• १ असोज २०८१, मङ्गलबार

घरमा खेलिरहेकी बालिका बेपत्ता, बाघले लगेको आशङ्का

blog

गजेन्द्र गुरुङ

खजुरा, भदौ ३१ । बाँकेमा एक बालिका बेपत्ता हुनुभएको छ । घरको आँगनमा खेलिरहेकी बालिका बेपत्ता हुनुभएको हो । बालिकालाई जङ्गली जनावरले लगेको आशङ्का गरिएको छ ।

जिल्लाको खजुरा गाउँपालिका वडा नं. ६ सिमलघारीका वीरेन्द्र पुनकी अन्दाजी ३ वर्षीया छोरी लक्ष्मी पुनलाई बाघले लगेको हुन सक्ने आशङ्का गरिएको छ । 

बालिका पुन आइतबार राति आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जानकारी दिनुभयो । सूचना अधिकारी बुढामगरका अनुसार आइतबार राति अन्दाजी ८ बजेको समयसम्म घरको आँगनमा खेलिरहेकी बालिका त्यसपछि बेपत्ता हुनुभएको थियो ।

उहाँका अनुसार बालिकालाई उहाँका अभिभावकले नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । घरको नजिकै सामुदायिक वन रहेको र उक्त वनमा बाघलगायतका जङ्गली जनावर देखिने गरेकाले बालिकालाई कुनै जङ्गली जनावरले लगेको हुन सक्ने आशङ्का गरिएको उहाँले जानकारी दिनुभयो ।