• ११ मंसिर २०८१, मङ्गलबार

गण्डकी प्रदेशका ११ जना प्रजातन्त्र सेनानीको सम्मान

blog

बिपी कोइरालाको १११ औँ जन्मजयन्तीको अवसरमा बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रममा बिपी पुत्र एवम् नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइराला ।

रमेश पौडेल

पोखरा, भदौ २७ गते । बिपी कोइरालाको १११ औँ जन्मजयन्तीको अवसरमा बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले पोखरामा बुधबार ११ जना प्रजातन्त्र सेनानीहरूलाई सम्मान गरेको छ ।

२००७ सालको क्रान्तिमा होमिनुभएका एक सय वर्ष हुनुभएकादेखि लिएर माओवादी जनयुद्धमा घाइते हुनुभएका गण्डकी प्रदेशका ११ जिल्लाका नेपाली कांग्रेसका योद्धाहरू सम्मानित हुनुभएको छ । जसमा कास्कीका भोजराज भण्डारी, पर्वतका रुद्रलाल उपाध्याय, बागलुङका गोविन्द कँडेल, मनाङका राज घले, मुस्ताङका कृष्णप्रसाद बरुवाल, नवलपुरका दुर्गादत्त पौडेल, गोरखाका तिलबहादुर गुरुङ, लमजुङकी सानुमाया गुरुङ, म्याग्दीका भैरवबहादुर हुमेन, तनहुँका बुद्धिकुमार बतास र स्याङ्जाका वेदप्रकाश पनेरु हुनुहुन्छ ।

सम्मानित योद्धाहरूलाई सम्मान गर्नुहुँदै बिपी पुत्र एवम् नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले सीमान्तकृत नागरिकको जीवनमा आउने आर्थिक परिवर्तन नै बिपीको समाजवाद भएको बताउनुभयो । उहाँले मुलुकमा प्रजातन्त्र मात्र नभई संविधानसभाको निर्वाचनबाट गणतन्त्रात्मक संविधान पनि कांग्रेसकै नेतृत्वमा ल्याएको भनाइ राख्नुभयो । नेता कोइरालाले कांग्रेस प्रजातन्त्रवादी पार्टी भएकाले कुनै पनि कम्युनिष्ट शक्तिसँग मिलेर जान नहुने बताउनुभयो ।

मुलुकको आर्थिक विकासका लागि देशमा नै भएको प्राकृतिक श्रोत साधनका समुचित प्रयोग हुने गरी बजेट बनाउनुपर्नेमा जोड दिँदै उहाँले कृषि, पर्यटन र जलश्रोत नै देश विकासको मूल आधार भएको बताउनुभयो । पार्टीको आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै बिपी पुत्र कोइरालाले पार्टीको सभापति पदमा उठ्ने घोषणासमेत गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिपीको विचारमा अहिले पनि राजनीति घुमेर सबै दलहरूलाई एक बनाएको बताउनुभयो । जनतामा राजनीति पहुँच पुग्नु र आत्मनिर्णयको अधिकार प्राप्त हुनु नै बिपीको विचारको अर्को सुन्दर पक्ष भएको उहाँको भनाइ थियो ।

त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रजातन्त्र नै बिपीको सर्वोच्च विचार भएको बताउनुभयो । सभापति शर्माले बिपीले कहिल्यै पनि लोकतन्त्र नभनेका कारण बिपीवादमा लोकतन्त्र सुहाउँदैन भन्ने विचार व्यक्त गर्नुभयो । त्यसैगरी पूर्व मन्त्री एवम् नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीले पार्टीले सरकार चलाउनुपर्नेमा सरकारले पार्टी चलाउँदा बिपीको विचारले सार्थकता पाउन नसकेको बताउनुभयो । उहाँले पार्टीभित्र गुटको राजनीति गर्नेहरूका कारण कांग्रेस कमजोर बन्दै गएकाले कसैलाई पनि गुटको राजनीति गर्ने छुट नभएको प्रस्ट पार्नुभयो ।

बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशका अध्यक्ष मधु बास्तोलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रा.डा. कुसुमाकर न्यौपानेले सम्मानित सेनानीहरूको राजनीतिक जीवन बारे प्रकाश पार्नुभएको थियो भने प्रदेशका महामन्त्री एवं राष्ट्रियसभाका सांसद किरणबाबु श्रेष्ठ, सम्मानित सेनानी वेदप्रकाश पनेरु, सूर्य थापा र कवि शिव त्रिपाठीलगायतले बिपी कोइरालाको व्यक्तित्व र योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।