धर्बेन्द्र झा
जनकपुरधाम, भदौ २८ गते। मधेश प्रदेशसभाको शुक्रबार बसेको प्रदेशसभाको बैठकबाट प्रदेश खेलकुद विधेयक२०८१ सर्वसम्मतले पारित भएको छ। मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा बसेको प्रदेशसभाको बैठमा मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद ज्यसवालले प्रस्तुत गर्नुभएको उक्त विधेयक सर्वसम्मतिले पारित भएको हो।
विधेयक पारित भएपश्चात मधेश प्रदेशको खेलकुद तथा समाजकल्याण मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा खेलकुद तथा समाजकल्याण मन्त्री ज्यसवालले प्रदेश गठन भएको साढे छ वर्षपछि मधेश प्रदेश सरकारले खेलकुद विधेयक ल्याउन सकेकोमा खुशी व्यक्त गर्नुभयो।  उहाँले विधेयकको मस्यौदा निमार्णदेखि विधेयक पारित गराउनमा सहयोग गर्ने सबै सरोकारवाला पक्षलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।  
विधेयक पारित भएसँगै मधेशमा खेलकुद परिषद गठन गर्ने बाटो खुलेको जानकारी गराउँदै मन्त्री ज्यसवालले खेललाई मर्यादित क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।  
उहाँले खेलकुद तथा समाज कल्याण मन्त्रालयले ल्याएको ऐन सहजरुपमा कार्यान्वयनमा जानका लागि मन्त्रालयले आफ्ना नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रको संरचना निमार्णदेखि  खेलाडीहरुको तथ्यांक संकलन गरेर बीमा गराउनेसम्मको कामकाज गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।  उहाँले यो विधेयक पारित भएसँगै खेलाडीमासमेत खुशीयाली छाएको बताउनुभएको छ।   
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                