• ११ पुस २०८१, बिहिबार

देउडा गीत हिजो, आज र भोलि

blog

देउडा गीतको परिचय

नेपालका मौलिक संस्कृतिको नाम हो देउडा, ड्यौण, डेउडा । देउडा गीत बन्नका लागि गीतका दुई वटा चरण मिलाएर गाइन्छ । अति प्राचीन संस्कृति बोकेको देउडा, गीतका साथै खेल पनि हो, साथै सजिलो र मार्मिक साहित्य पनि हो । देब्रे गोडा पहिले उचालेर गीतको लय र भाका अनुसार देब्रेबाट दाहिनेतिर ढल्किँदै र गीतको लयलाई डेढ पटक उच्चारण गरी घुमिन्छ भने यस्तो विधि र शैलीलाई ड्यौणा, देउडा भनिन्छ । यी गीतहरू पूर्णरूपमा लोकछन्दमा आधारित हुन्छन् । यी गीतहरू २८ अक्षरमा बनेका हुन्छन् । दुई वटा हरफ हुन्छन् । पहिलो हरफमा १४–१४ अक्षर हुन्छन् । पहिलो हरफले गीतको उपस्थिति जनाउँछ भने दोस्रोले व्याख्या गर्छ । जस्तो–

कालीको धोक्किन्या माछो कर्णालीका भेल

सधैँ छ जेठको धूप कैल्ये होला सेल ?

गीतले काली कर्णाली नदीको विशेषता बोकेको छ । महाकालीमा देखिने माछोलाई प्रतीकका रूपमा लिएको छ जुन कर्णालीमा बाढी आउँदा त्यहाँ देखिने गर्दछ अर्थात् यी नदीमा बाढी आउँदाका बखत नदी छेउछाउका बासिन्दाले पाएको दुःख र उर्वरा खेतहरूमा पु¥याएको नोक्सानीको चर्चा गरेर साध्य नै छैन । मानिसलाई जेठ, वैशाखको गर्मीले जति दुःख दिन्छ, त्यति नै दुःख गरिबी, विछोड, अव्यवस्थित समाज, शिक्षा, स्वास्थ्य, कुपोषण घटनाले सधैँभरि कर्णाली, महाकाली र सेती आसपासका बासिन्दाले पाउँदै आएका छन् । यी पीडाबाट छुटकारा कहिले पाइएला र शीतल कहिले होला ? गीतकारले यस्तै कल्पना गर्दछन् । 

डेढी कदम उचालेर गाइने, डेढ पटक नै उच्चारण गरेर गाइने भएकाले ड्यौणा भनिएको हो । धेरै सर्जकले आफूखुसी आआफ्नो तर्क दिएर नामकरण गरेका छन् । गीतहरू संस्कृति र समाजपरक हुन्छन् । देउडाले पनि समय, काल परिस्थितिको प्रतिनिधित्व गर्ने गर्छन् । देशका अन्य भागमा प्रचलित लोकगीत, झ्याउरे लोकगीत, मारुनी, सालैजो, काँठेगीतभन्दा भिन्नै विशेषता बोकेका हुन्छन् देउडा गीतले । 

खेल खेल्दा डेढ कदम उचालेर, हातमा हात समातेर गीतको लयमा देब्रेबाट दाहिनेतिर घुमेर खेल्नु पर्छ । गीतका शब्द शब्दमा डुबेर अर्थ बुझेर मात्र खेलेको मज्जा आउँछ । गीत सवाल जवाफमा आधारित हुन्छन् । खेलाडीहरू दुई समूहमा बाढिएका हुन्छन् । दुवै समूहमा १÷१ जना गीताङ्गी हुन्छन् जसलाई डेउणीया वा आशुकवि भनिन्छ । सवाल जवाफमा चल्ने हँुदा वास्तवमा देउडागीत मर्यादित दोहोरी गीत पनि हुन् । एक समूहको व्यक्तिले अर्को समूहको व्यक्तिलाई गीतमा प्रश्न गर्छ, दोस्रो समूहको व्यक्तिले सोको उत्तर दिन्छ । सवाल जवाफमा आधारित हुने हुँदा देउडा खेलको आदि र अन्त्य गीतबाट नै हुन्छ । घटौँसम्म, दिनभरि रातभरि चलिरहन्छ देउडा खेल । थकाइ, भोक, प्यास मेटाइदिन्छन् सवाल जवाफका मीण मीण देउडा गीतले । 

