• १९ पुस २०८१, शुक्रबार

महिला पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रम

blog

कार्यक्रममा सहभागीहरु । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी
जनकपुरधाम, भदौ २८ गते ।
राजनीतिक तथा परराष्ट्र मामिला रिपोर्टिङमा महिला पत्रकारिताहरुको सहभागिता बढाउन मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले जनकपुरधाममा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ ।

महिला पत्रकारहरुको राजनीति तथा परराष्ट्र मामिलामा चासो कम हुनु र भए पनि थोरै सङ्ख्यामा मात्र हुनुलाई मध्यनजर गर्दै म्यागले बिहीबार जनकपुरधाममा आयोजित महिला पत्रकारका लागि राजनीतिक तथा परराष्ट्र मामिला रिपोर्टिङ विषयमा एकदिने कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा सहभागी महिला पत्रकारहरुले अवसर नपाउनु र आवश्यक ज्ञानका अभावमा राजनीतिक तथा परराष्ट्र मामिला रिपोर्टिङमा चासो कम भएको चर्चा गर्नुभएको थियो । उहाँहरुले पत्रकारितामा पूर्ण रुपमा आश्रित हुने वातावरण नभएका कारण महिला पत्रकार पेशा छोड्न बाध्य हुने र आर्थिक सुरक्षाका लागि पूर्ण समय पत्रकारितालाई दिन नसक्नुका कारण कुनै निश्चित विषयमा चासो राख्न नसकेको बताउनुभएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले राजनीतिक तथा परराष्ट्र मामिलामा रिपोर्टिङका विषयमा महिला पत्रकारका सहभागितामा प्रस्तुति दिनुभएको थियो । जसमा राजनीतिक र पत्रकारिताको सम्बन्ध बारे चर्चा गर्नुभएको थियो भने परराष्ट्र मामिलामा महिला पत्रकारहरुका रुचिबारे समेत बताउनुभएको थियो । प्रस्तुतिकै क्रममा उहाँले संसदीय रिपोर्टिङमा विषय र स्रोतहरुबारे पनि बुझाउनुभएको थियो भने ग्रुपका कार्यकारी निर्देशक बविता बस्नेतले महिला पत्रकारहरुले रिपोर्टिङका समयमा अपनाउनुपर्ने सुरक्षा तथा विचार र व्यवहारका बारेमा चर्चा गर्नुभएको थियो ।

यसअघि जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले पत्रकारहरुले राजनीतिकसँग जोडिएका विषय समाचार सम्प्रेषण हुन आवश्यक रहेको बताउनुभयो । उहाँले साहित्य, राजनीति र समाजका मुद्दालाई समेटेर पत्रकारिता गर्न सके अब्बल पत्रकारिता हुने जिकीर गर्नुभयो ।

यस्तै, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादले जिवनोपयोगी सिपको रुपमा पत्रकारिता लिनुपर्ने बताउनुभयो । उहाँले मधेशका महिला पत्रकारहरुलाई अब्बल बनाउन प्राधिकरणले चरणवद्ध रुपमा विभिन्न कार्यक्रमको समेत आयोजना गर्दै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मधेशमा महिला पत्रकारका लागि नयाँ कार्यक्रमहरु ल्याउने योजना समेत बनाइरहेका छौं ।”

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झाले अब्बल पत्रकारका लागि काम र दामको समस्या नहुने बताउनुभयो । उहाँले आफ्नो उदाहर दिनुहुँदै उपस्थित महिलाहरुलाई लेखन क्षमता वृद्धि गर्न आग्रह गर्नुहुँदै भन्नुभयो, “तपाईहरु लेखन क्षमता बढाउनुस् काम र दामको कमी हुने छैन ।” धनुषामा महिला पत्रकारहरुमा राम्रो लेख्ने कोही छैनन्, त्यसकारण पाएको अवसर पनि गुमाउनु परेको हुन्छ,“उहाँले भन्नुभयो ।”

कार्यक्रममा सहभागी दुईजना महिला पत्रकारलाई लोसिपको समेत व्यवस्था गरिएको छ । कार्यक्रमा पत्रकार महासंघका केन्द्रीय सदस्य गायत्री मिश्रालगायतको सहभागिता रहेको थियो ।