम्रो छ। ’ उहाँले एकल रुपमा संविधानले स्थानीय तहलाई २२ वटा अधिकार दिएकाले संविधानका पक्ष राम्रो भएको तर संघ र प्रदेशले हस्तक्षेपकारी नीति लिएकाले कार्यान्वयनमा जटिलता आएको बताउनुभएको छ।  

पञ्चायत अवधिदेखि नै जनप्रतिनिधि बन्नुभएका भीमप्रसाद ढुंगानाको जन्म २०२३ साल साउन २४ गते धादिङमा भएको हो।  उहाँको राजनीतिक यात्रा विद्यालय तहदेखि नै तय भएको हो।  उहाँ कक्षा ७ मा पढ्दा नेपाल विद्यार्थी संघ धादिङ जिल्ला कमिटी सदस्य बन्नुभयो।  २०३९ सालमा कक्षा ९ मा पढ्दा उहाँ नेपाल विद्यार्थी संघ जिल्ला कमिटी अध्यक्ष बन्नुभयो।  २०३९ देखि २०५३ सालसम्म १४ वर्षसम्म नेपाल विद्यार्थी संघको जिल्ला कमिटी अध्यक्ष बन्नुभएका ढुंगाना त्यो अवधिमा पटकपटक जेल पर्नुभयो।  

२०४२ सालमा हिरासतबाट छुटेपछि उहाँले नेपाल ल क्याम्पसबाट कानुनको अध्ययन गर्नुभयो।  उहाँ पढ्दै जिल्लाको राजनीतिमा सक्रिय हुनुभयो।  २०४३ सालमा धादिङको तत्कालीन मुरलीभनज्याङ गाउँ पञ्चायत सदस्य निर्वाचित भएर पहिलो पटक जनप्रतिनिधि बन्नुभयो।  २०४६ सालको आन्दोलनको सफलतापछि उहाँ नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्नुभयो।  उहाँ २०४९ र २०५४ सालमा दुई कर्यकाल मुरलीभञ्ज्याङ गाविसको अध्यक्ष बन्नुभयो।  

२०५४ सालमा नेपाली कांग्रेसको  क्षेत्रीय सभापति हुनुभएका ढुंगानाले २०५५ देखि २०७४ सम्म गाविस राष्ट्रिय महासंघका केन्द्रीय महासचिव बनेर काम गर्नुभयो।  २०७४ सालमा धादिङको निलकण्ठ नगरपालिकाको नगर प्रमुख निर्वाचित भएपछि उहाँ ०७४ देखि २०७९ सम्म नगरपालिका संघको महासचिव निर्वाचित हुनुभयो।  २०७९ मा दोस्रो कार्यकालका लागि निलकण्ठ नगर प्रमुख निर्वाचित  उहाँ त्यसपछि नगरपालिका संघको अध्यक्ष हुनुहुन्छ। 

प्रस्तुत छ– संविधान कार्यान्वयनमा स्थानीय तहको भूमिकाको विषयमा केन्द्रित भएर  नेपाल नगरपालिका संघका अध्यक्ष एवम् धादिङको निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुङ्गानासँग गोरखापत्र अनलाइनका लागि दिनेश लुइटेल, नरेन्द्र सापकोटा र मनोजरत्न शाहीले तयार पार्नुभएको भिडियो कुराकानीः