• १ असोज २०८१, मङ्गलबार

संविधान बहस

व्याख्याले संविधान पूर्ण बन्छ : संविधानविद् काशीराज दाहाल

blog

संविधान एवम् प्रशानविद् काशीराज दाहाल ।

काठमाडौँ, असोज १ गते।  संविधानविद् काशीराज दाहालले व्याख्यामार्फत संविधानलाई पूर्णता दिन सकिने बताउनुभएको छ।  संविधान तथा राष्ट्रिय दिवसको अवसरमा गोरखापत्रको ‘संविधान बहस’मा कुराकानी गर्नुहुँदै संविधान एवम् प्रशासनविद् दाहालले यस्तो बताउनुभएको हो।  उहाँले भन्नुभयो, ‘कुनै संविधान पूर्ण हुँदैन त्यसलाई व्याख्या गरेर पूर्णता दिन सकिन्छ।’ उहाँले संविधान जारी भएको एक दशक हुँदा संविधान पालनाको संस्कारको विकास हुन नसकेको टिप्पणीसमेत गर्नुभएको छ।  ‘‘संविधानमा धेरै कुरा लेखिए तर त्यसको पालना गर्ने संस्कार र संस्कृतिको विकास अझैसम्म हुन सकेका छैनन्’’, दाहालले भन्नुभयो।   

समानुपातिक निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनु हुँदै संविधानविद् दाहालले  संवैधानिक परिषद्, न्याय परिषद् र राष्ट्रिय सभालाई प्रभावकारी बनाउने किसिमका थप कुरा संविधानमा राख्नुपर्नेमा जोड दिनुभएको छ।  कतिपय कानुन एकात्मक सोचले बनेकाले त्यसमाथि अध्ययन गरेर पुनर्लेखन गर्नुपर्ने उहाँको भनाइ छ।  

पूर्व सचिव, संविधान तथा प्रशासन विज्ञ काशिराज दाहाल २०१५ साल पुस ७ गते उदयपुरमा जन्मनुभएको हो।  प्रशासनिक अदालत, उच्चस्तरीय प्रशासन सुधार अनुगमन आयोगको अध्यक्ष बनेर काम गर्नुभएका दाहालसँग नेपालको कानुन निर्माण र प्रशासन सुधारको क्षेत्रमा विज्ञका रुपमा काम गरेको लामो अनुभव छ।  


उच्चस्तरीय सङ्घीय प्रशासनिक पुनःसंरचना समिति,  उच्चस्तरीय प्रशासनिक सुधार आयोग, उच्चस्तरीय मिडिया नीति कार्यान्वयन समितिको अध्यक्ष बनेर काम गर्नुभएका दाहालसँग पूर्वसचिव बनेर राज्यको सेवा गरेको अनुभव छ।  श्रमजीवी पत्रकार ऐन विधेयक मस्यौदा समिति र सूचनाको हक ऐन विधेयक मस्यौदा समितिको संयोजक बन्नुभएका दाहालसँग सर्वोच्च अदालतको प्रवक्ता भएर काम गरेको अनुभवसमेत छ।  उहाँ २०५५ सालमा सर्वोच्च अदालतको प्रवक्ता हुनुहुन्थ्यो। 

मिडिया कानुन प्रस्ताव समितिको संयोजक बन्नुभएका दाहालले अदालतको पुनःसंरचना सिफारिस समितिको प्रमुख बनेर काम गर्नुभएको छ।  अदालत, प्रशासन र मिडिया कानुनका क्षेत्रमा विशेष दखलता राख्नुहुने दाहालले लामो समयदेखि प्रशिक्षण र प्राध्यापनसमेत गर्दै आउनुभएको छ।  

संविधानविद् दाहालका संवैधानिक संस्कृति, संवैधानिक कानुन, मानव अधिकार न्यायशास्त्र, प्रेस न्यायशास्त्र, नेपाल अधिराज्यको संविधानमा टिप्पणी, औद्योगिक न्यायशास्त्र, आपराधिक न्यायशास्त्र, आम–सञ्चार मिडिया र कानुन, पत्रकार आचारसंहिता, जनसङ्ख्या कानुन, सूचनाको हक सिद्धान्त र अभ्यास, संवैधानिक लोकतन्त्र, संविधान सभा र संवैधानिक विकास, महिला तथा बाल अधिकारजस्ता महत्त्वपूर्ण पुस्तक प्रकाशित छन्।  उहाँले कानुन र प्रशासनको क्षेत्रमा गर्नुभएको कामको सम्मान स्वरुप विभिन्न पदक र अलङ्कार पाउनुभएको छ। प्रस्तुत छ– संविधान तथा राष्ट्रिय दिवसको अवसरमा गोरखापत्रको ‘संविधान बहस’ मा संविधान एवम् प्रशानविद् काशीराज दाहालसँग गोरखापत्र अनलाइनका लागि दिनेश लुइटेल, मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो कुराकानी :