पङ्क्तिकार सानो छँदा देउडा गीतहरू वनजङ्गलमा मात्र गाएको सुनेको थिएँ । दाइ जयकृष्णसँग गाईवस्तु चराउन जाँदा, आमा गङ्गामतीसँग स्याउली सोत्तर काट्न जाँदा रहरले जङ्लमा जाने गर्थें । रुखहरू देखेर बडो आनन्द लाग्ने गथ्र्यो । त्यसबेला आमा गङ्गामती देवी र गाउँका आमाहरूले मिठो शैलीमा गीत गाइरहन्थे । आमाहरू र दाजु जयकृष्णले घाँसदाउरा गर्दा  गाएका गीतहरू सुनेर म हुर्किएँ । मोहनी लगाए ती वनगीतले । तिनै वनगीतले विस्तारै गाउँमा प्रवेश पाए, खेलका रूपमा प्रवेश पाए । गुन्युचोलो र मुन्याठो लगाएर गाउँका भाउजूहरू, नानीहरू (सानीआमा) र ओल्लो पल्लो गाउँका रौल्या, धामी, विष्ट, थापालगायत समुदायका महिलाले आपसमा खेल खेलेको पनि देखेको छु । त्यो गीति तस्बिर ताजा छ मेरो मुटु र मस्तिष्कमा । सञ्चारको कुनै सम्भावना नभएको त्यस बेला आमाहरू र दाजुहरूले सारै मिठा भाका र शब्दका गीतहरू गाएको सुनेकाले होला सायद म गायक बनेको । 

अध्ययनका व्रmममा विद्यालयहरूमा गीतहरू धेरै पटक सुनाएको छु । तिसको दशकताका तत्कालनी प्रमुख जिल्ला अधिकारी (सिडिओ) का हातबाट गीत गाएबापत पाँच रुपियाँ पुरस्कार पनि पाएको थिएँ । म २०३४ साल साउनको ५ गते बझाङ, डडेलधुरा, कैलाली यात्रा गर्दै भारतका केही क्षेत्र काठमाडाँै पुगेँ । ती ती स्थानमा डेउडागीत गाउँदै हिडेँ । यसै समयमा संस्कृतिकर्मीसँग देउडागीत पनि राजधानी काठमाडौँ पुग्यो । २०३४ साल कात्तिक १४ गते रेडियो नेपालको  भाषाभाषीको साङ्गीतिक कार्यव्रmम ‘फूलबारीमा’ देउडागीत गाएँ । त्यसभन्दाअघि महाशङ्कर देवकोटा र परिमल स्नेहीले पनि गाएका थिए तर ती झर्रो खालका देउडागीत थिएनन् । मौलिकपन र झर्रो किसिमको देउडागीत रेडियो नेपालमा पहिलो पटक बीजारोपण गर्ने पङ्क्तिकार म हुँ । सो गीत रेकर्ड गर्नमा गायक तथा सङ्गीतकार रत्न बेहोसीले सहयोग गर्नुभयो । कार्यव्रmम सञ्चालक विश्वबल्लभ थिए । फूलबारीमा ती वर्षसम्म देउडागीत गाएँ । पहिलो गीत यस्तो थियो ।  


