• ३० असोज २०८१, बुधबार

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

blog

समिति सभापति सूर्यबहादुर थापा क्षेत्री सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्नुहुँदै ।

काठमाडौँ, भदौ ३१ गते । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकका समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१ पेस गर्नुभएको हो ।

विभिन्न सहकारीहरूको बचत रकम अपचलन भएको भन्दै सो को छानबिन गर्नका लागि भन्दै प्रतिनिधि सभाले थापाको संयोजकत्वमा २०८१ जेठ १५ गते ७ सदस्यीय छानबिन विशेष समिति गठन गरेको थियो ।

प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सभापति थापाले पार्टीभन्दा माथि उठेर छानबिन गरेको बताउनुभयो । उहाँले छानबिन समितिमा रहेका पाँच पार्टीहरू एकैतिर फर्किएर छानबिन गरिएको बताउनुभयो ।

उहाँले समितिले ६६ वटा बैठक गरेको र विभिन्न ४५१ जना व्यक्तिहरूसँग सुझावमूलक जानकारी र अन्तरक्रिया गरेको जानकारी दिनुभयो । सहकारी ठगीको आरोपित ४७ जना सहकारी सञ्चालक, गोर्खा मिडिया नेटवर्क प्रा.लि.का सञ्चालक तथा कर्मचारी समेत तीन जना र नियामक निकायका पाँच जना गरी जम्मा ५५ जनासँग सोधपुछ गरेका गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिवेदन सभामा पेस भएसँगै सभामुख देवराज घिमिरेले प्रतिवेदनको आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘‘सभामा प्रस्तुत सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१ आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन म सचिवालयलाई निर्देश गर्दछु ।’’