• १ असोज २०८१, मङ्गलबार

सांसदलाई सवाल

धवलशमशेर जबरालाई प्रश्न- सांसदको जिम्मेवारी के रहेछ ?

blog

बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य धवलशमशेर जबरा ।

काठमाडौँ, भदौ २९ गते। नेपालगञ्ज नगरका पूर्व नगर प्रमुख, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर जबराले सडक र पूर्वाधार विकासमा नेपालगञ्ज नगर काठमाडौँभन्दा राम्रो रहेको बताउनुभएको छ। दुई पटक नेपालगञ्जको नगर प्रमुख बनेपछि पहिलो पटक सांसद बन्नुभएका जबराले गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्दै  संसद्को जिम्मेवारी एकातिर र काम अर्कातिर हुँदा देश बनाउन कठिन भइरहेको बताउनुभयो। संसद् र संसदीय समिति औपचारिकतामा सीमित हुँदा नेताप्रति नै नागरिकको आक्रोश बढेको उहाँको ठहर छ।  

डा. धवल बुवा कैलाशशमशेर जबरा र आमा अम्बिका राणाको कोखबाट सन् (१९६१ मे १७) वि.सं. २०१८ साल जेठ ४ गते बुधबार साबिक नेपालगञ्ज नगरपालिका वडा नम्बर १० (हाल नेपालगञ्ज उपमहानगरपालिका-१३) मा जन्मनु भएको हो। नेपालगञ्जमा जन्मिए पनि उहाँले औपचारिक शिक्षा भारतको उत्तराखण्ड राज्यको मसुरी सहरमा लिनुभएको हो। राणा परिवारको इतिहास पल्टाउँदा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले देवशमशेरलाई देश निकाला गरेपछि उहाँको परिवार भारतको मसुरीमा बसाइँ सरेको थियो।  जन्म नेपालमा भए पनि धवलशमशेरले कक्षा १ देखि स्नातकोत्तर तहसम्मको अध्ययन भारतमै गर्नुभयो। धवलले भारतको मसुरीबाटै राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभयो भने अमेरिकाबाट नगर विकासको विषयमा विद्यावारिधि गर्नुभएको हो। उहाँ काठमाडौँ उपत्यका बुढानीलकण्ठ नगरपालिका १ मा बसोबास गर्नुहुन्छ । 

जबरा २०४७ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ। उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) युवा सङ्घ बाँके जिल्ला सचिव हुँदै औपचारिक रूपमा राजनीतिक यात्रा सुरु गर्नुभएको हो। उहाँ २०५४ सालमा एमालेमा प्रवेश गर्नुभयो। सोही वर्ष उहाँ स्थानीय निर्वाचनमा तत्कालीन नेपालगन्ज नगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभयो। पहिलो पटक २०५४ सालमा नगर प्रमुख बन्दा उहाँ ३६ वर्षको हुनुहुन्थ्यो। जबरा २०६४ सालमा एमाले छोडेर पुनः राप्रपामा प्रवेश गर्नुभयो।  २०७० सालको आम निर्वाचनमा सांसद पदको उम्मेदवार बनेर उहाँ पराजित हुनुभयो। जबरा पहिलो पटक नगर प्रमुख बनेको २० वर्षपछि फेरि २०७४ सालमा राप्रपाबाट नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभयो। उहाँलाई नेपालगञ्ज विकासको आधार तयार गर्ने नेताको रूपमा धेरैले चिन्दछन्। उहाँले दुई कार्यकालसम्म राप्रपाको बाँके जिल्ला अध्यक्ष भएरसमेत काम गर्नुभयो। उहाँ पछिल्लो समय २०७९ मा एमालेको समर्थनमा राप्रपाको तर्फबाट बाँके–२ बाट विजयी हुँदै प्रतिनिधि सभा सदस्य बन्नुभएको हो।


सांसद जबरासँग कृषि, व्यवसायसँगै भारतको विकास निर्माणसँग सम्बन्धी कम्पनीमा काम गरेको अनुभवसमेत छ। उहाँले कपास विकास समिति खजुरामा जागिरसमेत खानुभयो। राजनीतिसँगै उहाँले होटल र शिक्षा क्षेत्रलाई नेपालगञ्जमा व्यावसायिक रूपमा अगाडि बढाउनुभएको छ। उहाँलाई धेरैले सफल व्यवसायीका रूपमा चिन्ने गर्दछन्। उहाँको कृषि, व्यवसाय, राजनीतिसँगै खेलकुदका विभिन्न विधा फुटबल, हक्की, टेनिस र स्विमिङमा उत्तिकै रुचि रहेको छ। दुई कार्यकाल नेपालगञ्ज नगरको प्रमुख र पहिलो पटक २०७९ मा प्रतिनिधि सभा सदस्य विजयी जबराले अहिलेसम्म सरकारी लाभको पदमा बस्दा पाएको तलब भत्ता आफू उपयोग गर्नुभएको छैन। उहाँले तलब भत्ता बापतको रकम गरिब, दुःखी र सहयोग अपेक्षित व्यक्तिलाई प्रदान गर्दै आउनुभएको छ। 

सांसद डा. धवल राणा प्रधानमन्त्री देवशमशेरका पनाति हुनुहुन्छ। देवशमशेरका छोरा धवलशमशेरका हजुरबुवा मसुरीशमशेर भारतबाट नेपालगञ्ज आएर बस्नुभएको थियो। मसुरीशमशेरले नेपालगञ्जमा महाकाली मिल खोलेर औद्योगिक क्रान्ति गर्नुभयो। मसुरीका छोरा एवम् धवलका बुवा कैलाशलेसमेत कृषिलाई प्राथमिकता दिनुभयो। अमेरिका पढेर आउनुभएका कैलाशशमशेर नेपालको पहिलो कृषि इन्जिनियर हुनुहुन्थ्यो। 

प्रस्तुत छ- नेपालगञ्ज नगरका पूर्व प्रमुख, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर जबरासँग गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’का लागि दिनेश लुइटेल, मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो कुराकानी :