बारीको खेत बगाई लैग्यो पारिका खोलाले 

राधिकाको दर्शन होइझाऊ कृष्णका चोलाले 

लय..... ओ वाज झम्य्रौली वाज । 

वौजुका कम्पनीमाला दाइक्यान मास्दा हुन् 

मन् भन्या साउनका रात दन्तक्यै हास्दा हुन् । 

ठाडी भाकामा ।

विसं २०३७ देखि २०५७ स्वर्णिम काल

२०३७ सालमा स्वर परीक्षामा उत्तीर्ण हुन पाउँदाको खुसी बेग्लै थियो । २०३७ साल वैशाखमा जनकविकेशरी धर्मराज थापाको उपस्थितिमा मौलिक देउडा गीत रेकर्ड गर्न पाउँदा आफूलाई भाग्यमानी कलाकार सम्झेँ । त्यसपछिका दिनहरूमा लगातार मौलिक देउडागीत रेडियोमा रेकर्ड गर्दै गए । रेडियो नेपालमा मौलिक गीत गाउने कलाकारका रूपमा सबैसामु परिचित हुन पाउँदा गर्विलो अनुभूति भएको थियो । सुप्रसिद्ध सङ्गीतकार गणेश परियार, मदन परियार, लोकगायक एवं वाद्यवादक सुन्दर श्रेष्ठ (रेशम फिरिरी), युक्त गुरुङ, प्रशासक दामोदर अधिकारी, लोकगायक झलकमान गन्धर्व, गायक सूर्य थुलुङ, मधुबाबु थापा, गायिका चन्द्रकला शाह, कविता आले, प्राविधिक पुरुषोत्तम पोख्रेल, वासुदेव रायमाझी पङ्क्तिकारले सम्झिरहने नामहरू हुन् ।

प्रथम पुरस्कार

विसं २०४३ सालमा अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा देउडागीत गाएर प्रथम पुरस्कार प्राप्त गर्ने भाग्यमानी गायक सम्झन्छु आफूलाई । वर्तमान समयसम्म देउडा सर्जकले प्रथम स्थान हासिल गर्न नसक्दा दुःख लाग्छ । झन्डै ३ दर्जन देउडाका कालजयी गीतहरू रेडियो नेपालमा रेकर्ड भइसकेका छन् । २०४४ देखि २०५७ सालसम्म अनामनगरस्थित म्युजिक नेपालमा २० वटा  देउडागीति क्यासेट मेरै लगानीमा रेकर्ड गरेर सुदूरपश्चिममा सांस्कृतिक जागरण ल्याउनु र देउडाको पुनरुत्थानमा योगदान दिन पाउनु सांस्कृतिक व्रmान्ति हो भन्ने लाग्छ । एकलव्य भएर लागि पर्दा वर्तमान जनजनमा देउडा लोकप्रिय भएको पाउँछौँ ।

अतः २०३८ देखि ५५ सालको कालखण्डलाई देउडागीतको स्वर्णिम युग ठान्छु । रेडियो नेपालमा गीत रेकर्ड गरेको १४ वर्षपछि देउडाका कुशल गायक नरेन्द्रराज रेग्मी र भोजराज भट्टले पनि मौलिक भाका रेडियोमा रेकर्ड गरे । सुदूरपश्चिमका यी दुई लोकप्रिय गायकको म प्रशंसक हुँ । सत्र वर्षको अवधिमा सुदूर र कर्णालीका प्राचीन भाकाहरू, मौलिक लयहरू पङ्क्तिकारलगायतका कलाकारले रेकर्ड गरेर गीति क्यासेटमार्फत जनजनमा पु¥याइसकेकाले त्यो युग वास्तवमा देउडा गायन र संस्कृतिको स्वर्णिम युग नै हो । 

