• १ असोज २०८१, मङ्गलबार

मिथिलामा आज एकैदिन दुई पर्व मनाइँँदै

blog

महोत्तरी,  असोज १ गते ।  मधेस प्रदेशका मिथिला क्षेत्रमा आज एकसाथ दुई पर्व मनाइँदैछ । सौरमासको असोज सङ्क्रान्तिका दिन मनाइने ज्यावलका देवता विश्वकर्मा पूजा र चन्द्रमासको भदौ शुक्ल चतुर्दशीका दिन मनाइने अनन्त चतुर्दशी पर्व आज एकैदिन परेको हो ।

हिन्दू परम्परामा विश्वकर्मा ज्यावलका देवता मानिन्छन् । पर्वका अवसरमा ससाना मेसिनरी सामानदेखि ठुल्ठूला यान्त्रिक उपकरणका धनीले विश्वकर्मा देवताको पूजाआराधना गर्ने परम्परा छ । यस अवसरमा कैयन् ठाउँमा मेला आयोजना गरी नाचगानसहित सांस्कृतिक उत्सव गरिन्छ । आज मेसिनरी पार्टपुर्जाका व्यापारिक प्रतिष्ठानमा कामदारलाई मिष्ठान्न भोजन गराउने, लाभांश दिने र तलब वृद्धि गरिदिने चलन छ ।

आजको दिन मेसिनरी पार्टस्, यान्त्रिक उपकरण र कृषि ज्यावल धोइपखाली तिनको पूजा गर्ने चलन छ । आज विश्वकर्मा देवताको पूजाआराधना गर्दा ज्यावल बढी टिकाउ हुने, राम्रो कमाइ दिने र कारोबारमा सफलता मिल्ने विश्वास गरिन्छ ।

त्यसैगरी भदौ शुक्लपक्षको चतुर्दशीका दिन मनाइने मैथिल परम्पराको अनन्त चतुर्दशी पर्व पनि आजै परेको छ । यस दिन गुरु, पुरोहितका हातबाट अनन्त डोरा बाँध्दै हिन्दू मैथिल समुदायले अनन्त चतुर्दशी पर्व मनाउँदैछन् । गुरु, पुरोहितले शास्त्रोक्त विधिले अभिमन्त्रित गरेका डोरा (धागो) बाँध्दै मिथिलामा अनन्त चतुर्दशी पर्व मनाइरहेका छन् ।

भगवान् विष्णुको रूप मानिने अनन्त भगवानकाे पूजाआराधना गरी  प्रसादस्वरुप गुरु, पुरोहितका हातबाट कलात्मक ढङ्गबाट बाटिएको ‘अनन्त डोरा’ बाँध्ने मिथिला परम्परा छ । पर्वविशेषमा अनन्तको पूजा गर्दा पुरोहितबाट अभिमन्त्रित १४ सूत्रको बाटिएको धागो चढाइने र त्यही धागो दाहिने हातको पाखुरामा बाँधिने गरिन्छ । अभिमन्त्रित धागोलाई ‘अनन्त डोरा’ भनिन्छ ।

यस पर्वमा एक दिनअघि चोखोनितो रही भदौ शुक्लपक्ष चतुर्दशीका दिन बिहान अनन्त भगवानकाे पूजाआराधना गरेर ब्राह्मण पुरोहितको हातबाट ‘अनन्तडोरा’ बाँधेपछि यो पर्व सम्पन्न गरिने मिथिला परम्परा छ ।  पुरोहितको हातबाट बाँधिएको ‘अनन्तडोरा’ले आपत् विपत्तिबाट रक्षा गर्ने, आरोग्य र  सुख, समृद्धि प्राप्त हुने मैथिल जनविश्वास रहेको महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ ।

आजै चतुर्दशी तिथि सकिएर पूर्णिमा सुरु हुने भए पनि तिथिको भोगले भदौ पूर्णिमाका दिन मनाइने इन्द्र पूजनोत्सव भने भोलि बुधबार मनाइनेछ । हिन्दू परम्परामा इन्द्रलाई सहकालका देवता मानिन्छ । इन्द्रको पूजाआराधनाले अनिकाल नपर्ने र सन्तुलित वर्षा हुने मैथिल जनविश्वास छ । इन्द्र पूजनोत्सवका लागि महोत्तरीका बस्तीपिच्छे मूर्ति स्थापना गरेर हर्ष र उमङ्गका बीच मेला आयोजना गरिएकाे छ । भदौ पूर्णिमालाई मिथिलामा इन्द्र पूर्णिमा पनि भन्ने गरिएको छ । रासस