• २१ पुस २०८१, आइतबार

राष्ट्रिय सभाका समितिमा सहमति खोजी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ३० गते । राष्ट्रिय सभामा रिक्त रहेको दुई संसदीय समितिको सभापतिका लागि आइतबार मनोनयन दर्ता हुँदै छ । सभाको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा गत भदौ २३ गतेदेखि सभापति पद रिक्त छ । 

सङ्घीय संसद् सचिवालयका अनुसार दुवै समितिको सभापतिको उम्मेदवारीको प्रस्ताव दर्ता बिहान १० बजेर ३० मिनेटदेखि १२ बजेर ३० मिनेटभित्र नयाँ बानेश्वरस्थित राष्ट्रिय सभाको सचिवको कार्यकक्षमा हुने छ । सो प्रस्तावलाई सोमबार सम्बन्धित समितिको बैठकमा निर्णयार्थ प्रस्तुत हुने छ । 

नेकपा (माओवादी केन्द्र) ले विगतमा भएको सहमति अनुसार रिक्त दुई समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को दाबी रहने जनाएको छ । सभाका सदस्य एवं माओवादी केन्द्रका नेता मायाप्रसाद शर्माले राष्ट्रिय सभाका ठुला चार दलले एक एक वटा समितिको सभापति लिने विगतमा भएको सहमतिबमोजिम विधायन व्यवस्थापन समितिमा एकीकृत समाजवादी र प्रत्यायोजित विधायन समितिमा माओवादी केन्द्रको दाबी रहने बताउनुभयो । 

नेपाली कांग्रेसले समेत राष्ट्रिय सभामा विगतदेखि नै हुँदै आएको सहमतिलाई निरन्तरता दिनुपर्ने पक्षमा रहेको जनाएको छ । सभाका सदस्य कृष्णप्रसाद पौडेलले भन्नुभयो, “तर हाम्रो चाहनाले मात्र हुन्न । हामी सत्ता समीकरणमा छौँ । सत्ताको नेतृत्व एमालेले गरेको छ । एमालेले गर्ने निर्णय अनुसार सत्तापक्षीय दलबिच छलफल भएर अगाडि बढ्ने छौँ ।” राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतक भगवती न्यौपानेले सभापतिको निर्वाचनसम्बन्धमा आन्तरिक छलफल भइरहेको र आइतबार बिहानसम्म निर्णय हुने जानकारी दिनुभयो । कांग्रेसले एमालेको निर्णय पर्खेको छ । 

चार वटा समितिमध्ये नेपाली कांग्रेस र नेकपा (एमाले) ले एक एक वटा समितिको नेतृत्व गरेको छ । दुई वटा समिति रिक्त छन् । राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठुलो दल छ भने काँग्रेस दोस्रो ठुलो दल हो । नेकपा (एमाले) तेस्रो र एकीकृत समाजवादी चौथो ठुलो दल हो । 

विधायन व्यवस्थापन समितिमा भने कांग्रेसको चार, माओवादी केन्द्रको पाँच, एमालेको तीन, एकीकृत समाजवादीको दुई र जनता समाजवादी पार्टी नेपालका एक गरी १५ सदस्य छन् । सो समितिमा मतदान हुने अवस्था आए जनता समाजवादी पार्टी नेपालको मत निर्णायक हुने छ । 

प्रत्यायोजित विधायन समितिमा भने कांग्रेस र माओवादी केन्द्रका चार चार, एमाले र एकीकृत समाजवादीका दुई दुई जना सदस्य छन् । माओवादी केन्द्रबाट निर्वाचित सदस्य शर्माले भन्नुभयो, “प्रत्यायोजित विधायन समितिमा करिब करिब सहमति नै भएको छ । विधायन व्यवस्थापन समितिबारे टुङ्गो लाग्न बाँकी छ ।” प्रत्यायोजित विधायन समितिको सभापतिमा माओवादी केन्द्रले शर्मालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । शर्मा यसअघि पनि सो समितिको सभापति हुनुहुन्थ्यो ।