पाकिस्तान देउडागीत रेकर्ड 

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर राजनीतिशास्त्र विषय मानविकी सङ्काय अन्तर्गतका हामी ४१ जना विद्यार्थी दक्षिण एसियाली मुलुकको शैक्षिक भ्रमण गर्ने उद्देश्यले विसं २०४१ सालमा भारत हुँदै पाकिस्तान पुगेका थियौँ पाकिस्तानका लागि नेपाली राजदूत निरञ्जन भट्टराईले हामीहरूलाई हार्दिकताका साथ पाँच दिनसम्म राजदूतावासको कार्यालयमा राख्नुभयो । धेरै राजनीतिकर्मी, विश्वविद्यालयका प्राध्यापक एवं विद्यार्थीहरूसँग हाम्रो भेटघाट र मित्रवत् घनिष्ठता बढ्यो । पाकिस्तानका नागरिकले नेपाल र नेपालीलाई उच्च सम्मान दिँदा रहेछन् । राजदूत भट्टराईको पहलकदमीमा पाकिस्तान टेलिभिजनमा हामीले आधा घण्टाको गीति कार्यव्रmम प्रस्तुत ग¥यौँ । मैले देउडागीत गाएँ । मथुरा प्रधानले आधुनिक गीत र महेश पौडेलले आधुनिक पप गीत गाए । रमेश तुफानले कविता सुनाए । साथीहरू मुकुन्द ढुङ्गाना, युवराज खाती, धनप्रसाद पण्डित, अनार बस्नेत, मोहन बस्नेत (निवर्तमान स्वास्थ्यमन्त्री) ले सङ्क्षिप्त रूपमा शैक्षिक भ्रमणको औचित्यमाथि प्रकाश पारे । हामीले गीत गाउँदा हौसिएर सबै साथी र त्यहाँका दर्शकले तालीले स्वागत गरे । मुवारक अलि नामक गितारवादकले अनौठो तरिकाले देउडा गीतमा धुन भरे । हामीसँगै अभिभावकका रूपमा प्रा. यशोदा सुवाल र प्रा. अनन्तराज पौडेल पनि जानुभएको थियो । पुस २१ गतेदेखि माघ मसान्तसम्मको सो भ्रमण मेरा लागि त साङ्गीतिक भ्रमण पनि रह्यो । 

राजधानीमा देउडा खेल

ललितपुर जिल्लाको गोदावरीमा वनभोजमा पूर्वप्रम शेरबहादुर देउवा, टेकबहादुर चोख्याल, हीरादत्त भट्ट, एनपी साउद, गोविन्दबहादुर शाह, अर्जुनजङ्ग बहादुरसिंह, सुरेश मल्ललगायतका नेताहरूको जमघटमा हामी देउडा खेल्ने गथ्र्यौं । त्यो समय थियो विसं

२०३५ सालदेखि २०४१ सम्म । विसुपर्व, गौरापर्वमा खुल्लामञ्च टुँडिखेल, राष्ट्रिय सभागृह, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हजारौँ व्यक्ति जम्मा भएर देउडा खेल्ने गथ्र्यो । देउडा समाज, प्रशंसा संरक्षण समाज, बैतडी समाजले प्रत्येक वर्ष कार्यव्रmमको आयोजना गर्ने गर्थे । अम्बादत्त भट्ट, हरिमोहन भण्डारी, पङ्क्तिकारलगायतले कार्यव्रmमको आयोजना गर्ने गथ्र्यौं । कार्यव्रmममा पूर्वप्रमहरू शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्द, दिलेन्द्रप्रसाद वडू, चन्द्रदेव जोशी, डिपी भण्डारी, चेतराज पन्त, दीर्घसिंह बम, भक्तबहादुर बलायर, रामबहादुर विष्ट, लेखराज भट्टलगायत व्यक्तित्वको उपस्थिति रहन्थ्यो । 

सांस्कृतिक र साङ्गीतिक जागरण 

गीति क्यासेटमा कभर राख्न चार कलरको व्यवस्था नेपालमा आइकेको थिएन । सल्यानका साथी गौरीशङ्कर डाँगीमार्फत २०४४ सालमा बम्बैमा स्क्यानका लागि पठाएँ । साथीले ठुलो गुन लगाउनुभयो । एकातिर स्टुडियोमा गीत रेकर्ड गर्नुथियो, अर्कोतर्फ प्राविधिक कार्य पनि सँगसँंगै गर्नुपरेको थियो । यसका अतिरिक्त बजार व्यवस्थापन पनि आफँैले गर्नुपर्दा जिम्मेवारी निकै बढेको थियो । भौगोलिक विकटताले गर्दा बजारमा तयारी अवस्थाका गीति क्यासेट पु¥याउनु पनि कठिन कार्य थियो । भारतको बाटो भएर कैलाली कञ्चनपुरका बजारमा तयारी अवस्थाका गीति क्यासेट पु¥याई आफ्नै मुलुकका मौलिक गीतहरू सुनाउनु मेरा लागि चुनौती र अवसर दुवै थियो । 

