• १ असोज २०८१, मङ्गलबार

ट्रमा सेन्टर निर्माणले गति लिँदै

blog

घोराही समाचारदाता

घोराही, असोज १ गते । दाङको लमहीमा ट्रमा सेन्टर निर्माणको कामले पछिल्लो समय गति लिएको छ । जग्गाको स्वामित्व तथा निर्माण स्थलमा भएका रुख हटाउनेसम्बन्धी भएका विवादका कारण लामो समयसम्म काममा ढिलाइ भएको थियो । 

सम्झौता अनुसार निर्माण कम्पनीले समयमै काम गर्न नसक्दा निर्माण सक्नुपर्ने अवधिमा ४० प्रतिशत मात्र काम गरेको थियो । लुम्बिनी प्रदेश सरकारको गौरवका आयोजनाका रूपमा रहेको ट्रमा सेन्टर २०८० असार २३ गतेभित्र निर्माण सक्र्ने गरी २०७७ फागुन २८ गते लामा एन्ड गौरी शङ्कर हिमालयन कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग ठेक्का सम्झौता भएको थियो । सहरी विकास तथा भवन कार्यालय दाङका सूचना अधिकारी प्रेमप्रकाश खड्काले निर्माण कम्पनीले पछिल्लो समय भौतिक प्रगति देखिने गरी काम गरेको जानकारी दिनुभएको छ । 

पूर्वपश्चिम राजमार्ग केन्द्रित दुर्घटनाका घाइतेको उपचारमा सहजता ल्याउने गरी लमही नगरपालिका–४ मा निर्माण हुन थालेको ५० शय्याको ट्रमा सेन्टर निर्माणको अहिलेसम्म करिब ७२ प्रतिशत भौतिक प्रगति सकेको सूचना अधिकारी खड्काले बताउनुभयो । निर्माणका क्रममा कुनै प्राविधिक समस्या नदेखिए म्याद थप भएको २०८१ चैत मसान्तभित्र काम सक्ने अवस्था देखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार ट्रमा सेन्टरको अब केही प्लास्टर गर्नेसँगै भवनमा टायल लगाउने, विद्युत् जडान र प्लम्बिङको काम मात्र बाँकी छ ।

ट्रमा सेन्टरको भवन निर्माणका लागि भ्याटबाहेक १९ करोड ४१ लाख चार हजार १४ रुपियाँमा २०७७ साल चैत २४ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माणका लागि जग्गा खाली गराउने, त्यसपछि कोरोना सङ्क्रमण र निर्माण स्थलमा भएका रुख डिभिजन वन कार्यालयले व्यवस्थापनमा ढिलाइ गर्दा निर्माणको काम सुस्त भएको निर्माण कम्पनीका प्रतिनिधि आइतसिंह तामाङले बताउनुभयो ।  

उहाँका अनुसार चार तलाको ट्रमा सेन्टर निर्माणको काम सकिएपछि डाक्टर क्वाटर, नर्सिङ क्वाटर, चमेनागृहसहित शौचालय निर्माणको काम हुने छ । निर्माण कम्पनीका प्रतिनिधि तामाङले भन्नुभयो, “अबको सात महिनाभित्र ट्रमा सेन्टरको सम्पूर्ण काम सकेर हस्तान्तरण गर्ने गरी निर्माणको काम भइरहेको छ । त्यसका लागि बजेट अभाव हुनुभएन ।” 

ट्रमा सेन्टर निर्माणका लागि गत चैत महिनादेखिको पैसा पाउन नसकेको निर्माण कम्पनीका प्रतिनिधि तामाङले बताउनुभयो । करिब २२ कट्ठा जग्गामा प्रदेश ट्रमा सेन्टर निर्माणको काम भइरहेको छ । उक्त जग्गा वन क्षेत्रमा पर्ने भन्दै ट्रमा सेन्टर निर्माणको काम अघि बढ्न नसकेपछि प्रदेश सरकारले वनको नाममा रहेको जग्गा प्रदेश सरकारको नाममा भोगाधिकार प्राप्तिको प्रक्रिया थालेपछि निर्माणको काम सुरु भएको थियो । 

ट्रमा सेन्टर निर्माण भएपछि हाडजोर्नी विशेषज्ञ डाक्टर, न्युरो सर्जन, जनरल सर्जन, एनेस्थेसियासहित नर्सिङ र पारामेडिक्स टिम कार्यरत रहने व्यवस्था गरिएको छ । ट्रमा सेन्टर निर्माणका लागि हालसम्म ११ करोड ७३ लाख ६६ हजार ६६१ रुपियाँ खर्च भएको सहरी विकास तथा भवन कार्यालय दाङका सूचना अधिकारी खड्काले जानकारी दिनुभएको छ । ट्रमा सेन्टर निर्माणको काम २०७८ वैशाख १ गतेदेखि सुरु भएको थियो ।