• ११ जेठ २०८१, शुक्रबार

बाजुरामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

blog

शेरबहादुर सार्की
बाजुरा, वैशाख २८ गते ।
जिल्ला प्रशासन कार्यालय बाजुराले चुनावको समयलाई मध्यनजर गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।

जिप्रकाले वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै वैशाख २९ देखि ३० गतेसम्म एम्बुलेन्सलगायतका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा बन्द गर्ने  भएको हो ।

एम्बुलेन्स, दम्कल, दूरञ्चार, स्वास्थ्य सेवा, विद्युतीय सेवा जस्ता अत्यावश्य सवारी साधान बाहेकका अन्य सबै यतायताका साधान बन्द हुने जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

निर्वाचनको समाचार सङ्कलनमा जाने मानव अधिकारले आफ्नो सवारी साधानको बुलुबुक लाइसेन्स र गाडी नम्बरका लागि मानव अधिकारकर्मीले निर्वाचन कार्यालय सिफारिस गर्नुपर्ने छ । साथै सञ्चारकर्मीले पत्रकार महासङ्घबाट अनुमति लिइ सवारी साधान सञ्चालन गर्न पाउने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख उपेन्द्रराज पौड्यालले बताउनुभयो ।

मतदाता परिचयपत्र वितरण
बाजुराका ७० वटा मतदान स्थलबाट बुधबार र बिहीबार गरेर तेह्र हजार ७०२ नयाँ मतदाता परिचय पत्र वितरण गर्ने भएको छ ।

निर्वाचन टोलीले आज र भोलि मतदाता परिचयपत्र वितरण गर्नुका साथै मतदातालाई भोट हाल्ने तरिका सिकाउने गरी मतदाता शिक्षा दिने भएका छन् ।

निर्वाचन आयोगले निर्देशन गरेसँगै जिल्ला निर्वाचन कार्यालय बाजुराले पनि सबै पालिकाका निर्वाचन टोली खटाएर सोही अनुसार मतदाता परिचय पत्र वितरण गर्ने भएका हुन् ।

आयोगले नमुना मतपत्रलगायत पोस्टर, ब्रोसर आदी छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएसँगै बाजुरामा पनि नौ वटै स्थानीय तहमा सो कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालयलाई यस अधि नै पत्राचार गरेको थियो ।

आज र भोलि सबै मतदातालाई मतदान गर्ने तरिका सिकाउने र मतदातालाई मतदाता शिक्षासम्बन्धी जानकारी दिने छ । शुक्रबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान गर्न जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमखु नवराज अवस्थीले बताउनुभयो ।

मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिएर जानुपर्नेछ ।