विसं २०४६ देखि २०५७ सालसम्म आफैँले महेन्द्रनगर, धनगढी, टीकापुर, नेपालगन्ज, सुर्खेत, बझाङ, डडेलधुरा, जुम्लामा बजार व्यवस्था र आफैँले पहाडीमूलका भाकाहरू सङ्कलन गरी गीतहरू रेकर्ड गरेँ । यसपछि व्रmमशः हिन्दी गीतहरू बजारबाट विस्थापित मात्र भएनन् नाम चलेका नेपाली गायकगायिकाका गीतको ठाउँमा जताततै देउडा गीतको रन्कोले सुदूर र कर्णाली प्रदेश सङ्गीतमय बन्यो । काम ज्यादै जोखिमपूर्ण थियो तर गौरवपूर्ण पनि थियो । भाषा र संस्कृति पनि आफ्नै, भाका र शैली पनि आफ्नै, यही पहिचानका गीतले त्यस भेगका मानिसहरू खुसी मात्र भएनन् बजारका सामान पनि प्रशस्त बिव्रmी भए । यस अवधिमा नाम चलेका २० थरी देउडा गीति क्यासेटहरू आफ्नै स्वरमा रेकर्ड गरेर उत्पादन गरी सो क्षेत्रको संस्कृतिको इमानदारीपूर्वक सेवा गरँे । साँच्चै भन्नुपर्दा नाम पनि धेरै कमाएँ, दाम पनि केही कमाएँ । जिन्दगीमा धेरै उपलब्धि थियो त्यसबखत । कस्ता रहेछन् देउडा गायक भनेर मलाई हेर्ने मानिसको घुइँचो लागेको देखेको छु धनगढी, महेन्द्रनगर, गड्डाचौकी, टीकापुर, नेपालगन्ज, सुर्खेतलगायतका बजारमा । 

यसरी श्रीगणेश गरेको थिएँ काली–कर्णालीको लोकसंस्कृति र देउडागीतको विकास तथा विस्तार । गीत सङ्कलन, बजार व्यवस्थापन गर्न, त्यसबेला धेरै दुःख पाएँ । हिउँदको शीतलहर भनिनँ, बर्खाको झरी र गर्मी भनिनँ । काम गरँे इमानदार भएर । देउडा गीतसङ्गीतको बस्ती बस्ती पुगेर सेवा गरेँ । अनि पो देउडा सम्राट्को उपाधि पाएँ । 

 महाशङ्कर देवकोटा (६५ वर्षका) देखि सात वर्षको कलिलो उमेरमा देउडागीतमा मिठो स्वर भरी स्यावासी कमाएका सुश्रुत जोशी तिमिल्सिनासम्मको योगदानले देउडाको मार्गमा अहिले सयौँ कलाकार लम्किरहेछन् । चन्द्रकला शाह, प्रार्थना खनाल, दीपा धामी, जानकी भट्टराई, हरिना सावथ, डिव्रmादेवी वादीले गाएको÷हिँडेको देउडा राजमार्गमा वर्तमानमा टीका पुन, शृङ्खला जोशी, लक्ष्मी आचार्य, गौरी भट्ट, दीपा रोकाया, निरुता खत्री, शोभा थापालगायतका नारी स्वर पनि अघि बढिरहेका देखिन्छन् । राजेन्द्र शाह, विकी, सुरत रावत, कीर्तिबहादुर सिंह, राजाराम भाट, उमाशङ्कर जोशी, चव्रm वम, टेक तिमिल्सिना, प्रकाश थापा, टेक बोगटी, विनोद वाजुरेली आदि कलाकारले देउडा गीतमा नयाँ नयाँ प्रयोग गरेको देखिन्छ । नयाँ पिँढीका कलाकारमा सुर, ताल र शैलीमा प्रगति देखिन्छ तर पङ्क्तिकारले गाएका पुराना गीतहरू खण्ड खण्ड गरी गाएको सुनेर मन दुख्दो रहेछ । जमिन र बीजवनस्पतिबाट जन्मेका देउडाका भाका गाउँघरमा, वनजङ्गलमा प्रशस्तै भेटिन्छन् अहिले पनि तर खोज अनुसन्धान र सङ्कलन गर्न नयाँ पिढी अझ सव्रिmय हुनुपर्ने आवश्यकता छ । सहरिया बसाइ, मनोरञ्जनका आधुनिक साधन र प्रविधिको उपलब्धता, १० वर्षे जनयुद्धको त्रासले गाउँ बस्न नसकेर अन्यत्र पलायन हुनुपर्ने भएकाले देउडा गीतको प्रयोग, प्रचलन तथा अध्ययन, अनुसन्धानमा कमी आएको छ ।  

