• २१ पुस २०८१, आइतबार

पलेशालाई पोखरामा सम्मान, प्रदेश सरकारले मासिक भत्ता दिने

blog

गण्डकी प्रदेश तेक्वान्दो सङ्घले आयोजना गरेको कार्यक्रममा खेलाडी पलेशा गोवर्धनलाई सम्मान गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्बिर : फडिन्द्र अधिकारी/गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, भदौ ३० गते । पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाउने तेक्वान्दो खेलाडी पलेशा गोवर्धन गण्डकी प्रदेशको राजधानी पोखरामा नगदसहित सम्मानित हुनुभएको छ । आइतबार पोखरामा भएको कार्यक्रममा गण्डकी प्रदेश सरकारले उहाँलाई नगद एक लाख ५० हजारसहित सम्मान गरेको हो ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उहाँलाई नगद, सम्मानपत्रसहित सम्मान गर्नुभएको छ । गण्डकी सरकारले खेलाडी गोवर्धनलाई मासिक भत्तासमेत उपलब्ध गराउने भएको छ । 

मुख्यमन्त्री पाण्डेले देशलाई ऐतिहासिक पदक जिताउने गोवर्धनलाई मासिक भत्ता दिने घोषणा गरेका गर्नुभयो । प्रदेश सरकारले यसअघि ओलम्पिक खेलेका गण्डकीका नौ खेलाडीलाई मासिक भत्ता स्वरुप पाँच हजार दिँदै आएको छ । 

“गत वर्षदेखि हामीले ओलम्पिकमा भाग लिएका गण्डकीका खेलाडीलाई मासिक प्रोत्साहन सहयोग स्वरुप भत्ताको व्यवस्था गरेका छौँ,” उहाँले भन्नुभयो, “प्रदेशभित्रका खेलाडीलाई दिने भनेर गत वर्षबाट सुरु गरेको जुन मासिक भत्ता छ । भाग लिने खेलाडीलाई दिएका थियौं । पदक नै ल्याउन सफल भएकाले प्रदेशबाहिरको भएता पनि पलेशा गोवर्धनलाई दिने घोषणा गर्दछु ।”

सोही समारोहमा पोखरा महानगरपालिकाले खेलाडी गोवर्धनलाई दुई लाख २२ हजार दुई सय २२ र जिल्ला तेक्वान्दो सङ्घ कास्कीले ५० हजार एक सय ५५ रुपियाँसहित सम्मान गरे । पोखरा महानगरका प्रमुख धनराज आचार्यले उहाँलाई महानगरको तर्फबाट सम्मान गर्नुभएको हो । कार्यक्रम आयोजक गण्डकी प्रदेश तेक्वादो सङ्घका अध्यक्ष जगनबहादुर गुरुङले पनि गोबर्धनलाई संस्थाको तर्फबाट सम्मान गर्नुभएको छ । 

खेलाडी गोवर्धनले सम्मानले ऊर्जा थपिएको जनाउँदै सबैप्रति आभार प्रकट गर्नुभयो । तेक्वान्दो सजिलो खेल नभएको उल्लेख गर्दै उहाँले कडा परिश्रम, समय व्यवस्थापन र सबैको साथले सफलता हात परेको उहाँको भनाइ छ । “म सधैं सफल भएको छैन, म सुपर हिरो पनि होइन,” उहाँले भन्नुभयो, “असफलता पनि सफलताकै भाग हो । मेहनत, समय व्यवस्थापन र सबैको साथले यहाँ आइपुगेको छु ।”

पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउनुभएको थियो । काठमाडौंकी स्थायी बासिन्दा उहाँ अहिले चीनमा इन्जिनियरिङ अध्ययन गर्दै हुनुहुन्छ । कार्यक्रममा गोवर्धनसँगै उहाँका प्रशिक्षक कविराज नेगी लामा र टिम म्यानेजर रामचन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मनोरम दृश्यावलोन गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय खेल खेल्ने स्थानका रुपमा पोखरालाई विकास गर्न सकिने उल्लेख गर्नुभयो । समारोहमा पोखरा महानगर प्रमुख आचार्यले नेपालकी छोरी गोवर्धनले प्राप्त गरेको सफलताले खेल जगतमै उत्साह सञ्चार गरेको उल्लेख गर्नुभयो । भविष्यमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका खेलाडीको प्रेरणाको स्रोतको रूपमा गोवर्धन रहने विचार राख्नुभयो । 

अध्ययनसँगै खेलकुदमा लागेर देशको पहिचान बढाउनु चानचुने कुरा नभएको उहाँको भनाइ छ । प्रमुख आचार्यले भन्नुभयो, “पढाइसँगै खेलेर अन्तर्राष्टिय पदक दिलाउनु चानचुने कुरा होइन । पर्यटनको राजधानी पोखराले खेलकुदबाट पहिचान बढाउनेहरुको पनि उच्च सम्मान गरिरहनेछ ।”

गण्डकी प्रदेश तेक्वादो सङ्घले आयोजना गरेको कार्यक्रममा तेक्वान्दो सङ्घका केन्द्रीय अध्यक्ष प्रकाशशम्शेर राणा, प्रदेश तेक्वान्दो सङ्घका उपाध्यक्ष लक्ष्मी पाण्डे, महासचिव रमेश पौडेल, कास्की जिल्ला तेक्वान्दो सङ्घका सचिव दीपेन्द्र पहारी लगायतले बोल्नुभएको थियो ।