भविष्यमा देउडा गीतको अवस्था

ऐलै मरे शङ्करपाध्या ऐलै जुम्ला जाँच 

साई अर्दा पुराना कुणा अब उस्तै काँ छ ? 


जुम्लाको ऐतिहासिक गीत हो यो । गाउँमा पुराना जमानाका मानिसको कमी थिएन । उनीहरू संस्कृति, सभ्यता, भाषाका ज्ञाता थिए । घटना परिघटनाका साक्षी थिए । ती परम्परा कायम राख्न सकेको खण्डमा साथै पुराना पिँढीका गीत र भाकाहरू सुरक्षित राख्न सकेको खण्डमा पनि देउडाको इतिहासमा यी गीत व्याकरण बन्न सक्छन् । भोलिका पिँढीहरूका लागि जीवन्त गाथा बन्न सक्छन् । यी र यस्तै किसिमका अजम्बरी शब्दका गीतहरू खोलानाला, डाडाँकाँडा पखेरु, गाउँबस्ती र हिमालका चुलीदेखि मैदानी भूभागमा छरिएर रहेका छन् । बिस्कुन फिँजाए जस्तै ती अनमोल साहित्यहरू, गीतहरू र ध्वनिहरू हाम्रा पितापुर्खाले फिँजाएका छन् । जतनसँग उकेरी भण्डारण गर्नुपर्ने अबको पिँढीको जिम्मेवारी छ । देउडागीत र संस्कृतिबिना गीतसङ्गीतको फाँट अधुरो नै हुने स्पष्ट छ ।  


श्रेयान् स्वभर्म विगुण परधर्मारस्वनुष्ठितात् ।

स्वधर्मै निधन श्रेय परधर्मो भयावह ।।


गीतामा भगवान्ले यही अर्ति दिनुभएको छ । देउडा संस्कृति हाम्रो स्वधर्म हो । यसभित्र गीताका गाथा र शब्द शब्द अटाएका छन् । आध्यात्मिक चेतनाको ग्रन्थ पनि हो देउडा गीत भन्छु म त । त्यसैले हिजोको सङ्घर्षको पाठ सिकेर वर्तमानको र संस्कृतिको महìव बुझेर नव पुस्ताले भविष्यमा सांस्कृतिक फाँटमा लम्कनु श्रेय हुने छ । कताकता सेब्रो र धाननाचसँग र सोरठीसँग मिल्न खोजे पनि देउडा गीत र खेलको नीति नियममाथि उल्लेख गरे झैँ फरक छ । अझ भनौँ अनेकतामा एकता झल्किन्छ । सबै समुदायका मानिस यसभित्र अटाउने भएकाले देउडागीत, देउडाखेल र देउडा संस्कृति समावेशी संस्कृतिको नमुना हो । यो नियमलाई नबिगारेर भविष्यमा देउडा गीतसङ्गीतलाई जीवित राख्न सके यसको भविष्य उज्ज्वल देखिन्छ । परसंस्कृतिको आव्रmमणबाट देउडा संस्कृति बचाउन देउडा संस्कृतिकर्मीले बेलैमा सजकता अपनाउनुपर्ने देखिन्छ ।  मधुपर्क